भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्यो



काठमाडौं । भारत सरकारले सोमबार प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्य सोमबार प्रतिकेजी ६० रहेकोमा सोमबार मूल्य बढेर ७५ रुपैयाँ पुगेको हो ।

तर, खुद्रा बजारमा भने प्रतिकेजी ९५ देखि १२० रुपैयाँ पुगेको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य बढेको हो । दशैं अगाडि प्याजको मूल्यमा भएको वृद्धिले यो मूल्य अझै बढ्न सक्ने देखिएको छ ।

भारत उद्योग तथा आपूर्ति मन्त्रालयले जारी गरेको सुचना अनुसार प्याजको उत्पादन हुने क्षेत्रमा भारी वर्षा हुँदा उत्पादनमा कमी आएले निर्यातमा रोक लगाएको जनाएको छ ।

कालीमाटी विकास समितिका अनुसार भारतबाट मात्रै ९९ प्रतिशत भारतबाट आयात हुने जनाएको छ । नेपालमा मौसम अनुसार उत्पादन हुने भएकाले स्थानीय स्तरमा मात्रै खपत हुने गरेको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिए ।

‘शहरी क्षेत्रमा सबैभन्दा बढी प्याज खपत हुने भनेको नै भारतको हो,’ उनले भने, ‘नेपालमा प्याज आयातमा प्रतिबन्ध नै गरेको हो भने बजारमा निकै प्रभाव पर्ने र प्याजको मूल्य अझै बढ्नेछ ।’

सोमबार कालीमाटीमा मात्रै ३५ टन आयात भएको थियो । त्यस्तै साउन महिनादेखि आजसम्ममा ३८ सय टन प्याज आयात भएको थियो । अधिकांश शहरमा भारतबाट आयात भएको प्याज खपत भइरहेको अवस्था छ ।

तर, यो वर्ष मात्रै नभई अघिल्लो वर्ष पनि यही समयमा रोक लगाएको निर्देशक श्रेष्ठको भनाइ छ ।

‘विगतको दिनमा पनि यही समयमा प्याजको मूल्य ह्वात्तै बढेको थियो । यो वर्ष पनि त्यो परिस्थिति दोहोरिने भएको छ,’ उनले भने ।

अघिल्लो वर्ष भारतले रोक लगाएसँगै बजारमा प्याजको अभाव भएकाले चीनबाट आयात भएको उनको भनाइ छ । तर, यो वर्ष कोभिडको कारणले पनि धेरै समस्या भइरहेको उनले बताए ।

यसका साथै, नेपाली बजारमा भारतले रोक लगाएपनि व्यापारीहरूले के कसरी बजारमा ल्याउँछन् त्यसको आधारमा मूल्य तय हुने उनले बताए । साथै, खुद्रा बजारमा अधिकतम मूल्य बढाएकाले यसको लागि अनुगमन विभागले अनुगमनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

यसैगरी, बजारमा प्याजको अभाव भएको तर व्यापारीहरूले मौज्दातमा राखेको खण्डमा उद्योग, वाणिज्य तथा अनुगमन विभागले अनुगमन गर्ने जनाएको छ ।

नेपालमा आयात भएका तथा आन्तरिक उत्पादन भएका सम्पूर्ण तरकारी तथा अन्य सामानको मूल्य विभागले संकलन गरेको छ । त्यही आधारमा हामी अनुगमन गर्ने विभागका निर्देशक रविन्द्र आचार्यले जानकारी दिए । साथै, बजारमा अधिकतम मूल्यमा विक्री गर्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।


क्लिकमान्डु