कन्जर्भेटिभ प्राइम बैंकले नाफामा कसरी गर्यो चमत्कार ? यस्तो छ चुरो कुरो



काठमाडौं । प्राइम कमर्शियल बैंकले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणले बैकिङ बजारमा निकै ठूलो तरङ्ग पैदा गरेको छ ।

यस्तो कठिन परिस्थितिमा पहिलो त्रैमासमै १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेर प्राइमले बैंकिङ बजारलाई तरङ्गित बनाएको हो ।

यो नाफा सबैभन्दा धेरै कमाउने नविल बैंकको हाराहारी हो । बैंकिङ क्षेत्रमा प्राइमलाई धेरै कन्जरभेटिभ र एनआइसी एशियालाई उग्र क्रान्तिकारी मानिन्छ ।

नाफामा चमत्कार गरेको वित्तीय विवरण सार्वजनिक गरेपछि धेरैको आशंकमा यस्तो आशंका उब्जियो- कन्जर्भेटिभ प्राइमले कसरी चमत्कार गर्यो ? कतै गडबडी त गरेके छैन ?

गडबडी गरेको भए राष्ट्र बैंकले हेर्ला । तर प्राइमको कन्जर्भेटिभ रणनीतिले नै यो सफलता प्राप्त भएको बैंकका अधिकारीहरु बताउँछन् ।

‘यो सफलताका पछाडि खासगरी दुईवटा कारण छन्,’ बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘कैलाश र कन्काइ विकास बैंकको एक्विजिशनको सिनर्जी देखिएको छ भने दोस्रो सञ्चालन खर्च अत्यन्तै कम छ ।’

अघिल्लो बर्ष कैलाश विकास बैंक र कन्काई विकास बैंकलाई गाभेर पोर्टफोलियोको आकार ठूलो भएको, पुँजी वृद्धि भएको, शाखा सञ्जाल बढेको र व्यापार पनि बढेका कारण अधिकांश सूचकहरुमा उल्लेख्य सुधार हुन सकेको हो ।

प्राइम बैंकको नाफा ५४ % ले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?

‘कोभिडको प्रतिकूल अवस्था नभएको भए यी सूचकहरुमा अझ धेरै राम्रो सुधार हुने थियो, एक्विजिसनको प्रचूर सिनर्जीको सकारात्मक प्रभाव अझ बढी देखिन्थ्यो,’ स्रोतले भने ।

अहिले बैकिङ बजारमा खेलाडीहरुको स्वरुप फेरिएको छ । ठूला केही बैंकहरुको भन्दा मध्यमस्तरका बैंकहरुको व्यापारमा निकै ठूलो सुधार भइरहेको छ ।

एकताका संस्थाहरुको निक्षेप कल डिपोजिटलाई परिचालन गरी प्राइम बैंकले निकै ठूलो फाइदा लिएको थियो ।

तर गत बर्ष राष्ट्र बैंकले कल निक्षेपलाई कुल निक्षेपको १० प्रतिशतभन्दा कम गर्न निर्देशन दिएपछि ३० प्रतिशत भन्दा बढी कल निक्षेप परिचालन गरिरहेको प्राइम बैंकले यस्तो निक्षेपलाई गत असोज मसान्तदेखि ९.७५ प्रतिशतमा सीमित गरिसकेको छ ।

बैंक स्रोतले दिएको जानकारी अनुसार कल निक्षेपमा लगाम लागेपछि बैंकले रणनीति परिवर्तन गर्यो र कारोबारमा अझ सुधार गर्न सक्यो । त्यसैले झण्डै ४८ करोड ब्याज नउठेको, पहिलो त्रैमासमै २५ करोडभन्दा बढी कर्जा नोक्सानी व्यवस्था गरिएपनि अर्बभन्दा बढी नाफा निकाल्न सफल भयो ।

बैंकले नाफाको योजना छुट्टै ढंगले गरेको छ । बैंकका अनुसार राष्ट्र बैंकले असोजसम्म असूल भएको ब्याजलाई गत असारसम्मको आम्दानी जनाउन पाइने व्यवस्था गरेपनि प्राइम बैंकले साउनसम्मको आम्दानीलाई मात्र असारमा लग्यो । र, बाँकीलाई असोज मसान्ततिर तान्यो ।

‘कर्जाको नोक्सानी ब्यवस्थालाई राष्ट्र बैंकले केही खुकुलो गरिदिए पनि हामीले बैंकले थप नोक्सानी ब्यवस्था गरेका छौं,’ स्रोतले भन्यो, ‘पुसको वित्तीय विवरणमा पनि नाफाको अंकमा निरन्तरता हुने छ ।’

प्राइम बैंकले १ लाख लगानी गर्नेलाई २० लाखको मालिक बनायो

एक्विजिसनबाट पुँजी बढे पनि प्रतिसेयर आम्दानी अझ बढेको देखिएको छ । गत बर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी २६ थियो भने अहिले सुधार भएर २९ माथि पुगेको छ ।

‘एक्विजिसनको सिनर्जी लाभ हुन गयो र कल निक्षेपको सीमापछि गरिएको रणनीति परिवर्तन एवं बैंकको फरक कर्जा तथा सञ्चालन रणनीतिका कारण पुँजी वृद्धिसँगै प्रतिसेयर आम्दानी पनि वृद्धि हुँदै गएको हो,’ स्रोतले भन्यो ।

बैंकले निक्षेपकर्ताहरुलाई बढी र कर्जाका ग्राहकहरुलाई कम ब्याजदर प्रस्ताव गर्ने, सेयरधनीलाई बढी प्रतिफल दिने कर्मचारीलाई बैंकिङ औषतभन्दा राम्रो सुविधा दिने, पुँजी बढाउँदै जाने र प्रतिसेयर आम्दानी पनि बढाउँदै जस्ता आश्चर्य लाग्ने रणनीति अवलम्बन गरेको छ ।
नेपालीमा एउटा चर्चित भनाइ छ, ‘कमाएर होइन, बचत गरेर धनी भइन्छ ।’

बैंकको अत्यन्तै न्यून सञ्चालन खर्च यसको ताजा उदाहरण हो ।

असारको वित्तीय विवरण अनुसार यस बैंकको बार्षिक सञ्चालन खर्च १ अर्ब ७२ करोड रहेको छ । जबकी एनआईसी एशियाको ५ अर्बमाथि, ग्लोबलको ४ अर्बमाथि, राष्ट्रिय वाणिज्य बैंकको साढे ४ अर्ब, कृषि बैंकको ३ अर्ब ६७ करोड, प्रभु बैंकको ३ अर्ब ५८ करोड, सिद्धार्थ बैंकको ३ अर्ब ३५ करोड र एनएमबी बैंकको २ अर्ब ८८ करोड सञ्चालन खर्च रहेको छ ।

कोभिडको असर बढी देखिएका क्षेत्रमा बैंकको बढी एक्सपोजर नभएका कारण पनि वित्तीय विवरणमा असर नपरेको बैंकका अधिकारीहरु बताउँछन् ।

‘प्राइम बैंकले अरु बैंकले बढी जोखिम देखेका क्षेत्रमा पनि अवसर देखेर लगानी गरेको र अरुले अवसर देखेका क्षेत्रमा पनि जोखिम देखेर लगानी गरेको थिएन,’ स्रोतले भन्यो ।

हाइपोथिकेसन, आयात निर्यात, व्यापारिक सार्वजनिक सवारीमा बैंकले लगानी गरेको थिएन । तर अन्य बैंक नगएका जलविद्युत, सिमेन्ट, मौलिक सीप विकास तथा कालीगढीका परियोजना लगायतका क्षेत्रमा बैंकले प्रशस्त लगानी गरेको थियो ।

अहिले भित्रभित्रै बैंकको आन्तरिक सुधार व्यापकरुपमा भइरहेको छ । अनलाइन कारोबार, डिजिटल बैंकिङ, शाखा परिचालन र ग्राहकसंख्या तीब्र विस्तार गर्ने तयारीका कामहरु भैरहेका छन् ।

बैंकले मंसिरको पहिलो साता साढे ३ अर्बको डिबेञ्चर जारी गर्दैछ । राम्रो वित्तीय विवरण सार्वजनिक गरेको डिबेञ्चर सहजै बिक्री हुने बैंकको विश्वास छ ।

‘बैंकले अहिलेको प्रतिकूल अवस्थामा कर्जा विस्तारलाई प्राथमिकतामा राख्न नहुने रणनीति लिएको जनाउँदै भनेको छ, आधारदरभन्दा तल गएर कर्जा विस्तारको के अर्थ छ र ?’ स्रोतले भन्यो, ‘बैंक भनेको धेरै उत्ताउलिएर गर्ने बिजनेश होइन, कन्जर्भेटिभ र संयमित भएर अघि बढ्दा जोखिम कम हुन्छ । र, दीर्घकालसम्म टिक्न सकिन्छ ।’


पुष्प दुलाल