बोर्डमा वित्तीय विवरण विद्युतीय माध्यमबाट पेश गर्न इआरआरएस सिस्टम तयार
काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी आधारभूत जानकारी गराउनको लागि हाते पुस्तक सार्वजनिक गरेको छ ।
पुँजी बजार सम्बन्धी जानकारी लिन चाहने स्कूल तथा कलेजका विद्यार्धीहरु र आम लगानीकर्ताहरुलाई लक्षित गरी बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक-२०२० प्रकाशन गरेको हो । विश्व लगानीकर्ता सप्ताहको अवसरमा बोर्डले उक्त पुस्तक तयार पारेको हो ।
त्यस्तै बोर्डले सूचीकृत कम्पनी तथा अन्य बजारमा सहभागीहरुले नियमन व्यवस्था अनुरुप बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरु विद्युतीय माध्यममार्फत पेश गर्नसक्ने प्रणाली इलेक्ट्रोनिक रिपोट्रिङ एण्ड रिट्रायबल सिस्टम (इआरआरएस) समेत प्रयोगमा ल्याएको छ ।
यो व्यवस्थाले बोर्डबाट इजाजतपत्र प्राप्त संस्था र निश्कासनकर्ता एंव सुचिकृत संगठित संस्थाहरुले भौतिक रुपमा विवरहरु पेश नगरी आफ्नै कार्यालयबाट विद्युतीय माध्यम मार्फत आवधिक वित्तीय विवरण तथा अन्य विवरणहरु पेश गर्न सक्नेछन ।
वित्तीय बजार, पुँजी बजार, धितोपत्र बजार, धितोपत्रको प्राथमिक निश्कासन तथा यसको प्रकृया, लगानी योजना तथा प्रक्रिया, सेयरधनीको अधिकार, बजार सहभागी तथा बजार सहभागीले प्रवाह गर्ने सेवा सुविधा, लगानीको मन्त्र, लगानी गर्दा ध्यान दिनुपर्ने पक्ष समावेश गरिएको छ ।
यस्तै नियमन व्यवस्था अनुरुप सूचीकृत संगठित संस्थाले लगानीकर्तालाई उपलब्ध गराउनुपर्ने सूचना, जानकारी तथा विवरण लगानीकर्ताहरुले समेत प्राप्त गर्न सक्ने गरी विकास गरिएको इआरआरएसको माध्यमबाट आम लगानीकर्ताले न्यून प्रयास तथा लागतमा प्राप्त गर्न सक्नेछन् ।
यस प्रणालीको प्रयोगबाट बजारमा सूचना प्रवाह तथा नियमको परिपालना कार्य सहज हुनुका साथै बजार सहभागीहरुको कानुन परिपालना लागतमा कमी आउने र बोर्डले लगानीकर्ताको सुसूचित हुन पाउने छन् ।