राष्ट्र बैंकले नविल बैंक र युनाइटेड फाइनान्सलाई मर्ज गराउँदैछ ? यस्तो छ चौधरी परिवारको क्रस होल्डिङ



काठमाडौं । नेपालका ठुला व्यवसायी घराना मध्येका एक हुन् विनोद चौधरी । उनी र चौधरी परिवारको स्वामित्व वित्तीय क्षेत्रका संघ संस्थामध्ये सबैभन्दा धेरै नविल बैंक, युनाइटेड फाइनान्स र युनाइटेड इन्स्योरेन्समा छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् एउटै व्यक्ति/समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवं व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका बैंक तथा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्न/गाभिने निर्देशन दिने उल्लेख गरेको छ ।

जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष सेयर स्वामित्व रहेको पाइएमा सो बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न राष्ट्र बैंकले लगानीकर्ताहरुको लगानीको पहिचान गरिरहेको छ ।

केन्द्रीय बैंकको एकिकृत निर्देशिकाको लगानी सम्बन्धी व्यवस्थामा बैंक/वित्तीय संस्था संस्थापना एवम्वित्तीय कारोबार गर्ने इजाजतपत्र सम्बन्धी नीतिगत एवम् प्रक्रियागत व्यवस्थाः २०६३ ले गरेको नीतिगत व्यवस्थामा भनिएको छ- ‘इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने छ ।’

नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो

नविलमा चौधरी परिवारको सेयर स्वामित्व

नबिल बैंकमै चौधारी परिवारको नाममा ३.११ प्रतिशत संस्थापक सेयर छ । जुन, विनोद चौधरीकी श्रिमती सारिका चौधरीको नाममा ०.७८ प्रतिशत, उनका जेठा छोरा निवाण चौधरीको नाममा ०.८९ प्रतिशत संस्थापक सेयर छ । उनी नविल बैंकका संस्थापकको तर्फबाट सञ्चालक समेत छन् । साथैै, बैंकमा विनोद चौधरीका माइला छोरा वरुण चौधरीको नाममा ०.८५ प्रतिशत र कान्छा छोरा राहुल चौधरीको नाममा ०.५९ प्रतिशत संस्थापक सेयर छ ।

नबिलमा चौधरी ग्रुपको प्रवद्र्धित एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर स्वामित्व छ । एनबी इन्टरनेशनलमा ४९ प्रतिशत चौधरी परिवारको लगानी छ भने ५१ प्रतिशत बंगलादेशी व्यवसायी अब्दुल अवाल मिन्टूको सेयर लगानी छ ।

राहुल चौधरी र वरुण चौधारी एनआरएन हुन् ।

युनाइटेड फाइनान्समा चौधरी परिवारको सेयर स्वामित्व

नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको ‘ग’ वर्गको वित्तीय संस्थाको रुपमा स्थापनाको इजाजत पाएको संस्था हो युनाइटेड फाइनान्स कम्पनी । युनाइटेडमा सबैभन्दा बढी लगानी चौधरी परिवारकै छ ।

युनाइटेड फाइनान्स अध्यक्ष हुन् विनाद चौधरीका भाई बसन्त चौधरी । कम्पनीमा सबैभन्दा धेरै भारतको मुथुत फाइनान्सले २०.७८ प्रतिशत र एमएड्ब्लु इन्टरप्राइजेट ११.८८, राहुल इन्फास्ट्रक्चरले ११.४५ प्रतिशत सेयर लगानी गरेको छ ।

प्रत्यक्ष रुपमा हेर्दा कम्पनीमा सबैभन्दा धेरै मुथुत फाइनान्सले सेयर लगानी गरेको देखिए पनि वास्तवमा भने चौधरी परिवारको कम्पनीमा ३६.३८ प्रतिशत सेयर स्वामित्व छ ।

कम्पनीमा व्यक्तिगतरुपमा सबैभन्दा धेरै अध्यक्षसमेत रहेका बसन्त चौधरीको नाममा ७.४६ प्रतिशत संस्थापक सेयर छ । साथै, कम्पनीमा अरुण चौधरीको नाममा ११.२३ प्रतिशत र विनोद चौधरीको नाममा ५.४६ प्रतिशत संस्थापक सेयर छ । विनोद, बसन्त र अरुण दाजु भाइ हुन् ।

कम्पनीमा ११.८८ प्रतिशतसेयरमा लगानी गर्ने एमएड्ब्लु इन्टरप्राइजेट विष्णु कुमार अग्रवालको लगानीको हो । उनी युनाइडेडमा एमएड्ब्लुको तर्फबाट सञ्चालक समेत छन् ।

यस्तै, कम्पनीमा संस्थागत रुपमा ११.४५ प्रतिशत लगानी गर्ने राहुल इन्फास्ट्रक्चर भने चौधरी परिवारकै हो । राहुल इन्फास्ट्रक्चरको तर्पबाट प्रतिनिधित्व गर्दै कम्पनीमा रोसन अधिकारी सञ्चालक छन् ।

तर, राहुल इन्फास्ट्रक्चरको राहुल चौधरी, वरुण चौधरी र निर्वाण चौधरीको लगानीमा छ । साथै, चौधरी ग्रुपकै सीजी फिन्को प्रालिको नाममा ०.७८ प्रतिशत पब्लिक सेयर छ ।

यसरी युनाइटेड फाइनान्समा नै चौधरी परिवारको व्यक्तिगत र संस्थागत गरेर ३६.३८ प्रतिशत सेयर स्वामित्व छ भने नबिल बैंकमा व्यक्तिगत र संस्थागत गरेर करिब ५० प्रतिशत बढी सेयर स्वामित्व छ ।

अहिले राष्ट्र बैंकले क्रस होल्डिङ भएका संस्थालाई मर्जरमा लान खोजिरहेकाले नविल बैंक र युनाइटेड फाइनान्सकाो मर्जरको संभावना प्रवल देखिन्छ ।


पुष्प दुलाल