सानिमा जनरल इन्स्योरेन्सको आईपीओ खुला, कति दिने आवेदन ?
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारण सेयर बिक्री खुला गरेको छ ।
इन्स्योरेन्सले बुधबार (असोज २१ गते)बाट प्रति कित्ता एक सय रुपैयाँको दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता साधारण सेयर (आइपीओ) बिक्रीमा ल्याएको हो ।
३० लाख कित्तामध्ये सर्वसाधारणले २७ लाख ३० हजार कित्तामा आवेदन दिन सक्नेछन । बाँकी १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि छुट्याएको छ ।
यो आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । त्यो समयमा माग बमोजिम आवेदन नपरेमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।
सानिमाको आईपीओमा आवेदन दिनको लागि लगानीकर्ताले सी आस्वा सेवामा सहभागी बैंक तथा तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ ।
आइपीओले केयर रेटिङ नेपालबाट केयर एनपीबीबी प्लस रेटिङ पाएको छ । यस अघिका आईपीओहरुमा माग भन्दा ८ गुणा बढीसम्म आवेदन पर्ने गरेको छ । तसर्थ यसमा पनि लगानीकर्ताले १० कित्ताको लागि आवेदन दिनु उपयुक्त हुने देखिएको छ ।