अलिबाबापछि फि्ल्पकार्ट पनि नेपाली बजारमा, सस्तोडिलसँग भयो रणनीतिक साझेदारी



काठमाडौं । चिनियाँ इ-कमर्स प्लेटफर्म अलिबाबा नेपाली बजारमा प्रवेश गरेको केही वर्षपछि फि्ल्पकार्ट पनि नेपाली बजारमा आउने भएको छ ।

लामो समयदेखि नेपालमा सञ्चालित भइरहेको सस्तोडिलसँगको रणनीतिक साझेदारीमा नेपाली बजारमा प्रवेश गर्न लागेको हो ।

भारतमा निकै लोकप्रिय भएको फि्ल्पकार्ट नेपाल प्रवेशसँगै नेपाली बजारमा इकमर्सको सम्भावना रहेको देख्न सकिन्छ । अमेरिकी कम्पनी वालमार्टले दुई वर्षअघि फिल्पकार्टमा १६ अर्ब डलर अर्थात् ८१.३ प्रतिशत सेयर खरिद गरेको थियो । फि्ल्पकार्टमा टाइगर म्यानेजमेन्टको ४.७० प्रतिशत, माइक्रोसफ्टको १.३ प्रतिशत लगानी छ ।

४० हजारभन्दा बढी कर्मचारी कार्यरत फि्ल्पकार्टले अघिल्लो वर्ष १ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो । फि्ल्पकार्ट सन् २००७ मा अमेजन कम्पनीमा कार्यरत सचिन बंसल र बिनी बन्सलले शुरु गरेका थिए ।

फि्ल्पकार्टले पहिलो चरणमा ५ हजार सामग्री र विस्तारै १ लाखभन्दा बढी सामग्री नेपाली बजारमा उपलब्ध गराउनेछ ।

फिल्पकार्ट अघि नेपालमा अलिबाबा प्रवेश गरेको थियो । सन् २०१४ मा नेपालमा क्यामु अनलाइन सञ्चालन भएको थियो । जर्मन कम्पनी रकेट इन्टरनेटले क्यामु र पाकिस्तानको दराजलाई मर्ज गरेर दराजको नामबाट सन् २०१६ बाट सञ्चालन गरेको थियो भने दराजको माध्यमबाट अलिबाबा प्रवेश गरेको थियो ।पछिल्लो समय नेपालमा इकमर्स व्यवसायको राम्रो सम्भावना भएकाले स्वदेशीसँगै विदेशी लगानी पनि उसैगरी भित्रिएको छ ।

पछिल्लो समय १० करोड रुपैयाँ लगानीमा ग्यापु अनलाइन सञ्चालनमा आएको छ । लामो समय विदेश बसेका ज्ञानेन्द्र खड्काले चैतमा लकडाउन शुरु भएको ३ दिनमा व्यवासय शुरु गरेका थिए । हालसम्म कम्पनीले २ करोड रुपैयाँभन्दा बढीको कारोबार गरिसकेको छ ।


क्लिकमान्डु