सेयर बजारमा ‘प्रि ओपन’ सेसन कति उचित ? यसो भन्छन् जानकार



काठमाडौं । सेयर बजारमा कारोबार हुने दिनमा बिहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म प्रि–ओपनिङ हुन्छ । जसमा लगानीकर्ताहरुले सेयर बजार शुरु हुनुभन्दा अघि नै कारोबार गर्न पाउँछन् ।

तर अहिले यो प्रि–ओपनिङको व्यवस्थालाई लिएर धेरै टिकाटिप्पणी शुरु भएको छ । कतिले यसलाई बन्द गर्नुपर्छ भनिरहेका छन् भने कतिले यसले बजार मूल्यलाई स्थायित्व दिने भएकाले बन्द गर्न नहुने तर्क गरिरहेका छन् ।

प्रिओपनिङमा टाठाबाठा लगानीकर्ताहरुलाई बजारमा चलखेल गर्नका लागि सहयोग गरेको पनि तर्क पनि उत्तिकै छ । यसको विपक्षमा हुनेहरुले नियमित कारोबार शुरु हुनुभन्दा पहिला नै ५ प्रतिशत मूल्य बढाउन चलखेल गर्ने गरेको आरोप लगाउन थालेका छन् ।

तर सेयर बजारमा विश्लेषक प्रकाश तिवारी भने प्रि–ओपन विश्वभर हुने भएकाले यसलाई व्यवस्थित रुपमा अघि बढाउनु पर्ने तर्क गर्छन । उनले यसलाई बन्द गर्ने भन्दा पनि व्यवस्थित रुपमा अघि बढाउनु पर्ने सरोकारवालालाई सुझाव दिए ।

प्रि ओपन सेसन बन्द गर्ने हो भने नेपालमा पुँजी बजार धेरै नै पछि पर्ने भएकाले यसलाई व्यवस्थित गर्न आवश्यक रहेको तिवारीको तर्क छ ।

बजारमा दुषित मनोविज्ञान राखेर कारोबार गर्नेलाई कारबाही गर्नुपर्ने र प्रि ओपनिङलाई खारेज गर्न नहुने उनको भनाइ छ । बजारमा म्यानुपुलेसन गर्नेलाई कारबाहीको दायरामा नल्याउने हो भने सुधार आउन नसक्ने तिवारीको तर्क छ । कर्नरिङ गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।

साथमा १० कित्ता मात्रै राखेर बजारमा म्यानुपुलेसन कसैले गरेको छ भने त्यस्तालाई तत्काल कारबाहीको दायरामा ल्याउने हो भने अन्यले पनि त्यस्तो नगर्ने उनको भनाइ छ ।

‘५ प्रतिशतलाई म्यानुपुलेसन गर्न दिएर त्यसलाई कारबाहीको दायरामा नल्याउने हो भने प्रि ओपनिङ खारेजीको कुरा पनि आउन सक्छ,’ तिवारीले भने, ‘यसका लागि धितोपत्र बोर्डले पनि ध्यान दिनुपर्छ ।’

प्रि ओपनिङ खराब नभएपनि नेपालमा यसको खराब प्रयोग भएको उनको तर्क छ । अहिले बजारमा उतारचढाव गराउने नियतले कारोबार भएको देखिएको भन्दै यसमा निगरानी आवश्यक भएको बताए । बोर्ड अबका दिनमा कारबाहीको प्रकृयामा नलागे बजारमा बिकृती मौलाउँदै जाने उनले तर्क गरे ।

धितोपत्र बोर्डले भने कुनै लगानीकर्ताले खराब नियतले कारोबार गरेको खण्डमा कारबाहीको दायरामा ल्याउने जनाएको छ । बजारलाई व्यवस्थित र पारदर्शी बनाउनका लागि यो आवश्यक रहेको भन्दै कुनै लगानीकर्ताले कर्नरिङ गर्न खोजेको खण्डमा कारबाहीको दायरामा ल्याउने बताए ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बजारमा कुनै पनि कम्पनीको सेयर कुनै मूल्यमा गएर अड्किन नदिन र बजार मूल्यलाई थप व्यवस्थित गर्नका लागि स्पेशल प्रि ओपनिङ शुरु गरेको बताए ।

दोस्रो बजारमा हुने कारोबार तलमाथि नहुने र एकै तहमा रहिरहने समस्या समाधानका लागि प्रि–ओपनीङ शुरु भएको हो । यसले बजारलाई चलायमान गराउन, धेरैभन्दा धेरै लगानीकर्ताको अर्डर आउनका लागि यसले काम गरेको छ ।

दोस्रो बजार तरलताको लागि पनि भएको कारण यसले कम्पनीको मूल्यलाई स्थिर रुपमा मात्रै नराख्नका लागि काम गरेको छ । कम्पनी स्टकमा सूचिकृत हुने र कारोबार नगर्दा त्यसको अर्थ नहुने भन्दै यसको व्यवस्था गरिएको हो ।

यसमा कम्पनीको नेटवर्थको तीन गुणासम्म गएर कारोबार रेञ्ज छ । अर्थात् कम्पनीको नेटवर्थ १०० छ भने १०० देखि तीन सयसम्मको रेञ्जमा कारोबार गर्न सकिन्छ ।
यसमा ५ प्रतिशतको रेञ्जमा बाइ सेल अर्डर हाल्ने पाइन्छ ।

कुनै कम्पनीको कारोबार भइरहेको छ, त्यो कम्पनीको बारेमा लगानीकर्ताका लागि कुनै सकारात्मक समाचार आयो भने त्यसमा डिमान्ड बढी सप्लाइ कम हुने सम्भावना रहन्छ ।

त्यसले मूल्य निर्धारणमा समस्या हुने देखिने भन्दै यसको व्यवस्था गरिको उनको भनाइ छ । विषेशत मूल्य निर्धारणमा समस्या नहोस् भनेर नै यसको व्यवस्था गरिएको हो । यसमा मूल्य निर्धारणमा समस्या नहोस् भनेर लचकता समेत अनपाइएको हो । यसले लगानीकर्ताको माग र आपुर्तीलाई सन्तुलनमा राख्ने र किनबेच गर्नेलाई उचित मूल्य प्राप्त हुनको लागि यसको व्यवस्था गरिएको हो ।

कसरी गर्छ सिस्टमले काम ?
कारोबारको निरन्तर समयमा सिस्टमले पहिला मूल्य र त्यसपछि समयलाई हेर्ने गरेको छ । बिक्री गर्दाले मंहगोमा बिक्री गर्न खोज्छ, किन्नेले सस्तोमा किन्न खोज्छ ।

यो समयमा मूल्य र समयलाई प्राथमिकतामा राखिन्छ । प्रि ओपनलाई इकोनोमी क्वान्टिनी अर्डर र इकोनोमी प्राइज अर्डर भन्ने गरेको छ । यो समयमा अर्डर जम्मा भएर बस्छ । निरन्तर कारोबार समयमा जस्तो उचित मूल्य आए म्याच हुने मूल्य कायम हुने जस्तो हुँदैन ।

यसले उचित मूल्य निर्धारण गर्ने मेकानिजम बनेको छ । प्रि ओपनमा एउटै अर्डरले मूल्य तलमाथि लैजान सक्दैन । यो समयमा सेयर मूल्य बढाएर वा घटाएर मध्ये कुनमा राख्नेको बहुमत हुने गरेको छ । जसले गर्दा बढीभन्दा बढी सेयर कुन मूल्यमा अर्डर म्याच हुन्छ त्यही मूल्यलाई सिस्टमले समाउने गर्छ ।

जस्तै कुनै कम्पनीको १ सय रुपैयाँदेखि १०५ रुपैयाँसम्म छ र १०० देखि १०५ मध्ये जुन मूल्यमा बढी अर्डर पर्छ त्यसलाई नै सिस्टमले म्याच गर्छ । त्यसकारण यहाँ म्यानुपुलेसनको सम्भावना नरहने मुरारीको भनाइ छ । यसले बजारमा हुने म्यानुपुलेसन रोक्नका लागि काम गर्ने गरेको छ । जसले गर्दा विश्वभरका बजारमा यसको प्रयोग हुने गरेको छ ।


क्लिकमान्डु