सामलिङ्ग पावरले आईपीओ ल्याउने, प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल



काठमाडौं । सामलिङ्ग पावर कम्पनीले साधारण शेयर (आईपीओ) निष्काशनको प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानु पोखरेलले र एनआईबिएल एस क्यापिटको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । कम्पनीले शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरीसकेकोे छ ।

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना २०२० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोे छ ।

आयोजनाबाट वार्षिक उत्पादन हुने ५३.२८ गिगावाट उर्जा ईलाम जिल्लाको गोदक स्थित नेपाल विद्युत प्राधिकरणको ३३÷१३२ के.भी गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

प्रवद्र्धक कम्पनी सामलिङ्ग पावर कम्पनीका अध्यक्ष तथा उर्जा डेभलपर्स प्रा.लि का अध्यक्ष विजयबहादुर राजभण्डारीले विद्यमान प्रतिकूल वातावरणका बाबजुद आयोजनाको सिभिल निर्माण कार्यहरु सुचारु गरी सम्पन्न हुने अन्तिम चरणमा रहेको बताए ।

उनले आयोजनाको विद्युत गृहमा कम्पनीका प्राविधिकहरुद्धारा इलेक्ट्रोमेकानिकल यन्त्र उपकरणहरु जडान गर्ने कार्य भइरहेको हुँदा आगामी ३ महिनामा जडान एवं परिक्षण सम्पन्न गरिने बताए ।

डेभलपर्सको सम्बद्घ कम्पनीहरु मार्फत ४९ मेगावाट को अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माणाधिन अवस्थामा रहेको तथा अन्य ६ आयोजनाहरु निर्माण विकासको विभित्र चरणमा रहेका छन् ।

उनले जलविद्युत् आयोजना न्यूनतम लागत, उच्च गुणस्तर तथा प्रतिस्पर्धी मूल्यमा निर्माण गर्नेतर्फ ऊर्जा डेभलपर्स उन्मुख रहेको जानकारी दिंदै मुलुकको आन्तरिक तथा क्षेत्रीय बजार अध्ययन गरी आगामी दिनमा जलाशय (स्टोरेज) र अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माण गरिने बताए ।

आयोजनाको वित्तिय व्यवस्थापन नेपाल एसबिआई बैँकको अगुवाईमा सिद्धार्थ बैँकको सहभागीता रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १२ करोड ३० लाख रुपैयाँको साधारण शेयर निष्काशन गर्न लागेको छ ।


क्लिकमान्डु