हस्तकला व्यवसाय संकटमा, सामान नपठाएको भन्दै ग्राहकले अर्डर रद्द गर्न थाले



काठमाडौं । ६ महिना लामो लकडाउनका कारण निर्यात व्यापारमा ठूलो निर्भरता रहेको नेपाली हस्तकला अन्तर्राष्ट्रिय बजार संकटमा परेको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान बन्द गरेसँगै हस्तकलाको व्यापार प्रभावित भएको हो ।

२००६ देखि निरन्तर हस्तकला उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएका शुभम ह्यान्डीक्राफ्टका सञ्चालक सुनिल नेपाली श्रेष्ठका अनुसार नियमित उडान नहुँदा समस्या भइरहेको बताए ।

विगत १० वर्षदेखि निरन्तर काम गरिरहेका ग्राहकले समयमा सामान नपठाएको भन्दै सामान नलिने भन्दै इमेल गरेको उनले बताए ।

‘१० वर्षदेखि निरन्तर निर्यात गरेको हस्तकला समयमा नपठाएको भन्दै सामान चाहिँदैन भनेर इमेल आएको छ,’ उनले भने, ‘१० वर्ष निरन्तर काम गर्दै आएको एउटा असल ग्राहक गुमाउँदै छु ।’

नेपालबाट अधिकांश निर्यात हुने हस्तकलामा सबैभन्दा बढी अमेरिकामा निर्यात हुँदै आएको छ । उनले पनि लामो समयदेखि अमेरिकामा हस्तकला निर्यात गर्दै आएका थिए । तर, कोरोना महामारीका कारण निकै समस्या भइरहेको उनले बताए ।

‘ग्राहकले दुई महिना अगाडि नै सामान अर्डर गरेकोमा हालसम्म पठाउन नकिएको छैन, जसले गर्दा व्यवसायमा कठिन परिस्थिति उत्पन्न भएको छ,’ उनले भने ।

उनका अनुसार गत अगस्ट २१ कार्गोमार्फत् पठाउनका लागि तयारी गरिरहेको सामान उडान नभएकाले नेपालमै सामान थन्किएको छ । यदि यस्तै परिस्थिति उत्पन्न भए पछिल्लो दिनमा सामान निर्यात हुन निकै कठिन हुने उनको भनाइ छ ।

‘ती ग्राहकले सामान समयमा नपठाएको भन्दै पैसा फिर्ता मागेका छन्,’ उनले क्लिकमान्डूसँग भने, ‘समयमा सामान पठाउन नसक्दा सम्बन्धित देशको ग्राहकलाई र हामी दुबैलाई अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ ।’

कार्गोमार्फत् सामान पठाउन खोज्दा पनि स्पेस नपाउने समस्या भएको उनको भनाइ छ । साउनमा लकडाउन खुकुलो गरेको अवस्थामा केही सामान निर्यात गर्न पाएको भए पनि अहिले पूर्णरुपमा निषेधाज्ञाका कारण उत्पादन बन्द भएको र अहिले निर्यात पनि ठप्प भएको उनले बताए ।

यसका साथै, कतिपय ग्राहकले सामान अर्डर गरेको पनि धेरैले अर्डर रद्द थालेको हस्तकला व्यवसायीहरु बताउँछन् । एकातिर सामान अर्डर नहुने र अर्कोतिर अर्डर भएका सामान पनि समयमा पठाउन नसक्दा धेरै घाटा व्यहोर्नु परेको हस्तकला व्यवासायीहरूको भनाइ छ ।

हाल लकडाउनका कारण महिनामा एक दुई वटा मात्र हस्तकला पठाउन सकेको शुभमका सञ्चालक श्रेष्ठले बताए । उनका अनुसार विगत दिनको तुलनामा ७० प्रतिशतले ग्राहकले अर्डर कम आउन थालेको उनले जानकारी दिए ।

नियमित उडान बन्दका कारण केही देशमा मात्र सामान निर्यात गर्न पाएको व्यवसायीहरूले बताएका छन् । साथै, यो लकडाउनको अवधिमा कार्गोमार्फत् सामान निर्यात गर्दा ३/४ गुणा महंगो भाडा तिर्न बाध्य भएका छन् ।

तर, पनि आफ्नो ग्राहकले चाहेअनुसार सामान पठाउन नसकेमा पछि सामान नलिने डरले महंगो भाडा तिरेर कार्गोमार्फत् पठाइरहेको नेपाल हस्तकला महासंघक अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए ।

९० प्रतिशतले घट्यो निर्यात
अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै ९० प्रतिशतले हस्तकला निर्यात घटेको नेपाल हस्तकला महासंघले जनाएको छ । लकडाउन कारण १० प्रतिशत पनि निर्यात हुन नसकेको महासंघका अध्यक्ष शाक्यले बताए ।

विगतका दिनमा ४० वटाभन्दा बढी देशमा निर्यात गरिरहेको बेला लकडाउनको अवधिमा २०÷२२ देशहरूमा मात्र निर्यात भइरहेको उनले जानकारी दिए ।

लकडाउन अघि विभिन्न देशमा निर्यात भइरहेको हस्तकला नियमित उडान बन्दभएपछि कतिपयले अर्डर रद्द गरेको भएको छ,’ उनले भने, ‘जसले गर्दा नेपालले अर्बौ घाटा व्यहोर्नु परेको छ ।’

कतिपयले व्यापारीले सामान अर्डर गरे पनि अवस्था सामान्य भएपछि पठाउन भनेका छन् । तर, कतिपयले सामान लिँदैनौं भन्ने धम्की दिन थालेको उनको भनाइ छ ।

यस्तो अवस्थामा व्यापारीहरूले जबरजस्तीमा महंगो भाडा तिरेर सामान पठाइरहेको उनले बताए । त्यति मात्रै नभई समयमा सामान पठाउन नसकेको अवस्थामा पेनाल्टी पनि तिर्न लगाउने गरेको उनको अनुभव छ ।

कोरोनाको समयामा के गर्ने के नगर्ने भन्ने अन्योलता छाएको उनले बताए । हस्तकला निर्यातलाई सरकारले सहज बनाएमा यो क्षेत्र चलायमान हुन सक्ने उनको भनाइ छ । साथै, सहज वातारण बनाउन सरकार समक्ष छलफल शुरू गरेको उनले जानकारी दिए । सर्वप्रथम सरकारले हस्तकला निर्यातमा सहुलियत मूल्यमा उडान गर्न सके व्यापारीलाई सहज हुने महासंघले जनाएको छ ।


क्लिकमान्डु