ब्रोकर कमिशन घटाउने लगानीकर्ताको मागमा सेबोनको अटेरी, ०.२५% कायम गर्नुपर्ने



काठमाडौं । सेयर लगानीकर्ताका संगठनहरुले ब्रोकर कमिशन तत्काल घटाउन धितोपत्र बोर्ड समक्ष आग्रह गरेका छन् ।

बोर्डमा पुगेका तीन वटा संगठन नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ र सेयर लगानीकर्ता संघका अधिकारीहरुले ब्रोकरले लिने कमिशन तत्काल घटाउन आग्रह गरेका हुन् ।

लगानीकर्ताहरुले ब्रोकर कमिशन असोज मसान्तभित्रै घटाउनका लागि बोर्डलाई अल्टिमेटम दिएका छन् । लगानीकर्ताका संगठनले बोर्डले ब्रोकर कमिशनलाई घटाएर ०.२५ प्रतिशतमा झार्न आग्रह गरेको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । हाल लगानीकर्ताले ब्रोकर कमिशन ०.४ देखि ०.६ प्रतिशतसम्म तिर्दै आएका छन् ।

यता बोर्डले भने ब्रोकर कमिशन अहिले केही मात्रामा घटाउने र टिएमएस पूर्ण रुपमा प्रभावकारी बनेपछि पुनः घटाएर अर्को दर राख्न लगानीकर्तालाई आग्रह गर्दै आए पनि लगानीकर्ताहरुले मानिरहेका छैनन् ।

लगानीकर्ताहरु भने असोज मसान्तभित्र नै निर्णय गरेर कात्तिक १ गतेदेखि नयाँ दर लगाउन आग्रह गरेका छन् ।

नेपालको पुँजीबजार पूर्णतया अनलाइन प्रणालीमा गएको, ब्रोकरको काम कम भएको, कारोबार रकम पनि उल्लेख्य बढेको समयमा ब्रोकर कमिशन घटाउन आग्रह गरेको अध्यक्ष पोखरेलले भनाइ छ ।

सेयर बजारको दोस्रो कारोबार पूर्ण अनलाइन हुँदा पनि ब्रोकर कमिशन नघटेको भन्दै लगानीकर्ताले कमिशन घटाउन माग गरिरहेका छन् । लगानीकर्ताले पटक पटक उक्त कुरा उठाँउदा नसुनेको भन्दै लगानीकर्ता बोर्डमा नै पुगेका हुन् ।

लकडाउन अघि ब्रोकर कार्यालयबाट काम गर्नुपर्दा वा लगानीकर्ता ब्रोकरको कार्यालयमा पुग्दा उनीहरुको खर्च बढ्ने गरेको थियो ।

पछिल्ला दिनमा चेक लिएर बैंकमा जानुपर्ने, क्लियरिङ शुल्क तिर्नु नपर्ने भएका कारण पनि ब्रोकर कमिशन घटाउनु पर्ने लगानीकर्ताको माग रहेको छ । हाल लगानीकर्ताले ब्रोकर, सेबोन, नेप्से, सिडीएससीलाई कमिशन तिर्नुपर्छ ।

धितोपत्र बोर्डले निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा ब्रोकर कमिशन घटाउन अध्ययन समिति नै बनाएको थियो । उक्त समितिले बनाएको प्रतिवेदन बोर्डको अध्यक्ष समक्ष बुझाई सकेको छ । उक्त छलफलमा लगानीकर्ताले भोग्नु परेको क्लोज आउटको समस्या र टीएमएसको विषयमा पनि छलफल भएको थियो ।


क्लिकमान्डु