आजदेखि आन्तरिक हवाई सेवा शुरु, दैनिक ५० उडान मात्रै



आजदेखि आन्तरिक हवाई सेवा शुरु भएको छ ।सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले आजबाट सेवा शुरु गरेका हुन् ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि शुरु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवेन्द्र केसीले विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको कोरोना सम्बन्धि बनाएको प्रोटोकल पालना गर्ने गरी सेवा सञ्चालन शुरु भएको बताए ।

वायुसेवा कम्पनीहरुले नियमित सेवा सञ्चालन भएको समयमा पाएको उडान अनुमतिको आधारमा २५ प्रतिशतमात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि प्रमुख केसीले जानकारी दिए ।

बिमान सेवा प्रयोग गर्ने यात्रुले पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ्य भएको स्वयं घोषणा पत्र भर्नुपर्ने छ ।

नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नुपर्ने छ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइने छ ।

विमानस्थल सेवा सञ्चालन भएको पहिला दिन यात्रुको चाप उल्लेख्य देखिएको छ । आज देशका विभिन्न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइएको पनि विमानस्थल प्रमुख केसीले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगमलाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ ।

सौर्य एयरलायन्सको बिमान मर्मतमा रहेकोले उडान अनुमति पाएको छैन । तर तारा एयरले नेपालगञ्ज बेस भएर विभिन्न ४ उडान भर्नेछ ।

उडान अनुमति पाएका बिमानहरुले भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, लुक्ला, फाप्लु लगायत स्थानहरुमा उडान भर्ने छन् ।


क्लिकमान्डु