शाखा मर्ज गराएर खर्च घटाउने बैंकहरुको रणनीति, राष्ट्र बैंक भन्छ- खुलिसकेका शाखा हटाउन मिल्दैन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले खर्च घटाउने नयाँ रणनीति अपनाएका छन् । कोरोना भाइरसका कारण आम्दानी खुम्चिएपछि बैंक तथा वित्तीय संस्थाहरुले खर्च घटाउन खोजेका हुन् ।

कोरोना भाइरसकोे नियन्त्रण र रोकथामका सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरी असार १ गतेबाट लकडाउन केही खुकुलो बनाएको छ । लकडाउनको कारण आर्थिक गतिविधि प्राय ठप्प छन् । जसकारण सबै क्षेत्रका व्यवसायसँगै बैंकिङ क्षेत्रको व्यवसायमा पनि ह्रास आएको छ ।

कोरोनाअघि व्यवसाय विस्तारको होडमा तीव्रगतिमा शाखा विस्तार गरेका बैंकहरुले कोरोनाले व्यवसाय आर्थिक क्रियाकलाप सुस्ताएसँगै शाखा घटाउने माग राष्ट्र बैंकमा राखेका छन् ।

आमागी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पठाउँदै अनावश्यक शाखा मर्जर गर्न अनुमति दिन बैंकहरुले सहजिकरण गर्न माग गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘मौद्रिक नीतिमा सुझाव पठाउँदै बैंकर्स संघहरुबाट शाखा मर्जरको पनि माग राखेका छन्,’ भट्टले क्लिकमाण्डूसँग भने ‘बैंकका शाखा मर्जरबारे आगामी मौद्रिक नीतिमा कस्तो व्यवस्था गर्ने राष्ट्र बैंकमा कुनै प्रकारको छलफल भएको छैन ।’
एउटै बैंकका शाखाले सेवा दिनसक्ने शाखा पहिचान गरी त्यस्ता क्षेत्रहरुमा भएका एकै बैंकका शाखा कार्यालय मर्ज गर्ने पाउनु पर्ने माग बैंकहरुले राखेका उनले जानकारी दिए ।

‘अहिलेको अल्पकालिन असहज परिस्थितिलाई हेरेरमात्र खुलिसकेका शाखा बन्द गर्नु उचित हुँदैन,’ उनले भने ‘भोलिको सामान्य अवस्था हुँदा आर्थिक क्रियाकलाप विस्तार गर्नुपर्ने हुन्छ, त्यो बेलामा बैंकको व्यवसाय पहिलेको अवस्थामा नै आउँछ ।’

सरकारले आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । हुँदा सोहीअनुसारको आर्थिक गतिविधिले तीव्रता अबको दिनमा लिने हुँदा बैंकले अहिले खुलिसकको शाखा मर्ज गराउनु उचित नभएको उनको तर्क छ ।

वाणिज्य बैंकका शाखा नपुगेका स्थानीय तहमा चालु आवमा नै कसरी पुर्याउने छलफल भएपनि खुलिसकेको शाखा बन्द गराउनेमा नीतिगत व्यवस्थाको लागि हालसम्म कुनै छलफल नभएको उनले जानकारी दिए ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको बैसाख मसान्तसम्म प्रदेश २ र प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छन् । प्रदेश २ मा १३६ र प्रदेश ५ का १०९ स्थानीय तहमा नै वाणिज्य बैंकका शाखा गरी जम्मा बैशाख मसान्तसम्म वाणिज्य बैंकको ४ हजार २१९ वटा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

हालसम्म वाणिज्य, विकास, वित्त र लघुवित्त गरी जम्मा कुल ९ हजार ६ सय ९५ बैंक तथा वित्तीय संस्थाको संख्या र शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।

सञ्चालनमा आइसकेको बैंक तथा वित्तीय संस्थाको शाखा बन्द गराउन सहज नभएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।
‘कोभिडको २/३ महिनाको असरको कारणले आज शाखा बन्द गर्छु भनेर भोलि परिस्थिति सामान्य हुँदा फेरी त्यही ठाँउमा खोल्छु भन्दै अनुमति माग्ने हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने ‘शाखा खोल्न अनुमति सहज पाएजस्तो शाखा बन्द गर्न अनुमति राष्ट्र बैंकले सहजै दिँदैन ।’

बैंकहरुलाई राष्ट्र बैंकले कोरोनाको असर र आगामी वर्षको व्यवसायीक योजनाको प्रतिवेदन माग गरको र त्यो अध्ययन नगरी राष्ट्र बैंकले शाखा बन्द गर्न प्रोत्साहित नगर्ने उनले बताए ।

‘खुलिसकेको शाखाले जनतालाई सेवा दिन शुरु गरिसककेका हुन्छन्, त्यो सेवा त अवरुद्ध हुन भएन, खोलिसकेको शाखा बन्द हुँदा बैंक प्रतिको जनताको विस्वास घट्छ ।’ राष्ट्र बैंकका ती उच्च अधिकारीले भने ।

यता बैंकर्सहरु भने ग्रामिण भेगमा पुगेर जनतालाई बैंकिङ सेवा दिन तयार भएको तर सहरीभेगका बढी भएको शाखा बन्द गर्न पाउनु पर्ने बताउछन् ।

कोरोना गर्दा चौतर्फी व्यापार व्यवसायमा असर गरेको हुँदा बजारी क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन खर्च घटाउन शाखा बन्द गर्न सहजिकरण गर्न राष्ट्र बैंकलाई माग राखेको नेपाल बैंकर्स संघका सीइओ अनिल शर्माले बताए ।

‘मर्जर तथा प्राप्तिमा सहभागी भएका बैंक तथा वित्तीय संस्थाहरुको शाखा एउटै क्षेत्रमा दोहोरो परेका छन्,’ उनले क्लिकमाण्डूसँग भने ‘दाहोरो शाखा र विभिन्न बैंकको एउटै क्षेत्र रहेका शाखा घटाउन अनुमति दिन राष्ट्र बैंकमा सुझाव दिइएको हो ।’
सहरी भेगका सानो व्यवसायीक क्षेत्रमा पनि धेरै बैंक तथा वित्तीय संस्थाहरुको शाखा स्थापना भएका हुँदा त्यस्ता शाखा बन्द गराएर खर्च घटाउन सकिने उनले बताए ।

संघले कोरोनाले सिर्जना गरको असहज परिस्थितिमा बैंकको खर्च कसरी घटाउन सकिन्छ त्यसको अध्ययन गरिरहेको र त्यसमा आवश्यकताभन्दा बढी शाखा बन्द गराउने प्रस्ताव राष्ट्र बैंकमा राखेको सीइओ शर्माले जानकारी दिए ।

यसैगरी, डेभलपमेन्ट बैंकर्स एशोसियशनका अध्यक्ष गोविन्द ढकालले ग्रामिण भेगमा शाखा विस्तार गर्न प्रोत्साहन गर्दै शहरी भेगमा आवश्यकताभन्दा बढी स्थापना भएको शाखालाई मर्ज वा बन्द गराउन राष्ट्र बैंकले अनुमित दिनु पर्ने बताए ।

‘दुर्गम क्षेत्रको शाखा बन्द वा स्थान्तरण गर्न उचित हुँदैन तर सहरी भेगमा सय÷सय मिटर स्थापना शाखालाई मर्जर गराउन दिनुपर्छ,’ अध्यक्ष ढकालले क्लिकमाण्डूसँग भने ‘कोरोना अघि केही बैंकले एग्रोसिप शाखा विस्तार गरेका थिए, अहिले त्यस्ता शाखाले सञ्चालन खर्चमात्र बढाएको छ ।’

काठमाडौं, पोखरा, भैरवाह, बिरगञ्ज, बिराटनगर जस्ता व्यापारीक क्षेत्रमा दुइ वा सोभन्दा बढी एकै बैंकको शाखा नजिक÷ नजिक रहेको भनाइ छ । त्यस्ता शाखाको व्यवसाय हेरेर स्थान्तरण वा बन्द गर्न सहजिकरण गरी कोरोनाले ल्याएको आर्थिक संकटमा सञ्चालन खर्च घटाउन राष्ट्र बैंकले मद्दत गर्नुपर्ने उनको तर्क छ ।


क्लिकमान्डु