कोरोनाको कहरः बीमा कम्पनीका २२ वटा शाखा बन्द, ३३० कर्मचारीको जागिर चैट !



काठमाडौं । कोरोना भाइसरको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आर्थिक क्रियाकलाप ठप्प भए । जसले गर्दा व्यापार व्यवसायसँगै सो क्षेत्रमा आबद्ध कर्मचारीमा पनि परेको छ ।

जसकारण कोरोनाको बाहनामा रोजगारदाता कम्पनी, संघसंस्था तथा प्रतिष्ठानहरुले शाखा कार्यालय र कर्मचारी कटौती शुरु गरेका छन् । जसकारण पनि मुलुकमा बेरोजगारीको संख्या थप बढिरहेको छ ।

जेठ मसान्तसम्ममा ३९ वटा बीमा कम्पनीमध्ये २ हजार ७५२ वटा शाखा कार्यालयमा कुल १० हजार २३८ जना कर्मचारी कार्यरत छन् । जसमध्ये जीवन बीमामा १९ कम्पनीका १ हजार ८५४ मा ५ हजार ४४८ जना कर्मचारी कार्यरत छन् । त्यसैगरी निर्जीवन बीमातर्फ ८९८ शाखामा ४ हजार ७९० जना कर्मचारी कार्यरत छन् ।

समितिको सहमतिमै शाखा बन्द गर्दै बीमा कम्पनीहरु

लकडाउनका कारण बीमा व्यवसाय क्षेत्र विस्तार हुन सकेको छैन । बीमा कम्पनीले नयाँ व्यवसाय गर्ने सिजनमा लकडाउन भएपछि यस वर्षको बिजनेस पूरै खस्किएको बीमा कम्पनीका सीइओहरु बताउँछन् ।

‘कम्पनीहरुले बिजनेस गर्ने सिजनको समयमा लकडाउन भयो’, एक बीमा कम्पनीका सीइओले क्लिकमाण्डूसँग भने, ‘व्यवसाय वृद्धि गर्नपर्छ भन्ने उद्देश्यले खोलिएका शाखा र थपिएका कर्मचारी कटौती नगरेसम्म कम्पनीहरु सञ्चालन खर्च मारमा १/२ वर्ष थला पर्छन् ।’

लकडाउनअघि नै प्रक्रियामा रहेकाको हकमा भने शाखा विस्तार र नयाँ कर्मचारी भर्ना गरिएको उनले बताए । उनका अनुसार यस अवधिमा प्रायः कम्पनीले बीमा समितिसँग अनुमति लिएर शाखा बन्द र कर्मचारी कटौतीमा गरी सञ्चालन खर्च घटाएका हुन् ।

बैंकमा कोरोनाः स्थायी कर्मचारीलाई भीआरएस र बढुवा रोक्का, करारका कर्मचारीको जागिर चैट !

समितिले पनि शाखा बन्द गराउन अनुमति दिएको स्वीकार गरिसकेको छ । अप्ठ्यारामा परेका कम्पनीलाई शाखा बन्द गर्ने अनुमित दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालले जानकारी दिए ।

‘लकडाउनका कारण केही कम्पनीले अप्ठ्यारो पर्यो भनेर शाखा बन्द गर्ने सहजिकरणका लागि समितिमा आग्रह गरेका थिए,’ पौड्यालले क्लिकमाण्डूसँग भने ‘सञ्चालन खर्चमा समस्या परेको भए आवश्यकताअनुसार कम्पनीले शाखा बन्द गर्न सक्छन् ।’

सम्भावयता र आवश्यकता हेरेर शाखा बन्द गर्नका लागि समितिमा कम्पनीहरुले निवेदन दिएमा स्वीकृत हुने तर लघु बीमाअन्तर्गत खोलिएका शाखा भने बन्द गराउन नपाइने उनले बताए ।

यसबीच जीवन र निर्जीवन बीमा कम्पनीले मात्रै जेठ मसान्तसम्म ३३० जना कर्मचारी कटौती गरिसकेका छन् भने २२ वटा शाखा बन्द गराएका छन् ।

निर्जीवन बीमा कम्पनी

बीमा समितिले उपलब्ध गराएको तथ्यांकमा लकडाउनको ३ महिनामा निर्जीवन बीमा कम्पनीले १८ वटा शाखा बन्द गराएका छन् भने २०७ जना कर्मचारी कटौती गरेका छन् । यद्यपि पहिलेदेखि नै स्थापनाको प्रक्रियामा रहेका ३६ वटा शाखा थप गरेका छन् भने र आवेदन लिइसकेका १०९ जना कर्मचारी पनि थप गरेका छन् ।

लकडाउनको अवधि प्रभु, नेशलन र सानिमा जनरल इन्स्योरेन्सले शाखा बन्द तथा कर्मचारी भने कटौती गरेको छैनन् । कोरोनाको कारणले गर्दा अर्थतन्त्र नै खस्किएको हुँदा नर्मल अवस्थामा व्यवसाय बढाउन प्रोयोजनमा मात्र खोलिएका शाखा बन्द गराइएको नेपाल बिमक संघका महासचिव चंखी क्षेत्रीले बताए ।

‘बैंकको शाखा गएको ठाँउमा बीमा कम्पनीहरु पनि व्यवसाय गर्ने गएका थिए,’ क्षेत्रीले क्लिकमाण्डूसँग भने ‘अहिले ती बैंकको शाखा नै बन्द हुने अवस्थामा छन् ।’

ग्रामीण क्षेत्रमा व्यवसाय नभएका तथा सहरी क्षेत्रमा एकै ठाँउमा धेरै भएका शाखा बन्द गराएपछि लघुबीमा अन्तर्गत खोलिएका बन्द नगर्ने उनले बताए । निर्जीवन बीमा कम्पनीहरुले लकडाउनको समयमा कम्पनीहरु बन्द हुँदा करारको कर्मचारीहरुको नविकरण नगराएको क्षेत्री बताउँछन् ।

‘अब लकडाउन केही सहज भएको छ, शाखा बन्द गराए पनि सञ्चालन खर्च घटाउनलाई नै कर्मचारी भने कटौती कम्पनीहरुले गर्दैनन् ।’

कोरोनाको कहर शुरु हुनु पहिलेदेखि नै बीमा कम्पनीहरुले कार्यसम्पादनका आधारमा कर्मचारी कटौती र नयाँ नियुक्ती गर्दै आएका थिए । तर कर्मचारी कटौती लकडाउनका कारण मात्रै नभएको उनको भनाइ छ ।

निर्जीवन बीमामा कर्मचारी कटौती र शाखाको अवस्था

शिखर इन्स्योरेन्सः फागुन मसान्तसम्म ९५ वटा शाखा कार्यालयमा ६०२ जना कर्मचारी कार्यरत थिए । कम्पनीले बैशाख महिनामा २ जना कर्मचारी घटेका छन् । २ जनाले राजीनामा दिएको कम्पनीले जनाएको छ ।  हाल ६ सय जना कर्मचारी छन् ।

सगरमाथा इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ७७ वटा शाखा कार्यालयमा ३६४ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा ६ जना कर्मचारी थप गरेको थियो भने बैशाख महिनामा ७ जना कर्मचारी कटौती गरेको छ । हाल ३६३ जना कर्मचारी छन् ।

नेको इन्स्योरेन्सः कम्पनीको फागुन मसान्तसम्म ५६ शाखा कार्यालयमा ४०७ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैतमा एउटा शाखा र बैशाख महिनामा ३ वटा गरी ४ वटा शाखा कार्यालय थप गरेको छ । त्यसैगरी कर्मचारी भने चैत महिनामा ५ जना र जेठ महिनामा १८ जना गरी २३ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा ३८४ जना कर्मचारी छन् ।

सिद्धार्थ इन्स्योरेन्सः कम्पनीका फागुन मसान्तसम्म ७९ वटा शाखा कार्यालयमा ३४९ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा ५ जना नयाँ कर्मचारी थप गरेको थियो । तर जेठ महिनामा भने १ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा ३५३ जना कर्मचारी कार्यरत छन् ।

एनएलजी इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ८० वटा शाखा कार्यालयमा ३७० जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा ५ जना नयाँ कर्मचारी थप गरे पनि जेठ महिनामा ५ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा ३७० जना कर्मचारी कार्यरत छन् ।

प्रिमियर इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ६५ वटा शाखा कार्यालयमा ३२५ जना कर्मचारी कार्यरत थिए । जसमा बैशाख महिनामा २ जना र जेठ महिनामा ११ जना गरी जम्मा १३ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा ३१२ जना कर्मचारी कार्यरत छन् ।

प्रभु इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ४४ वटा शाखा कार्यालयमा १८२ जना कार्मचारी कार्यरत थिए । कम्पनीले बैशाख महिनामा ३ जना र जेठ महिनामा ३ जना गरी ६ जना कर्मचारी थप गरेको छ । हाल कम्पनीमा १८८ जना कर्मचारी कार्यरत छन् ।

आइएमई जनरल इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ४८ वटा शाखा कार्यालयमा २८८ जना कर्मचारी कार्यरत थिए । कम्पनीले बैशाख महिनामा ४ जना र जेठ महिनामा १३ जना गरी कुल १७ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा २७१ जना कर्मचारी छन् ।

हिमालयन जनरल इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म २८ वटा शाखा कार्यालयमा १८० जना कर्मचारी कार्यरत थिए । कम्पनीले जेठ महिनामा २ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा १७८ जना कर्मचारी कार्यरत छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ४६ वटा शाखा कार्यालयमा २४३ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा ४ जना र बैशाख महिनामा ३ जना कर्मचारी कटौती गरेको छ । साथै जेठ महिनामा एउटा शाखा कार्यालय बन्द गरेको छ भने पुन ३ जना कर्मचारी थप गरेको छ । हाल कम्पनीको ४५ वटा शाखामा २३९ जना कर्मचारी कार्यरत छन् ।

नेपाल इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ४९ वटा शाखामा २८६ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा २ जना र जेठ महिनामा ७ जना गरी ९ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा २७७ जना कर्मचारी कार्यरत छन् ।

प्रुडेन्सियल इन्स्योरेन्सः कम्पनीमा गत फागन मसान्तसम्म ३७ वटा शाखा कार्यालयमा २३२ जना कर्मचारी कार्यरत थिए । कम्पनीले जेठ महिनामा २० जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा २१२ जना कर्मचारी कार्यरत छन् ।

ओरियन्टल इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म १४ वटा शाखामा ९९ जना कर्मचारी कार्यरत थिए । कम्पनीले जेठ महिनामा १ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा ९८ जना कर्मचारी छन् ।

एभरेष्ट इन्स्योरेन्सः कम्पनीमा गत फागुन मसान्तसम्म ३९ वटा शाखा कार्यालयमा १९६ वटा कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा ८ वटा शाखा कार्यालय बन्द गरेको छ । कम्पनीले चैत महिनामा ५ जना, बैशाखमा ३ जना र जेठ महिनामा १७ जना गरी २५ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीको ३१ वटा शाखा कार्यालयमा १७१ जना कर्मचारी कार्यरत छन् ।

अजोड इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ३१ वटा शाखा कार्यालयमा १९१ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा ८ वटा शाखा कार्यालय र ३५ जना कर्मचारी थप गरेको थियो । तर कम्पनीले बैशाखमा २ जना र जेठमा १ जना गरी ३ जना कर्मचारी कटौती गरेको छ । यसरी हाल ३९ वटा शाखामा २२३ जना कर्मचारी छन् ।

युनाइटेड इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तमा ३१ वटा शाखा कार्यालयमा २०३ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा ४ जना र बैशाख महिनामा १ जना गरी ५ जना कर्मचारी थप गरेको थियो । तर कम्पनीले जेठ महिनामा भने ४ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा २०४ जना कर्मचारी कार्यरत छन् ।

जनरल इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ५० वटा शाखा कार्यालयमा १७२ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा ४ वटा शाखा बन्द गरेको थियो । तर शाखा बन्द गरेपनि सो महिना ६७ जना कर्मचारी थप गरेको थियो । बैशाख महिनामा भने कम्पनीले २ वटा शाखा कार्यालय थप गरेको छ । तर सो महिनामा ६८ जना कर्मचारी कटौती गरको छ ।

कम्पनीले जेठ महिना ५ वटा शाखा बन्द गरेर १ जना कर्मचारी थप गरेको छ । फागुन मसान्तदेखि जेठ मसान्तसम्म ९ वटा शाखा बन्द र २ वटा थप गरेको छ । सो अवधिमा कम्पनीले ६८ जना कर्मचारी थप गरी ६८ जना कर्मचारी नै कटौती गरको हो । हाल कम्पनीको ४३ वटा शाखा कार्यालयमा १७२ जना कर्मचारी कार्यरत छन् ।

सानिमा जनरल इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म १८ वटा शाखा कार्यालयमा ९९ जना कर्मचारी कार्यरत थिए । कम्पनीले जेठ महिनामा १ वटा शाखा कार्यालय र ३ जना कर्मचारी थप गरेको छ । हाल कम्पनीको १९ वटा शाखा कार्यालयमा १०२ जना कर्मचारी कार्यरत छन् ।

जीवन बीमातर्फ

सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीका लकडाउनको ३ महिनामा ४ वटा शाखा बन्द भएका छन् भने १२३ जना कर्मचारी कटौती भएका छन् । तर यसैबीच १७ वटा शाखा कार्यालय र २६ जना कर्मचारी थप गरेका छन् ।

यसअवधिमा रिलाइवल लाइफ, एलआइसी, मेट लाइफ, सन नेपाल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले शाखा बन्द तथा कर्मचारी कटौती गरेका छ्रैनन् ।

कम्पनीहरुले घाटामा गएका वा व्यवसाय बढाउन नसकेको शाखाहरु कोरोनाअघि पनि बन्द गराउने गरेको नेपाल जीवन बिमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बताए ।

‘भूकम्पको समयबाट नै व्यवसाय नभएका शाखा कम्पनीले आवश्यकता अनुसार बन्द गराउँदै आएका थिए,’ अध्यक्ष पाण्डेले क्लिकमाण्डूसँग भने ‘कोरोनाभन्दा अघिबाटै भएको व्यवस्था अन्तर्गत कम्पनीहरु अहिले आवश्यकता हेरेर समितिबाट स्वीकृति लिएर शाखा बन्द गराइरहेका हुन् ।’

धेरै कम्पनीको नजिक भएका शाखा वा ग्रामीण क्षेत्रमा व्यवसाय नभएका शाखालाई सेवा स्थान्तरण गर्ने व्यवस्था मिलाएर समितिबाट स्वीकृति लिएर अहिले शाखा बन्द वा मर्ज गराएको उनले जानकारी दिए । शाखा बन्द गराउँदा त्यहाँका केही कर्मचारी कटौती हुने उनले भनाइ छ ।

‘नेटवर्क र व्यवसाय बढाउने उद्देश्यले पछिल्लो समय केही कम्पनीले तीव्ररुपमा शाखा विस्तार गरे,’ अध्यक्ष पाण्डे भन्छन् ‘शाखा स्थापना गरिएको थियो त्यो उद्देश्य पूरा भएन वा महिनौसम्म शाखा घाटामा नै गएको अवस्थमा शाखा बन्द गराउनु नै विकल्प हुन्छ ।’

शाखा बन्द वा मर्ज कम्पनी स्वयमको इच्छाले मात्र नभएर आवश्यकता अनुसार कम्पनी व्यवस्थापन, बोर्डले प्रस्ताव गरेपछि समितिले स्वीकृति दिएपछि मात्र गराउन सकिने उनले जानकारी दिए ।

जीवन बीमा कर्मचारी कटौती र शाखाको अवस्था

नेपाल लाइफ इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तमा १९६ वटा शाखा कार्यालयमा ६०९ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिना ३ जना कर्मचारी थप गरको थियो तर जेठ महिनामा आइपुग्दा कम्पनीले ३ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा ६०९ जना कर्मचारी कार्यरत छन् ।

राष्ट्रिय बीमा संस्थानः संस्थानमा फागुन मसान्तसम्म १४ वटा शाखा कार्यालयमा १३९ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिना ८ जना र जेठ महिनामा १८ जना गरी २६ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा ११३ जना कर्मचारी कार्यरत छन् ।

नेशनल लाइफ इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म १०० वटा शाखा कार्यालयमा ३६१ कर्मचारी कार्यरत थिए । कम्पनीले जेठ महिनामा २ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा ३५९ जना कर्मचारी कार्यरत छन् ।

युनियन लाइफ इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म १७८ वटा शाखा कार्यालयमा ३८७ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा ६ जना र बैशाख महिनामा ७ जना गरी १३ जना कर्मचारी थप गरेको छ भने जेठ महिनामा २ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा ३९८ जना कर्मचारी कार्यरत छन् ।

एशियन लाइफ इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तमा १३१ वटा शाखा कार्यालयमा ४३६ जना कर्मचारी कार्यरत थिए । कम्पनीले बैशाख महिना ६ वटा शाखा थप गरेको छ । साथै बैशाख महिनामा २ जना, जेठ महिनामा ३ जना गरी ५ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा १३७ वटा शाखामा ४३१ जना कर्मचारी कार्यरत छन् ।

सुर्य लाइफ इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ९४ वटा शाखा कार्यालयमा २९३ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा १ जना कर्मचारी थप गरेको छ । साथै कम्पनीले जेठ महिनामा १ वटा शाखा कार्यालय र ४ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीको ९३ वटा शाखा कार्यालयमा २९० जना कर्मचारी कार्यरत छन् ।

प्राइम लाइफ इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म १२७ वटा शाखा कार्यालयमा ३६७ जना कर्मचारी कार्यरत थिए । कम्पनीले जेठ महिनामा १२ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा ३५५ जना कर्मचारी कार्यरत छन् ।

गुराँस लाइफ इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ६८ वटा शाखा कार्यालयमा २१४ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा १० शाखा कार्यलय थप गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ११६ वटा शाखा कार्यालयमा ३६८ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा १ वटा शाखा थप गरेको छ । तर सोही महिनामा नै कम्पनीले ६ जना कर्मचारी कटौती गरेको छ ।

बैशाख महिनामा कम्पनीले १ जना कर्मचारी थप गरेको छ भने जेठ महिनामा ११ जना कर्मचारी कटौती गरेको छ । यसरी कम्पनीले ३ महिनाको अवधिमा १ वटा शाखा र १ जना कर्मचारी थप गरेको छ भने, १७ जना कर्मचारी कटौती गरेको छ । यसरी हाल ११७ वटा शाखामा ३५२ जना कर्मचारी कार्यरत छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ११३ वटा शाखा कार्यालयमा २३६ जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा ४ जना, बैशाख महिनामा २ जना गरी ६ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा २३० जना कर्मचारी कार्यरत छन् ।

आइएमई लाइफ इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तमा १०६ शाखा कार्यालयमा २५९ जना कर्मचारी कार्यरत थिए । कम्पनीले जेठ महिनामा ३ वटा शाखा कार्यालय बन्द गरेको छ भने सोही महिनामा २६ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीको १०३ वटा शाखा कार्यालयमा २३३ जना कर्मचारी कार्यरत छन् ।

रिलाइन्स लाइफ इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म १०० वटा शाखा कार्यालयमा २२० जना कर्मचारी कार्यरत थिए । कम्पनीले बैशाख महिनामा ३ जना कर्मचारी थप गरेको छ । तर कम्पनीले जेठ महिनामा ३ जना नै कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा २२० जना कर्मचारी कार्यरत छन् ।

सानिमा लाइफ इन्स्योरेन्सः कम्पनीमा गत फागुन मसान्तसम्म ८३ वटा शाखा कार्यालयमा १६२ जना कर्मचारी कार्यरत थिए । कम्पनीले जेठ महिनामा ११ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनी १५१ जना कर्मचारी कार्यरत छन् ।

प्रभु लाइफ इन्स्योरेन्सः कम्पनीमा फागुन मसान्तसम्म ७५ वटा शाखा कार्यालयमा २६० जना कर्मचारी कार्यरत थिए । कम्पनीले चैत महिनामा १ जना कर्मचारी थप गरेको छ । जेठ महिनामा भने कम्पनीले २ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा २५९ जना कर्मचारी कार्यरत छन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सः गत फागुन मसान्तसम्म ६० वटा शाखा कार्यलयमा २०५ जना कर्मचारी कार्यरत थिए । कम्पनीले बैशाख महिनामा ४ जना कर्मचारी थप गरेको छ । जेठ महिनामा भने कम्पनीले ४ जना कर्मचारी कटौती गरेको छ । हाल कम्पनीमा २०५ जना कर्मचारी कार्यरत छन् ।


पुष्प दुलाल