कृषि विकास र नेपाल बैंक पनि मर्जरमा जान तयार, २२ वटाले राष्ट्र बैंकमा पठाए प्रगति विवरण



काठमाडौं । सरकारी लगानीका कृषि विकास बैंक र नेपाल बैंक पनि मर्जरमा जान तयार भएका छन् । यी दुई सरकारी बैंकसहित यसअघि मर्जरको प्रतिवद्धता नबुझाएका निजी क्षेत्रका नविल र एभरेष्ट बैंक पनि मर्जरमा जान सहमत भएका हुन् ।

यी ४ बैंकसहित २२ वटा बैंकले राष्ट्र बैंकसमक्ष मर्जरको प्रगति विवरण पेश गरेका छन् ।

राष्ट्र बैंकले भदौ दोस्रो साता २८ वटै बैंकहरुलाई पत्र पठाउँदै मर्जरको प्रगति विवरण १० दिनभित्र राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएको थियो । राष्ट्र बैंक मर्जरको फलोअपमा लागेपछि अहिलेसम्म २२ बैंकले त्यसको जवाफ पठाएको राष्ट्र बैंकका सह-प्रवक्ता गोविन्द नागिलाले जानकारी दिए ।

बिग मर्जरमा राष्ट्र बैंकको एक्सनः भदौ २५ भित्र मर्जरको प्रगति बिबरण बुझाउन बैंकहरुलाई निर्देशन

‘मौद्रिक नीति अघि बैंकहरुले राष्ट्र बैंकको निर्देशन बमोजिम मर्जरको प्रतिवद्धता बुझाएका थिए, उक्त प्रतिवद्धताअनुसार मर्जरको के कस्तो प्रगति भइरहेको छ भनेर हामीले बैंकहरुलाई प्रगति बुझाउन निर्देशन दिएका थियौं,’ नागिलाले क्लिकमाण्डूसँग भने, ‘अहिलेसम्म २२ बैंकले जवाफ पठाएका छन् ।’

सह-प्रवक्ता नागिलाका अनुसार कृषि विकास, नेपाल, नविल, एभरेष्ट, एसबिआई, हिमालयन, एनआइसी एशिया, माछापुच्छ्रे, लक्ष्मी, प्राइम, एनएमबि, जनता, सानिमा, कुमारी, ग्लोबल आइएमइ, सिटिजन्स, सनराइज, मेगा, सिभिल, सेञ्चुरी, बीओके र एनबी बैंकले राष्ट्र बैंक समक्ष मर्जरको प्रगति विवरण पेश गरेका हुन् ।

‘बैंकहरुले राष्ट्र बैंकमा बुझाएको मर्जरको प्रतिवद्धतापत्र अनुसार काम भइरहेको छ कि छैन भनेर प्रगति विवरण माग गरिएको हो,’ निरौलाले भने, ‘प्रतिवद्धताअनुसार उहाँहरुले काम गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

राष्ट्र बैंकका अनुसार अहिलेसम्म स्टान्डर्ड चार्टड, नेपाल इन्भेष्टमेन्ट, प्रभु , सिद्धार्थ र एनसीसी बैंकले राष्ट्र बैंक समक्ष प्रगति विवरण बुझाएका छैनन् ।

यसअघि मर्जरमा जाने प्रतिवद्धता बैंकहरुले पनि यसपटक भने उपयुक्त जोडी खोज्ने काम भइरहेको भन्दै राष्ट्र बैंकमा पत्र पठाएका छन् ।

यसअघि नै मर्जरको प्रतिवद्धता बुझाएर कमिटि नै गठन गरिसकेका बैंकहरुले भने केही संस्थाहरुसँग मर्जरका लागि छलफल गरेको तर ठोस निष्कर्श केही पनि ननिस्केको जवाफ राष्ट्र बैंकलाई दिएका छन् ।

बिग मर्जर बहस: भारतबाट सिकेर कृषि विकास र नेपाल बैंकको मर्ज गराउने कि !

मौद्रिक नीतिले मर्जरमा जानका लागि बैंकहरुलाई आकर्षक प्याकेज नल्याएको भन्दै बैंकहरु चुपचाप बसेका थिए । प्रगति विवरण मागेर दबाब सिर्जना गरिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘अहिलेसम्म हामीले उहाँ (बैंक)हरुलाई स्वतस्फूर्तरुपमा मर्जरका थप काम गर्न छाडिदिएका हौं, उहाँहरु सक्रिय नदेखेपछि हामीले सम्झाइदिनु परेको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘मर्जरमा जान्छौं भनेर बोर्डबाट निर्णय गराएर राष्ट्र बैंकमा बुझाउने अनि अहिले चुप लागेर बस्ने बैंकलाई हामी छाड्दैनौं ।’

राष्ट्र बैंकले फलोअप शुरु गरेपछि बजारमा फेरि मर्जरको माहौल तातिएको छ ।

संचालक समितिले नै निर्णय गरेर पठाएको प्रतिबद्दता बैंकहरुले कार्यान्वयन गर्छन् भन्नेमा राष्ट्र बैंक विश्वस्त रहेको प्रवक्ता लक्ष्मी प्रपन्न निरौला बताउँछन् ।

‘बैंकहरुले राष्ट्र बैंकमा बुझाएको मर्जरको प्रतिवद्धतापत्र अनुसार काम भइरहेको छ कि छैन भनेर प्रगति विवरण माग गरिएको हो,’ निरौलाले भने, ‘प्रतिवद्धताअनुसार उहाँहरुले काम गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’


पुष्प दुलाल