नेपालको १२ नाकाबाट निर्यात शून्य



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १२ वटा नाकाबाट शुन्य निर्यात भएको छ । २४ वटा नाकामध्ये १२ वटा नाकाबाट कुनै पनि सामान निर्यात नभएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

कुनै सामान निर्यात नगरेको नाकामा भद्रपुर, गौर, जलेश्वर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सति, सिराहा, सुन्सरी, तातोपानी, ठाडी छन् ।

नेपालले यी १२ वटा नाकाबाट कुनै पनि वस्तु निर्यात नगरे पनि अन्य नाकाबाट नेपालले भने २ अर्ब ३७ करोड २६ लाख ४२ हजारको सामान आयात गरेको छ । जसमा सबैभन्दा बढी रसुवा नाकाबाट सामान आयात भएको छ । रसुवाबाट मात्रै ९७ करोड ७५ लाख २ हजार रहेको छ ।

त्यसैगरी, सुन्सरीले ३८ करोड ८० लाख, तातोपानीबाट १५ करोड २ लाख, जनकपुरबाट १४ करोड ७४ लाख, गौरबाट १३ करोड ६३ लाख, सिराहाबाट १२ करोड २८ लाख, ठाडीबाट १० करोड ४४ लाख ६३ हजार, महेशपुर ९ करोड ४१ लाख र जलेश्वरबाट ८ करोड ९८ लाख, भद्रपुरबाट ७ करोड ८१ लख, सति नाकाबाट ७ करोड २५ लाखको सामान आयात भएको छ ।

सबैभन्दा बढी निर्यात गर्ने नाका
नेपालले चालु आवको पहिलो महिनामा ९ अर्ब ६२ करोड नेपालको विभिन्न १२ वटा नाकाबाट सामान निर्यात गरेको छ ।

जसमा सबैभन्दा बढी वीरगन्ज नाकाबाट २ अर्ब ७४ करोड १७ लाखको सामान निर्यात भएको छ । त्यसैगरी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ अर्ब ३८ करोड ६१ लाख, विराटनगरबाट २ अर्ब ३२ करोड ५६ लाख, मेचीबाट १ अर्ब ३६ करोड ८९ लाखको सामान निर्यात गरेको छ ।

सबैभन्दा बढी आयात गरेको नाका
नेपालको २४ वटै नाकामध्ये सबैभन्दा बढी निर्यात गरेको वीरगन्ज नाकाले नै आयात पनि सबैभन्दा बढी गरेको छ । वीरगञ्ज नाकाबाट मात्रै २३ अर्ब ६३ करोड ६९ लाखको सामान आयात गरेको छ ।

यसैगरी, भैरहवाबाट १८ अर्ब २७ करोड २ लाख, विराटनगरबाट १० अर्ब ५४ करोेड ८१ लाख, ड्राइपोर्टबाट ९ अर्ब ४३ लाख ७८ लाखको सामान आयात गरेको छ ।
यसैगरी सबैभन्दा कम आयात गर्नेमा राजविराज, सति, भद्रपुर, कन्चनपुर, जलेश्वर, महेशपुर नाका छन् ।


क्लिकमान्डु