कोरोना कहरः बैंकहरुले शाखा बन्द गर्न थाले, एनआइसी एशियाले घरधनीलाई लेख्यो यस्तो पत्र



काठमाडौं । कोरोनाका कारण आम्दानी खुम्चिएपछि बैंक तथा वित्तीय संस्थाहरु पनि आत्तिएका छन् । खर्च घटाउने रणनीतिमा लागेका बैंकहरुले कर्मचारी कटौति, शाखा बन्द र कर्मचारीको बढुवा रोक्न थालेका छन् ।

शाखा मर्ज गराएर खर्च घटाउने बैंकहरुको रणनीति, राष्ट्र बैंक भन्छ- खुलिसकेका शाखा हटाउन मिल्दैन

हरेक कुरामा सुपरफास्ट रहेको एनआइसी एशिया बैंक खर्च घटाउने मामिलामा पनि सबैभन्दा अगाडि देखिएको छ ।

हरेक सूचकमा नम्बर वान बन्न यसअघि आक्रमकरुपमा शाखा विस्तार गरेर सबैभन्दा धेरै शाखा भएको बैंक बन्न सफल एनआइसी एशियाका लागि अहिले तीनै शाखाहरु घाँडो बनेका छन् ।

बैंकले धमाधम शाखा बन्द गर्न थालेको छ । यसैबीच बैंकले काठमाडौं महानगरपालिका वडा नंं. १६ मा रहेको आफ्नो शाखा बन्द गर्ने निर्णय गरेको भन्दै घरधनीलाई पठाएको पत्र क्लिकमाण्डूलाई प्राप्त भएको छ ।

बैंकमा कोरोनाः स्थायी कर्मचारीलाई भीआरएस र बढुवा रोक्का, करारका कर्मचारीको जागिर चैट !

बैंकले यही असार १ गते शाखा रहेको घरको घरधनीलाई पत्राचार गर्दै आगामी मंसिर ३० गतेदेखि घर खाली गर्ने जानकारी गराएको हो ।

बैंकका सामान्य प्रशासन, परियोजना विकास तथा मानव संशाधन विभागका प्रमुख कैलाश गौतमले घरधनीलाई पत्र लेख्दै यस्तो जानकारी गराएका हुन् ।

बैंक र घरधनीबीच २०७५ जेठ २१ गते घरबहाल सम्झौता भएको थियो । सम्झौतापत्रको बुँदा नं. १२ को ब्यवस्था बमोजिम बैंकले ६ महिनाअघि घरधनीलाई घर खाली गरिदिने जानकारी गराएको हो ।

कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको असरलाई मध्यनजर गर्दै उक्त शाखा अन्यत्र स्थान्तरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।

एनआइसी एशिया देशभर ३१९ शाखा कार्यालय, ४५४ एटीएम, १०८ एक्सटेन्सन काउन्टर एवं ६० वटा शाखारहित बैंकिङ बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । बैंकका २१ लाख ग्राहक छन् ।


पुष्प दुलाल