बिग मर्जर गराउन राष्ट्र बैंकको दबाबः प्रतिवद्धता बुझाएका बैंकसँग फेरि प्रगति विवरण मागिँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुला बैंकहरुलाई मर्जरका लागि दबाब दिन थालेको छ । वाणिज्य बैंकहरुलाई यसअघिको मर्जर प्रगाति विवरण माग गर्दै बिग मर्जरको प्रक्रिया शुरु गरेको हो ।

निवर्तमा गर्भनर डा. चिरन्जीवी नेपालले गत आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनुअघि वाणिज्य बैंकलाई मर्जरको प्रतिवद्धता राष्ट्र बैंक बुझाउन निर्देशन दिएका थिए ।

गभर्नरको निर्देशनअनुसार २२ वटा बैंकले मर्जरको प्रतिवद्धता बुझाएका थिए । त्यसपछि गत वर्षको साउनमा राष्ट्र बैंकले प्रतिवद्धता बुझाएका बैंकहरुलाई पुनः मर्जरको प्रगाति विवरण मागेको थियो ।

तर गत वर्ष मौद्रिक नीतिले प्रोत्साहित मर्जर नीति ल्यायो । जसकारण बिग मर्जरमा कुनै दबाब बैंकहरुलाई भएन । सोहीकारण मर्जरको प्रतिवद्धता बुझाएका वाणिज्य बैंकहरुले पनि साना बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरेर सहुलियत लिएका छन् ।

बिग मर्जरमा राष्ट्र बैंकको एक्सनः भदौ २५ भित्र मर्जरको प्रगति बिबरण बुझाउन बैंकहरुलाई निर्देशन

प्रोत्साहित मर्जरमा ठुला बैंकहरु मर्जर नभएपछि चालु आथिक बर्षको मौद्रिक नीति वाणिज्य बैंकको मर्जरमा केन्द्रीत छ ।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा वाणिज्य बैंक आपसमा मर्जर भएमा मात्र प्रोत्साहन तथा सहुलियत दिने घोषणा गरे । साथै राष्ट्र बैंकले एकिकृत निर्देशिका-२०७६ लाई संशोधन गरी क्रस होल्डिङ भएको बैंकलाई मर्जरमा जान निर्देशननै दिने उल्लेख गरिएको छ ।

एकिकृत निर्देशकिामा उल्लेख गरिएका व्यवस्था चालु आव भित्रै कार्यन्यवन गर्नु पर्ने हुँदा वाणिज्य बैंकहरुलाई पुनः मर्जरको प्रगति विवरण माग गर्न लागिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

प्रतिवद्धता बुझाएका बैंकसँग प्रगति विवरण माग्दै राष्ट्र बैंक, कमजोरलाई बलियासँग मर्जमा लगिने

‘पहिले चरणमा अहिलेसम्म बैंकहरुले हालसम्म मर्जरको लागि के कस्ता काम कारवाही गरेका छन्, त्यसको विवरण माग गरिन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘प्रत्येक वाणिज्य बैंकलाई पत्र पठाएर विवरण पेस गर्न निर्देशन दिने तयारी छ ।’

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पुरानै प्रगति विवरणमा थप गरी विवरण असोज मसान्तसम्म पेस गर्नु पर्ने स्रोतको भनाइ छ । पत्र भने एकदुई दिनमै पठाइने स्रोतले जानकारी दियो ।

कृषि विकास र नेपाल बैंक पनि मर्जरमा जान तयार, २२ वटाले राष्ट्र बैंकमा पठाए प्रगति विवरण

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् साथै एकिकृत निर्देशिका २०७६ संशोधन तथा परिमार्जजन गरी एकाघर परिवारको सेयर स्वामित्तव भएका संस्थालाई मर्जर गराउने उल्लेख गरेको छ । जसअनुसार राष्ट्र बैंकले असोज मसान्तसम्म प्रोत्साहित मर्जरमा बैंकलाई समय दिने बताइएको छ ।

असोज मसान्तसम्म राष्ट्र बैंकले क्रस होल्डिङको विस्तृत अध्ययन गर्ने राष्ट्र बैंक नियमन विभागका एक अधिकारीले बताए ।

‘क्रस होल्डिङ भएका बैंकहरु पनि असोज मसान्तसम्म अन्य बैंकसँग स्वेच्छिक मर्जरमा जान सक्छन्,’ ती अधिकारीले भने, ‘त्यसपछि भने क्रस होल्डिङ देखिएका बैंकलाई राष्ट्र बैंकले नै मर्जरमा जान नाम तोक्नेछ ।’

राष्ट्र बैंकले अहिले ०.५ प्रतिशतसम्मको सेयर स्वामित्वको विवरण बैंक तथा वित्तीय संस्थाहरुसँग माग गरेको छ । कति प्रतिशतसम्मलाई क्रस होल्डिङ मानि मार्जरमा नाम तोक्ने छलफल हुने उनको भनाइ छ ।


पुष्प दुलाल