नकारात्मक सर्किटमा रेकर्ड राखेको सेयर बजार राष्ट्र बैंक वा सेबोन कसका कारण घट्यो ?



काठमाडौं । लगातार बढेर आफ्नो रेकर्ड आफै तोडिरहेको सेयर बजारले नकारात्मक रेकर्ड पनि बनाएको छ । यसअघि निरन्तर बढेर रेकर्ड बनाएको बजारमा आइतबार अहिलेसम्मकै सबैभन्दा बढी १२३.३४ अंक अर्थात ६ प्रतिशतले घटेको छ ।

बजार मापन गर्ने सूचक १२३ं३४ अंकले घट्दा कारोबार मापन गर्ने सूचक १९३२.११ बिन्दुमा रोकिएको छ । यो दिन १९७ कम्पनीको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर ७ अर्ब २० करोड ९१ लाख ८० हजार २१३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २१.६२ अंकले घटेर ३७०.६७ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

यो दिन बजारमा यसरी गिरावट आउनुको पछाडि नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक भएको लगानीकर्ताहरुको आरोप रहेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दा सेयर धितोकर्जाको सिमा घटाउने भनेको छ । जसको कारण बजारमा असर परेको लगानीकर्ताहरुको भनाइ छ ।

यता आइतबार बिहान कारोबार सुरु हुुनुभन्दा पहिला नै लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई भेटेर कितोकर्जाको सिमा नघटाउन आग्रह गरेका थिए ।

लगानीकर्ताको जवाफमा राष्ट्र बैंकका अधिकारीले लगानीकर्ताको अहितमा हुने कुनै पनि काम नगर्ने बचन दिएका छन् । तर बजारमा त्यसको नकारात्मक असर देखिएको छ ।

त्यती मात्रै होइन, अहिले धितोपत्र बजारको कारण पनि बजारमा गिरावट आएको छ । यसअघि पनि बजार बढेको समयमा धितोपत्र बोर्डले विज्ञप्ति जारी गरेर बजारमा सचेत भएर लगानी गर्नु, धितोपत्र बोर्डले बजारमा भएको कारोबारको अध्ययन गरिरहेको भन्दै विज्ञप्ति जारी गरेको थियो । त्यसको असर बजारमा देखिएको थियो । अहिले पनि बजार उस्तै अवस्तामा पुगेको छ ।

बोर्डले पनि मंसिर १५ गते विज्ञप्ति जारी गर्दै धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलाग्न भनेको छ । बोर्डले विज्ञप्ति जारी गर्दै पुँजी बजारको विकास र विस्तार गर्दै यसको सूक्ष्म अनुगमन गरिरहेको जनाएको छ । बोर्डले दोस्रो बजारको स्वरुप र गतिविधिहरुलाई निरन्तर रुपमा अनुगमन गरिरहेको जनाएको छ ।

यति बेला धितोपत्र बोर्डले बजारको कारोबार रकमलाई हेरेर कालोधन भित्रिएको भन्दै अनुसन्धान गरिरहेको समेत चर्चा भयो । त्यसैको असर बजारमा देखिएको जानकारहरुको भनाइ छ ।


क्लिकमान्डु