बुक विल्डिङ प्रणालीः किन छ आवश्यकता, कसरी हुन्छ मूल्य निर्धारण र बाँडफाँड ?



काठमाडौं । बुक विल्डिङ प्रणाली लागु गर्नको लागि नेपाल धितोपत्र बोर्डले आवश्यक ऐन कानून निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीका अनुसार संगठित संस्थाले धितोपत्र जारी गर्दा धितोपत्रको निष्काशन मूल्यले उक्त संगठित संस्था प्रति लगानीकर्ताको आकर्षण, विभिन्न क्षेत्रका संगठित संस्थाहरुको प्रवेश, पूँजी परिचालनको अवस्था लगायतका विषयमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै बोर्डले बुक बिल्डिङ कार्यान्वयनमा ल्याउन लागेको हो ।

बुक विल्डिङ प्रणालीबाट धितोपत्रको सार्वजनिक निष्काशन गर्दा निश्चित मूल्य विधि र बुक विल्डिङ विधि अनुसार गरिने छ । निश्चित मूल्य विधिबा जाँदा धितोपत्र जारी गर्दा संगठित संस्थाले तोकेको मूल्य (अंकित मूल्य वा प्रिमियम मूल्य) मा सार्वजनिक निष्काशन गरिन्छ । बुक बिल्डिङ विधिबाट जाँदा भने प्रकृया धेरै नै रहेका छन् ।

बुक विल्डिङ्ग विधिबाट धितोपत्र जारी गर्दा बजारको मागको आधारमा निर्धारित मूल्यमा सार्वजनिक निष्काशन गरिन्छ । बुक विल्डिङ्ग विधि मार्फत् धितोपत्र जारी गर्ने संगठित संस्था र निष्काशन तथा विक्री प्रबन्धकले संस्थाको आधारभूत पक्ष तथा बजारको अवस्थाको विश्लेषण गरी निष्काशन मूल्य वा मूल्य सीमा तय गर्ने गर्दछ ।

अन्तर्राष्ट्रिय मान्यतालाई हेर्दा लगानीकर्ताले तोकिएको मूल्य सीमा भित्र वा न्यूनतम मूल्यभन्दा माथि धितोपत्र खरिदका लागि बोलकबोल गर्ने गर्दछन् ।

केसीका अनुसार सम्पूर्ण धितोपत्र विक्री हुने मूल्यलाई कट अफ प्राइस मानी उक्त मूल्य र सो भन्दा माथि आवेदन गर्नेलाई धितोपत्र बाँडफाँट गरिने गरिन्छ । कट अफ प्राइस नै धितोपत्र निष्काशनको निर्धारण भएको मूल्य हो ।

बुक बिल्डिङ विधिको महत्वः

धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने, निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने अपेक्षा रहेको छ ।

निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिबृद्धिमा सहयोग पुग्ने छ भने ठूला संस्थागत लगानीकर्ताको धितोपत्र मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने पनि अपेक्षा रहेको छ ।
दोस्रो बजारको शुरुवाती कारोवार मूल्य निर्धारण गर्न सहज हुने, र लगानीकर्तालाई लगानी विविधिकरण गर्न सहयोग पुग्ने बोर्डको भनाइ छ ।

आवश्यकताः

नेपालको धितोपत्र बजारमा वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्ने संगठित संस्था कम रहेका र बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीको बाहुल्यता धेरै रहेकोले यसको आवश्यकता महशुस गरिएको छ ।

धितोपत्र बजारमा विभिन्न क्षेत्रका कम्पनीहरुको सहभागिता रहेमा मात्र धितोपत्र बजारले देशको आर्थिक स्थिति यर्थाथ रुपमा प्रतिविम्वीत गर्न सक्छ भन्ने मान्यतालाई लागू गर्न अन्य क्षेत्रका कम्पनीहरु खास गरी वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमार्फत् पूँजी परिचालन गराउन सरकार र बोर्डले विशेष पहल गर्दै आएको छ ।

संगठित संस्थालाई धितोपत्र बजारमा प्रवेश गराउन नियमन निकायले आवश्यक पूर्वाधारहरु तयार गर्ने क्रममा बोर्डले धितोपत्रको प्राथमिक निष्काशनमा अन्तर्राष्ट्रिय रुपमा प्रचलित बुक विल्डिङ्ग विधि कार्यान्वयनमा ल्याएको जनाएको छ ।

बुक विल्डिङ्ग विधिको प्रयोगबाट धितोपत्र निष्काशन गर्दा संगठित संस्थाले कम्पनीको वास्तविक मूल्य गणना गरी धितोपत्रको मूल्य सीमा तोक्ने र सोही सीमाभित्र रही बजारले माग देखाउने भएकोले यस विधि अनुसार निर्धारण भएको मूल्यले कम्पनीको वास्तविक अवस्थाका साथै बजारको मागलाई समेत सम्बोधन गर्दछ ।

यसबाट वित्तीय अवस्था सबल भएका संगठित संस्थालाई अङ्कित मूल्यमा नै धितोपत्र जारी गर्नुपर्ने अवस्थाको अन्त्य भई ती संस्थाहरु धितोपत्र बजारमा आकर्षित हुने देखिन्छ ।

सार्वजनिक निष्काशन गर्न चाहिने योग्यताहरुः

केसीका अनुसार बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्काशन गर्नको लागि विगत तीन आर्थिक बर्ष देखि लगातार खुद मुनाफामा रहेको, नेटवर्थ चुक्ता पु‘ँजी (प्रति शेयर) भन्दा कम्तिमा डेढ गुणा बढी रहेको, कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको, साधारण सभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्ने छ ।

यी हुन योग्य संस्थागत लगानीकर्ताः

बुक बिल्डिङ प्रणाली सहभागी हुने योग्य संस्थागत लगानीकर्तामा सूचिकृत संगठित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक,सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर,विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोष,धितोपत्र व्यापारी र न्यूनतम १० करोड रुपैयाँ नेटवर्थ भएको धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेको लगानी कम्पनी हुन ।

हाल ४५ वटा कम्पनी बोर्डमा आवेदन दिएका छन् । ती कम्पनीको अध्ययन बोर्डले गरिरहेको छ । बुक विल्डिङ्ग विधिबाट धितोपत्र निष्काशन गर्दा ४० प्रतिशत संस्थागत लगानीकर्ता र ६० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने केसीले बताए । संस्थागत भन्दा बढी सर्वसाधारणलाई सेयर रहेको छ ।

कसरी हुन्छ मूल्य निर्धारण ?

यो संचालन भएकोे पाँच दिन भित्र योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या तथा मूल्याङ्कनको आधारसहित आशय मूल्य पेश गर्न सक्ने छन् । कम्तिमा १० योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नुपर्ने र सो को अध्ययन गरी धितोपत्रको आधार मूल्य निर्धारण गर्नुपर्ने छ ।

आधार मूल्यमा २० प्रतिशत थप गर्दा र घटाउँदा कायम हुन आउने मूल्यहरुलाई माथिल्लो सीमा र तल्लो सीमा कायम गरी धितोपत्रको मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ । आशय मूल्य पेश गर्ने योग्य संस्थागत लगानीकर्ताले पेश गरेको आशय मूल्य निर्धारित मूल्य सीमा भित्र परेमा वा सोभन्दा बढी भएमा बोलकबोल प्रक्रियामा अनिवार्य रुपमा सहभागिता जनाउनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

कट अफ मूल्य निर्धारण र बाँडफाँडः

यसको लागि कट अफ मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । निष्काशित सम्पूर्ण धितोपत्र बिक्री हँुदा कायम हुन आउने बोलकबोल मूल्य, कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्तालाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा धितोपत्र बाँडफाँड गर्नुपर्ने हुन्छ ।

कट अफ मूल्यमा आवेदन गर्ने संस्थागत लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने छ ।

कट अफ मूल्य भन्दा कम मूल्यमा बोलकबोल गर्ने बोलकबोलकर्तालाई धितोपत्र बाँडफाँट नगरिने र बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

सर्वसाधारणलाई धितोपत्र निष्काशनः

बुक बिल्डिङमा गएपछि कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नुपर्ने हुन्छ । निष्काशन गरिने शत प्रतिशत धितोपत्र प्रत्याभूति गराउनुपर्ने हुन्छ ।

योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाडफाँट गरेको सात कार्य दिनभित्र संशोधित विवरणपत्र बोर्डमा स्वीकृतिका लागि पेश गर्नुपर्ने हुन्छ संशोधित विवरणपत्रमा कट अफ मूल्य, धितोपत्र बाडफाँट भएका योग्य संस्थागत लगानीकर्ताको नामावली, धितोपत्रको संख्या, योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र जारी गर्दा स्वीकृत भएको विवरणपत्रमा उल्लेखित संगठित संस्थाको प्राविधिक, वित्तीय र व्यवस्थापन पक्षमा कुनै परिवर्तन भएको भए त्यस्तो परिवर्तन भएको विषय उल्लेख गरेको हुनुपर्ने छ ।

निवेदनको जाचबुझ गर्दा उपयुक्त देखेमा बोर्डले सात कार्य दिनभित्र विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने व्यवस्था समेत रहेको छ । बोर्डबाट विवरणपत्र स्वीकृत भएको सात कार्य दिनभित्र आव्हानपत्र प्रकाशन गरिसक्नुपर्ने र आव्हानपत्र प्रकाशन गरेको सात कार्य दिन भित्र धितोपत्रको बिक्री खुला गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

आवेदन तथा बाँडफाँडः

सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता हुनुपर्ने छ । संगठित संस्थाले धितोपत्र बाडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ता पाउने गरी बाडफाँट गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

केसीका अनुसार सर्वसाधारणमा धितोपत्र निष्काशन, आवेदन तथा बाँडफाँट सम्बन्धी अन्य व्यवस्था धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३, धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ र धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा संचालन निर्देशिका, २०७४ बमोजिम हुने छ ।


क्लिकमान्डु