आर्थिक मन्दीमा व्यक्तिको भूमिका-अनिच्छुकतापूर्वक खर्च कटौती गरौंः नीरव पुडासैनीको लेख
वैश्विक महामारीले संसारका धेरैभन्दा धेरै देशहरुको आर्थिक विकासको गतीमा क्रम्भङ्गता निम्त्याउँछ र निम्त्याइरहेको छ । यो, महामारीको अपरिहार्य आर्थिक उपहार हो, तथापि अप्रत्याशित उपहार ।
कुन तह र क्षेत्रसम्म यसको असर पर्छ भन्न निकै कठिन छ । कारण महामारीको अन्त्यको लक्षण अझैं देखिएको छैन । यसको कहर तीव्ररुपमा बढिरहेको देखिन्छ । तथापि कोरोना भाइरसको कहरलाई महामारीका रुपमा नलिने कन्सपेरेन्सी सिद्दान्त (थ्योरी)का हिमायतीहरु पनि धेरै छन् ।
भोलिका दिनहरुमा यो भाइरस जुनरुपमा प्रमाणित भएता पनि यसको ठूलो असर अर्थतन्त्रमा पर्नेछ र पर्न शुरु गरिसकेको छ भन्दा गलत हुँदैन ।
कोरोनाले सृजित आर्थिक मन्दीले यसपटक प्रत्येक नागरिकको खल्तीले प्रत्यक्ष महसुस गर्नेछ र गरिरहेको छ । तसर्थ प्रत्येक व्यक्तिले आर्थिक मन्दीको बारेमा बु्झ्नु जरुरी छ ।
नागरिकको खल्तीमा प्रत्यक्ष प्रभाव पार्ने भएको हुँदा हरेकले आ–आफ्नो खर्चलाई मितव्ययीरुपमा व्यवस्थित गर्नुपर्छ । यसका साथै खर्चको योजनामा प्राथमिकता अनुरुप गर्नुपर्छ ।
केही समयका लागि प्राथमिकता अनुरुप गर्नुपर्छ । केही समयका लागि विलासिताका वस्तु तथा सेवाहरुमा गर्ने खर्चलाई स्थगित गर्नुपर्छ । अथवा आफ्नो आम्दानीको आधारमा व्यवस्थित गर्नुपर्छ ।
महामारीको समयमा कति रहन्छ वा आर्थिक मन्दी कहिलेसम्म रहन्छ त्यसको कुनै टुंगो छैन । तसर्थ यस्तो बेलामा अरु समयमा भन्दा धेरै बचत गर्ने बानी गर्नु उत्तम हुन्छ ।
किनभने आज तपाईंले गरिरहनु भएको व्यापार, जागिर वा अन्य काम भोलि यथास्थितीमा रहन्छ, रहन्न कुनै टुंगो हुन्न ।
तसर्थ भविष्यको अन्योललाई चिर्न यो बेला बचतलाई प्राथमिकता दिनुपर्छ । यसका लागि तपाईंले सुरक्षित बचतका साधनहरु जस्तै बैंकको मुद्दति, बैंकले जारी गरेको ऋणपत्र, बीमा पोलिसीआदिमा बचत गर्नुपर्छ ।
बचतका आधारमा बैंक तथा वित्तीय संस्थाहरुले जारी गर्ने क्रेडिट कार्डको प्रयोग गर्ने बानी गर्नुपर्छ । तपाईंले अहिलेसम्म यो सुविधा प्रयोग गर्नु भएको छैन भने आफ्नो आम्दानीको आधारमा यसको माग तपाईंले आफ्नो बैंकसँग गर्न सक्नु हुन्छ । तर यसको प्रयोग आफ्नो आम्दानी र बचतको तुलनामा गर्नुपर्छ ।
आफ्नो आम्दानीको २० देखि २५ प्रतिशतभन्दा धेरै रकम क्रेडिट कार्डबाट खर्च गर्ने बानी यस्तो अन्योलको अवस्थामा गर्नु हुँदैन । यसलाई खर्च व्यवस्थापनको अतिरिक्त साधनकारुपमा मात्र लिनुपर्छ ।
पुँजीबजारमा पहिलो पटक प्रवेश गर्नेका लागि यो उपयुक्त समय होइन । तपाईं पहिलो पटक सेयर तथा कमोडिटी बजारमा प्रवेश गर्न चाहनुहुन्छ भने यो नित्तान्त गलत समय हुनेछ । त्यस्तै कारोबारी बाहेक बचतको आधारमा मौसमी लगानी गर्ने लगानीकर्ताहरुलाई पनि धेरै जोखिम लिने समय होइन ।
यस्ता लगानीकर्ताहरुले विगतको भन्दा ५०-६५ प्रतिशत कम जोखिम लिनुपर्छ । ‘ट्रेन्ड इज ए फ्रेन्ड’ भन्ने सेयर बजार सम्बन्धि अंग्रेजी भनाइको पछि लागेर भविष्यमा आउन सक्ने ट्रयापहरुमा फस्नबाट यस्ता लगानीकर्ताहरु बच्न जरुरी छ ।
यसका साथै यस्तो बेलामा कमाइको वा लगानीको हिसाबले घर जग्गामा लगानी गर्नु निकै प्रतिउत्पादक सावित हुन्छ । पुरातन आधारमा सुनमा लगानी गर्ने यो उपयुक्त समय हो । तर हाललाई यो सुझाव दिनु उचित नहोला ।
एउटा खल्तीको कुरा अर्को खल्तीलाई थाह नपाउने गरी आपतकालीन कोष बनाउन जरुरी छ । यसका लागि आम्दानीको न्यूनतम १० प्रतिशत छुट्याउन सकिन्छ । यसको साथै परिवारका सबैको सदस्यको स्वास्थ्य बीमा गर्नु आजको आवश्यकता हो । यस्तो अनिश्चितता बीच थोरै पैसा स्वास्थ्य बीमामा लगाउन अत्यन्तै जिम्मेवारीयुक्त कदम हुनेछ ।
साथै कर्मचारीहरुमा थोरै लाभको लागि जागिर परिवर्तन गर्ने बानी यो समयमा धेरै प्रतिउत्पादक सावित हुन सक्छ । तसर्थ यसतर्फ पनि विचार पुर्याउनु पर्छ । मन्दीको समयमा दु्रत गतीमा बेरोजगारी बढ्ने हुँदा यस्तो कदम चाल्नु हुन्न भनिएको हो ।
पुनः सेयर बजारको कुरातर्फ । यस्तो समयमा अरु बेला भन्दा धेरै आफ्नो जोखिम बहन क्षमतालाई संकुचित गरेर मात्र लगानी गर्नुपर्छ । बजारको गतीसँग चल्नुपर्छ भन्ने मान्यता शतप्रतिशत सही हुँदाहुँदै पनि यस्तो बेलामा त्यो मान्यतालाई तोड्नु नै उपयुक्त हुन्छ ।
यसका साथै सेयर खरिद गर्दा पनि कम्पनीका सम्पूर्ण वित्तीय विवरण तथा अन्य पक्षहरुको अध्ययन गरेर मात्रै गर्नुपर्छ । सेयर बजारमा नचाहँदा नचाहँदै अनुमानका आधारमा ठूलो जोखिम मोल्ने गरिन्छ । तर यो बेला यस्तो नित्तान्त गलत सावित हुन सक्छ ।
विगतभन्दा पूर्णरुपले विपरीत यसपटक हामी वास्तविक संकटसँग लडिरहेका छौं । जटिल तथा ध्रुविकृत आर्थिक जगतसँग हामी कमजोर आर्थिक प्रतिरक्षा प्रणाली लिएर बढिरहेका छौं ।
ठूला राष्ट्रहरुले यो अस्थिर विश्वव्यापी वातावरणलाई व्यापारका रुपमा प्रयोग गरिरहेका छन्, र गरिरहने छन् । तसर्थ ठूलो देशको छेउमा बसेर यसको सही सदुपयोग गर्न सकियो भने अन्य मुलुकमा जस्तो चरम आर्थिक संकटको सामना नेपालले गर्नु नपर्ला ।
तसर्थ हामीले हाम्रा शुभचिन्तक देशहरुसँग समयमै छलफल गर्नु उचित हुन्छ । यो महामारी कम वा अन्त्य भएपछि सबै देशहरुले विश्वव्यापी व्यापार तथा वाणिज्यलाई सुदृढ पार्नु पर्नेछ । र, आर्थिक हिसाबले चुनौती दिएका देशहरुलाई माथि उठाउन सहयोग गर्नुपर्छ । हामीले त्यसतर्फ समयमा नै विवेक लगाऔं ।