बजारमा ल्यापटपको अभाव, मूल्य आकासियो



काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा बजारमा ल्यापटपको व्यापार बढेको छ । लामो समयको बन्दाबन्दीपछि लकडाउन खुल्ने वित्तिकै ल्यापटप तथा मोबाइलको व्यापार उल्लेखनीय भएको थियो ।

जसका कारण बजारमा ल्यापटपको माग बढेको व्यवसायीहरूले बताएका छन् ।

पछिल्लो समय कोरोना महामारीले गर्दा भर्चुअल कार्यक्रम, भर्चुअल कार्यक्रम, वर्क फ्रम होम जस्ता क्रियाकलापलले बजारमा ल्यापटपको माग बढ्दो रहेको उनीहरूको बुझाइ छ ।

तर, बजारमा भने ल्यापटपको माग बढे पनि ल्यापटको अभाव देखिन थालेपछि मूल्य पनि बढेको छ ।

विगतको तुलनामा बजारमा ल्यापटपको माग ह्वात्तै बढेकाले ग्राहकहरूले इच्छाअनुसार ल्यापटप दिन नपाउँदा धेरै समस्या भइरहेको उनीहरूको भनाइ छ ।

बजारमा ल्यापटप भए पनि महंगो खालको ल्यापटप मात्रै बाँकी भएको उनीहरूले बताएका छन् ।

करिब ३ महिनाको बन्दाबन्दीपछि बजार खुल्दा ल्यापटप किन्ने तथा जानकारी लिन आउनेको भीड हुनुका साथै बिक्री पनि त्यही अनुसार भएको न्यूरोडस्थित प्यूखाका कम्प्यूटर ललित ट्रेडिङका नबिन बस्नेत बताउँछन् ।

त्यस्तै, बजारमा ल्यापटपको माग भने निकै बढेको उनको भनाइ छ । उनका अनुसार बजारमा करिब ६० हजारभन्दा माथिको ल्यापटप उपलब्ध भएकाले माध्यम खालको ल्यापटपको अभाव हुन थालेको बताए ।

कोरोनाले गर्दा विश्वबजारमै ल्यापटप तथा कम्प्युटरको उत्पादान कम भएकाले भनेजस्तो ल्यापटप आयात हुन नसकेको उनले बताए ।

यसका साथै, आयातमा कमी भएकाले बजारमा ल्यापटपको अभाव हुनु भनेको स्वाभाविक रहेको उनी बताउँछन् ।

त्यस्तै, पुतलिसडकका आइटीटी प्रालि कम्प्युटर स्टोेरका म्यानेजर अभिषेक भट्टराईका अनुसार बजारमा ल्यापटपको राम्रो बिक्री भइरहेको तर बजारमा सामान भने आयात हुन नसकेको बताए ।

बजारमा माग राम्रो छ तर सस्तो सिरिजको ल्यापटप भने बजारमा पाउन मुस्किल भएको उनी बताउँछन् ।

‘कोरोनाले गर्दा आपूर्ति चेन नै डिस्ट्रक्ट भइरहेको छ,’ उनले भने, ‘विश्वव्यापी रुपमा उत्पादन नै होल्ड भएकाले सप्लाई चेन नै डिस्ट्रक्ट भएको हो ।’
साथै, नेपालमा मात्रै अन्य देशमा पनि ल्यापटपको माग बढे पनि बजारमा भनेजस्तो ल्यापटप नपाएको उनको भनाइ छ ।

त्यस्तै, न्यूरोडमै रहेको सुन कम्प्यूटर ट्रेडिङका संस्थापक ललित सिंहका अनुसार पनि आयात निकै कम भएकाले बजारमा माग अनुसार ल्यापटप आपूर्ति हुन नसकेको उनी बताउँछन् ।

माग भएको बेलामा ग्राहकले खोजेअनुसार ल्याप्टप नहुँदा राम्रो व्यापार हुन नसकेको उनले बताए । त्यसैगरी कोभिडको समयमा उत्पादनमा कमीका साथै उत्पादन गर्ने उद्योग बन्द भएकाले बजारमा ल्यापटप आपूर्ति हुन नसकेको कम्प्यूटर एशोसियन अफ नेपाल संघका अध्यक्ष नवराज कुँवर बताउँछन् ।

मूल्यमा वृद्धि
लकडाउन र निषेधाज्ञाले बजारमा माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । विश्वबजारमा उत्पादनमा कम भएकाले आयातमा कमी आएसँगै बजारमा मूल्य वृद्धि भएको व्यवसायीहरूको भनाइ छ ।

साथै आयात गर्दा महंगो भाडा तिर्न बाध्य भएकाले पनि बजारमा सामानको मूल्य वृद्धि भएको उनीहरूको भनाइ छ । बजारमा अहिले विगतको तुलनमा महंगोभन्दा सस्तो सिरिजको मूल्य करिब हजारदेखि १५ हजारसम्म मूल्य वृद्धि भएको उनीहरूले बताएका छन् ।

यसका साथै, मूल्य वृद्धि हुनुमा मुख्य कारण डलरको भाउ रहेको संघका अध्यक्ष कुँवर बताउँछन् । विगतको दिनमा डलरको भाउ १०५ थियो भने अहिले बढेर १२० पुगेकोले मूल्यमा वृद्धि भएको उनले बताए ।

यसका साथै, ढुवानी हुन नपाउँदा पनि बजारमा ल्यापटप अभाव र मूल्य बढेको बताए ।

‘विगतको दिनमा प्रति केजी ढुवानीको मूल्य २ डलर थियो,’ उनले क्लिकमान्डूसँग भने, ‘उक्त ढुवानी मूल्य बढेर अहिले १० डलर तिर्न बाध्य छन् । यसले गर्दा सामानको मूल्य बढ्ने नै भयो ।’

उनका अनुसार कोरोनाको समयमा मोडलअनुसार करिब ५० प्रतिशतभन्दा बढीले ढुवानीमा कमी भएको बताए ।

ल्यापटपको लागि विदेशमै निर्भर हुने भएकाले विश्वबजारमा ल्यापटपको जति मूल्य पर्छ त्यही अनुसार व्यवसासीले ल्याएर बेच्ने हो । जसले गर्दा त्यही अनुसार घट्ने बढ्ने गरेको उनको भनाइ छ ।

‘बजारमा ल्यापटप नहुने भन्ने होइन छ । तर, कोभिडको कारणले आर्थिक मन्दी खेपिरहेको बेला ग्राहकले सस्तो र राम्रो खोज्ने भएकाले ती मोडलहरू पाउन मुस्किल भएको हो,’ उनले भने ।


क्लिकमान्डु