बिरामी हेर्न आउनेलाई मास्क लगाउन अनुरोध गर्दा डाक्टर कुटिएपछि…



काठमाडौं । झापा धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. शुधाकर झामाथि कुटपिट भएको छ । बिहीबार राति ड्युटीमा खटिएका रहेका डा. झालाई अज्ञात समूहमा आएका १० जनाका समूहले कुटपिट गरेका हुन् ।

डा. झा मेचीनगर १०, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज हुन् । उनले झापा अथिती सदनको क्वारेन्टिनमा आकस्मिक सेवा समेत दिँदै आएका छन् ।

यसका साथै, डा. झा बिगत ४ महिना अघिबाट बिर्तामोडा शनिश्चरे रोड मेडिका अस्पतालमा साताको २ दिन रातिमा ड्युटी गर्दै आएका थिए । सोही क्रममा डा. झा बिहीबार राति ९:३० मेडिका अस्पतालमा नाइट ड्युटीमा रहेको समयमा बिरामी भिजिटर भन्दै आएका ९/१० जनाको समूहले उनलाई कुटपिट गरी घाइते बनाएको हो ।

बिरामीका आफन्त भन्दै राति सामूहिकरुपमा आएका समूहलाई कोरोना भाइरस सम्बन्धी न्यूनतम स्वास्थ्य सुरक्षा अपनाई सामाजिक दुरी कायम गर्न आग्रह गर्दा अस्पतालभित्रै उनलाई ती समूहले कुटपिट गरेको डा. झाले क्लिकमाण्डूलाई बताए ।

मुलुक कोरोनाको महामारीले आक्रान्त भइरहेको अहिलेको परिस्थितिमा कोरोनाको उपचार गर्ने डाक्टरहरु नै कुटिन थालेको यो पहिलो घटना भने होइन ।

यसअघि काठमाडौ मेडिकल अस्पतालका चिकित्सकका साथै अन्य विभिन्न ठाँउमा स्वास्थ्यकर्मीहरु प्रहरी, जनप्रतिनिधि तथा बिरामीको आफन्तबाट कुटिएको घटाना बाहिरी रहेको छ ।

कोरोना संक्रमित नेपालमा दिन प्रतिदिन बढ्दो छ । यो अवस्थामा स्वास्थ्य जोखिम मोलेर उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट हुँदा सबै स्वास्थ्यकर्मीहरु हतोत्साहित हुन्छन् । बिहीबार राति डा। झा अथिती सदनको क्वारेन्टिनमा रहेका बिरामीहरु उपचार गरी मेडिका अस्पतालमा आफ्नो डयुटीमा थिए ।

कोरोनाको महामारी मुलुकभर फैलिएको अवस्थामा स्वास्थ्यकर्मीमाथिको अमानवीय व्यवहारले भोलिका दिनमा अस्पतालमा उपचार गर्न जान नै त्रासपूर्ण हुने डा. झाको भनाइ छ । आफूमाथि भएको हिंसाको छानबिन र दोषीलाई कडा कारवाही गर्न उनले माग गरका छन् ।

पीडित डा. झाले क्लिकमाण्डूसँग गरेको कुराकानी जस्ताको त्यस्तैः

‘मेचीनगर १०, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज हुन् । २ वर्षका लागि म यहाँ करारमा आएको हुँ । यहीँको क्वाटरमा बस्छु । मेरो स्थायी घर जनकपुर हो । विगत ४ महिनादेखि बिर्तामोड शनिश्चरे रोड मेडिका अस्पतालमा साताको दुइ दिन बिहीबार र शनिबार नाइट ड्युटी पनि गर्दै आएको छु । यसबाहेक झापामा रहेका क्वारेन्टिनमा आकस्मिक स्वास्थ्य सेवा पनि आवश्यकता अनुसार दिइरहेको छु ।

बिहीबार धुलाबारी स्वास्थ्य केन्द्र आफ्नो नियमित सेवा सकाएर मेडिका अस्पतालमा नाइट ड्युटी जाने तयारीमा थिए । सोही क्रममा महानगरका मेयरले नै फोन गरेर अथितिसदन भवनको क्वारेन्टिनमा रहेका केही व्यक्तिलाई स्वास्थ्य समस्या देखिएको छ । जानुपर्यो भनेपछि म मेडिका अस्पताल नगइ सोझै क्वारेन्टिनमा गएर बिरामीलाई उपचार गरेर मेडिका अस्पताल फर्किँदा रातको ९।१५ जति भएको थियो । अस्पतालका व्यवस्थापनका कर्मचारीहरु ड्युटी सकेर घर गइसकेका थिए ।

अस्पतालमा अर्थो सम्बन्धी उपचार गराइरहेको एक बिरामी थिए । जसलाई हेर्न भनेर रातीको ९ः३० बजे ९÷१० जनाको समुहमा मोटरसाइकलमा त्यस्तै अन्दाजी २० देखी २५ वर्ष उमेरमा व्यक्तिहरु आए । उनीहरुले अस्पताल आउँदा सम्बन्धी न्यूनतम स्वास्थ्य सुरक्षाका मास्कसम्म लगाएका थिएनन् ।

त्यो समय अस्पतालमा कुनै पनि सिनियर डाक्ट तथा स्टार्फहरु थिएनन् । उनीहरुको त्यो क्रियाकलाप रोक्ने र कोरोनाको संक्रमण सम्बन्धी जानकारी गराउनु मेरो जिम्मेवारी थियो ।

अस्पताल परिसरबाटै हो–हल्ला गर्दैभित्र छिरेका उनीहरुलाई यसरी हल्ला नगर्नु बिरामी छन् । यस्तो महामारीको समय छ । तपाईंहरु मास्क पनि लगाउनु भएको छैन् । मास्क लगाएर मात्रभित्र आउनु भने मैले भनेको थिए ।

त्यति भन्न नपाउँदै उनीहरु मध्ये २ जनाले मेरो पाखुरा समाते र एकजनाले पछाडिबाट टाउकोमा हेलमेटले प्रहार गर्यो । त्यो प्रहारले मलाई चक्कर लाग्यो ।

त्यहीबेला नै अगाडिबाट आखाँमा कसैले मुक्का हान्यो । त्यसपछि म बेहोस भएछु । कसले कति पिट्यो त्यसपछि मलाई थाहा भएन । अस्पतालका अन्य स्टाफ, नर्सहरु प्रत्यक्षदर्शी छन् । उनीहरुले नै मलाई थप कुटिनबाट बचाएर वार्डमा लगेर राखेका रहेछन् । उनीहरुले नै प्रहरी र अस्पताल व्यवस्थापनलाई फोन गरेर जानकारी गराएका हुन् ।

कुटपिट गर्ने समूहमध्ये बिरामीको १ जनालाई मात्र चिनेको आफन्त रहेको स्वीकार भएको छ । अन्य व्यक्तिहरु को थिए । प्रहरीले छानबिन गरिरहेको छ ।

यसरी बिरामी बचाउने डाक्टरमाथि नै कुटपिट हुन थालेपछि भोलिका दिनमा हामीले कसरी बिरामीलाई सेवा दिने । यो बिषयमा सम्बन्धी सबै सरोकारवाला निकायको ध्यान केन्द्रित होस् । मलाई न्यायिक निकायले न्याय दिओस् भन्ने माग गर्छु ।

सम्बन्धित निकायले यस्तो घटानालाई सामान्य कुटपिटको तवरले नहेरोस् भन्ने छ । यदी ममाथि भएको हिंसा विरुद्ध सम्बन्धित निकायले केही गर्दैन भने आफ्नो तर्फबाटै भएपनि त्यसको विरुद्ध आवाज उठाउँछु । यसमा नेपाल मेडिकल एसोसिएसनले समेत साथ दिने प्रतिवद्धता दिएको छ ।


क्लिकमान्डु