किन बढ्यो हाईड्रोपावर कम्पनीको सेयर मूल्य ? अझै कति बढ्ला ?



काठमाडौं । मंगलबारको कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आउँदा जलविद्युत् समूहको उपसूचकमा भने बढोत्तरी देखिएको छ ।

जलविद्युत् समूहको उपसूचक २८.०५ अंकले बढेको छ ।

यो दिनको कारोबारमा धेरै कमाउने मुख्य १० कम्पनीमा ९ वटा विद्युत् कम्पनीका नै छन् ।

जसमा जोशी हाईड्रोपावरको कारोबारमा सकारात्मक सर्किट लागेको छ । हिमालय उर्जा विकास कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाईड्रो, यूनाइटेड मोदी, युनिभर्सल पावर कम्पनी, पञ्चकन्या माइ हाईड्रो, यूनियन हाईड्रो, छ्याङदी हाईड्रोपावर रहेका छन् ।

यतिबेला लगानीकर्ताको ध्यान जलविद्युत कम्पनीतिर बढेको छ । केही समय अघिसम्म जलविद्युत् कम्पनीको सेयर मूल्य आईपीओको आधासम्म आएको थियो ।

कतिपय लगानीकर्ताको आईपीओको मूल्य त आधा भन्दा कम भएको थियो । तर यतिबेला जलविद्युत कम्पनीमा लगानीकर्ताको ध्यान निकै गएको देखिएको छ । अहिले अधिकांश कम्पनीको मूल्य बढिरहेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाको आय आर्जन घट्ने र नाफा घटने जस्ता कारण जलविद्युत कम्पनीमा लगानीकर्ताको ध्यान गएको छ । कोरोनाको कारण अन्य क्षेत्रमा असर परेपनि जलविद्युत् क्षेत्रमा प्रत्यक्ष असर कम रहेको कारण लगानीकर्ताको ध्यान जलविद्युत कम्पनीतिर गएको देखिएको छ ।

त्यस्तै अहिले अन्यको तुलनामा जलविद्युत् कम्पनीको सेयर मूल्य थोरै भएको कारण पनि यता लगानीकर्ताको ध्यान गएको हुनसक्ने स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)का सदस्य प्रकाश दुलालको भनाइ छ । यो बेलामा जलविद्युतका लगानीकर्ता प्रोफिट बुकतर्फ देखिएका छन् ।

‘अहिले जलविद्युत कम्पनीको सेयर मूल्य बढने गरी कुनै नीतिगत निर्णय भएका छैन’ सदस्य दुुलालले भने, ‘सञ्चालनमा आएका प्रोजेक्टहरुले कोरोना भन्दा अगाडि १२/१४ प्रतिशतसम्म बैंकको ब्याज तिर्ने गरेका थिए, अहिले त्यो घटेर साढे ८ प्रतिशतसम्ममा ऋण पाएका छन् ।’

जसले गर्दा जलविद्युत् कम्पनीको नाफा बढ्न सक्ने सम्भावना देखेर लगानीकर्ताले जलविद्युत् कम्पनी छनोट गरेको हुनसक्ने उनको धारणा छ ।

अहिले सञ्चालनमा आएका मात्रै होइन, सञ्चालनमा नरहेका जलविद्युत कम्पनीको सेयर मूल्य पनि निकै बढेको छ ।

जुन कम्पनीको सेयर मूल्य बढेको छ, ति कम्पनीहरु निर्माणको अन्तिम चरणमा रहेका छन् । त्यस्ता हाईड्रोपावर कम्पनीको निर्माण सम्पन्न भएपछि लगानीकर्ताले धेरै लाभांश पाउने आशाका कारण पनि सेयर मूल्य बढेको अनुमान गरिएको छ ।


क्लिकमान्डु