अर्थसमितिलाई राष्ट्र बैंकको जवाफ- मार्जिन लेन्डिङमा पुनरावलोकन गर्न खोजेको हो, निर्णय भएको छैन



काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिका कारण सेयर बजारमा गिरावट आयो भन्ने गुनासो पुगेपछि अर्थसमितिले राष्ट्र बैंकसँग त्यसको जानकारी माग गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्ने क्रममा सेयर धितो कर्जाको सीमा घटाउन लागेको र त्यसैका कारण बजार घटेको भनेर गुनासो गएपछि समितिले राष्ट्र बैंकलाई यस बारेमा जानकारी माग गरेको स्रोतको भनाइ छ ।

समितिले मार्जिन लेन्डिङमा केही परिवर्तन गर्न लागेको हो की भनेर प्रश्न गरेको समिति निकट स्रोतको भनाइ छ । राष्ट्र बैंकले जवाफमा मार्जिन लेन्डिङमा केही पुनरावलोकन गर्न खोजेको र त्यसको निष्कर्षमा नपुगेको जानकारी गराएको छ ।

राष्ट्र बैंकले यति नै घटाउने भनेर आधिकारिकरुपमा नभनेको स्रोतको भनाइ छ ।

यतिबेला राष्ट्र बैंकले सेयर बजारमा मात्रै नभएर अन्य क्षेत्रमा पनि लगानी गर्नुपर्ने तर्क गर्दै आएको छ ।

अहिले यो विषयमा समितिले पनि कुनै धारणा नबनाएको जनाएको छ । यस विषयमा सरोकारवाला पक्षसँग बसेर आवश्यक छलफल गर्नेमा समिति पुगेको छ ।

एकाएक सेयर बजारमा पहिरो आउँदा लगानीकर्ता त्रसित बनेका छन् । तर यो बेला लगानीकर्ता आत्तिनु र बढेको समयमा मात्तिन नहुने, संयमित भएर मात्रै लगानीगर्नुपर्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

आइतबारको कारोबारले लगानीकर्ता धेरै आत्तिएको भन्दै यो बेला संयमित हुनुपर्ने उनको तर्क छ ।

अहिले नियामक निकाय धितोपत्र बोर्डले पनि सेयर बजारमा कालोधन भित्रिएको भन्यो भनेर विभिन्न माध्यममा चर्चा चल्ने गरेको प्रति रौनियार दुःख व्यक्त गरेका छन् ।

‘अहिले बजारमा कालोधनको कुरा आइरहेको छ’ रौनियारले भने ‘ धन भनेको धन हो, यो कालो सेतो भन्ने केही हुँदैन, कालोधन आएको प्रमाण छ भने नियामक निकायले छानबिन गर्न सक्छन, तर यो कुरा भनेर सबै लगानीकर्तालाई त्रसित बनाउने काम गर्नु भएन ।’

उनका अनुसार यस्ता विषयमा नियामकले कसैलाई त्रसित गराउनु भन्दा वास्ताविकता नजिक पुग्न आवश्यक रहेको छ । यो बेलामा लगानीकर्ता पनि सचेत भएर, अध्ययन गरेर मात्रै बजारमा लाग्नुपर्ने उनको भनाइ छ ।

उनले बजारमा कसैको कुरा र भावनामा लगानीकर्ता डुब्नुभन्दा पनि वास्तविकतामा रहेर मात्रै निर्णय गर्न अध्यक्ष रौनियारले लगानीकर्तालाई आग्रह गरेका छन् ।

लगानीकर्ताले यो बेला राम्रो कम्पनीमा लगानी गर्ने हो भने कुनै चिन्ता लिन नपर्ने उनको भनाइ छ । आजको कारोबारमा राम्रो कम्पनीमा पनि नकारात्मक सर्किट लागेको भन्दै यो सदैव यसैगरी अघि नबढने भएकाले त्यसतर्फ सचेत बन्न आग्रह गरेका छन् ।


क्लिकमान्डु