दक्षिण एसियाले आफ्नो व्यापार नीतिमा पुनर्विचार गर्नुपर्छ: अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दक्षिण एसियाली देशहरुले आफ्नो व्यापार नीतिहरुमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

साथै यी देशहरुले हरित र समावेशी विकासलाई बढावा दिँदै कमजोर क्षेत्रहरुको रक्षा गर्नुपर्ने नीति आवश्यक रहेको उनले बताएका छन् ।

शुक्रबार १५औं दक्षिण एसियाली आर्थिक सम्मेलनको समापन समारोहमा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् । यस क्रममा उनले दक्षिण एसिया सबैभन्दा तीब्र रुपमा वृद्धि भएको क्षेत्रको रुपमा चिनिए पनि व्यापार र लगानी प्रवाहको क्षेत्रमा सबैभन्दा कमजोर रहेको बताएका थिए ।

साथै यस क्षेत्रले झन्डै एक दशकयता आर्थिक एकीकरणको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न नसकेको पनि उनले औंल्याएका थिए । यस्तै दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत महसुल घटेका कारण स्वदेशी तथा घरेलु उद्योगमा ठूलो दबाब परेको पनि उनले टिप्पणी गरेका थिए ।

विशेषगरी नेपाल जस्ता सानो अर्थतन्त्र भएका देशहरुमा स्थानीय तथा साना उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्न कठिनाइ भएको पनि उनको भनाइ थियो । तर नेपाली उद्योगले सहयोगी नीति र प्रविधिको क्षमता बिना नै छिमेकी देशहरुका स्थापित उद्योगहरुसँग प्रतिस्पर्धा गर्नुपरेको पनि उनले बताएका थिए ।

यसका लागि साफ्टाले दक्षिण एसियाली क्षेत्रमा व्यापार र लगानी प्रवर्द्धन गर्न सघाउनुपर्ने बताएका थिए । यसवाहेक दक्षिण एसियाभित्र नेपालको जलविद्युत क्षेत्र लगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा व्यापक सम्भावना भएको भन्दै यसले सबै दक्षिण एसियाली देशहरूलाई स्वच्छ ऊर्जा स्रोतहरूमा पहुँच गर्न र जीवाश्म ईन्धनमा निर्भरता घटाउन सक्षम पार्ने पनि सुझाव दिएका थिए ।


क्लिकमान्डु