सामुदायिक लघुवित्तको नाफा ८३ % ले घट्दा, खराब कर्जामा उच्च वृद्धि



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

यो अवधिमा लघुवित्तको नाफामा धेरै नै गिरावट आएको छ । कोरोनाको कारण  सरकारले लगाएको नाकाबन्दीको असर संस्थाको नाफामा परेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६६ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा नाफा ८३.०३ प्रतिशतले घटेर ११ लाख २० हजार रुपैयाँमा सिमित बनेको छ ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा ऋणत्मक रहेको छ । संस्थाको खुद ब्याज आम्दानी २ करोड ११ लाख ५० हजार रुपैयाँबाट बढेर २ करोड ७८ लाख ९५ हजार रुपैयाँमा पुगेको छ । तर सञ्चालन मुनाफा ४८ लाख ५४ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । गत आवको पहिलो त्रैमासमा सञ्चालन मुनाफा १ करोड ३ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

१३ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा ५ करोड ७२ लाख ३१ हजार रुपैयाँ रहेको छ । ४५ करोड ३ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १ अर्ब १७ करोड ७४ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा संस्थाको खराब कर्जा निकै बढेको छ । गत आवको पहिलो त्रैमासमा १.८४ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोही अवधिमा आईपुग्दा १६.०८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४० पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ३६ पैसा रहेको छ ।


क्लिकमान्डु