जुम मिटिङले पारित गरेको चण्डीराज विरुद्धको खेद प्रस्ताव: माइन्यूटमा लेखिन्छ कि लेखिँदैन ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको कार्यकारीणी बैठकले यसअघि पदाधिकारी बैठकले गरेको सबै निर्णयहरु अनुमोदन गर्यो ।

बैठकको अन्त्यमा महासंघ अध्यक्ष भवानी राणाले साउन २५ र २६ गते महासंघको साधारणसभा गर्ने पदाधिकारीको आइतबारको निर्णयलगायतका निर्णयहरु अनुमोदन भएको सुनाइन् ।

अध्यक्ष राणालाई गालीगलौज गरेको भन्दै महासंघद्धारा चण्डीराजविरुद्ध खेद प्रस्ताव पारित

यो सँगै गत जेठ तेस्रो साता पदाधिकारी बैठकले आफ्नै संस्थाका पूर्वअध्यक्षसमेत रहेका विशिष्ट सदस्य चण्डीराज ढकाल विरुद्धको खेद प्रस्ताव पनि पारित भएको छ ।

‘महासंघको इतिहासमा पहिलोपटक आफ्नै पूर्वअध्यक्षविरुद्धको खेद प्रस्ताव कार्यकारीणी समितिले अनुमोदन गरेको छ,’ एक पदाधिकारीले क्लिकमााण्डूसँग भने, ‘यस्तो अवस्था आउनु निकै दुखद विषय हो ।’

महासंघको गौरवपूर्ण इतिहासमा चण्डीराजजीमाथि लागेको यो कालो दाग अब कहिल्यै मेटिने छैन ।

तर, चण्डीपक्ष भने आफू विरुद्धको खेद प्रस्ताव पारित भएको स्वीकार गर्न तयार छैन ।

‘यसअघिका पदाधिकारी बैठकमा खेद प्रस्ताव पारित गर्ने औपचारिक प्रस्ताव नै आएको छैन र पदाधिकारी बैठकले औपचारिकरुपमा निर्णय गरेकै छैन, यदि निर्णय गरेको रहेछ भने माइन्यूट मगाएर हेर्नुहोस्,’ उनले भने, ‘मेरा विरुद्ध षड्यन्त्रपूर्ण प्रचारबाजी भएको मात्रै हो ।’

चण्डीराज ढकाल भन्छन्- भवानी राणाले आफ्नो हैसियत बिर्सिइन्, अब म चुप लागेर बस्दिन

दुबै पक्षले आआफ्नो दाबी गरेपछि गाँठी कुरा भने अर्कै छ ।

पहिलोः अध्यक्ष भवानी राणा पक्षले अर्थात् खेद प्रस्तावको पक्षमा ४० जनाको हस्ताक्षर संकलन गरेका थिए भने चण्डीराजको पक्षमा अर्थात् खेद प्रस्तावको विपक्षमा ३० जनाको मात्रै हस्ताक्षर संकलन गरेका थिए ।

भरत आचार्य, गोपाल खनाल, डीबी बस्नेत लगायतका १० जनाले कुनै पक्षमा पनि हस्ताक्षर गरेका थिएनन् ।

दोस्रोः ५० प्रतिशत हस्ताक्षर पुर्याउन नसकेपछि चण्डीराज पक्षले खेद प्रस्ताव पारित भएको विषय माइन्यूटमा नलेखी अघि बढ्नुपर्ने दबाब दिँदै आएका छन् ।

उमेशलाल श्रेष्ठ, चन्द्र ढकाल र निरक केसीलगायत खेद प्रस्ताव पारित भएको माइन्यूट नगर्न दबाब दिइरहेका छन् । विगतका कुरालाई विर्सिएर सहतिका अधारमा अघि बढ्दा राम्रो हुने उनीहरुको तर्क छ ।

तर, अर्को पक्षले उनीहरुको तर्कबारे कुनै प्रतिक्रिया जनाएको छैन । आजको दिनसम्म चण्डीराज विरुद्धको खेद प्रस्तावका पक्षमा बहुमत छ । र, त्यही बहुमतका आधारमा पदाधिकारी र कार्यकारीणी बैठकले खेद प्रस्ताव पारित गरेको हो ।

तर, जुम मिटिङमा भएको मौखिक प्रस्ताव र जुम मिटिङमै भएको मौखिक निर्णय लिखित माइन्यूटमा हुन्छ कि हुँदैन भन्ने चिन्ता भने देखिएको छ ।

भवानी राणाले हैसियत बिर्सिएकै हुन्, करेक्सन नभए उनैलाई गाह्रो हुन्छः चण्डीराज ढकाल

‘अन्तिम अवस्थामा आएर अध्यक्षज्यूले खुट्टा कमाउनुभयो भने पदाधिकारी र कार्यकारीणी बैठकको लिखित माइन्यूटबाट खेद प्रस्ताव पारित भएको कुरा हट्नसक्ने संभावना पनि छ,’ एक पदाधिकारीले भने, ‘तर, अहिले चण्डीजीको अभिव्यत्तिले भवानीजीको मन नराम्रोसँग कुँडिएको छ ।’

यसैहप्ता माइन्यूट तयार भइ हस्ताक्षर हुन्छ ।

‘खेद प्रस्तावको आधिकारिकता बुधबार वा बिहीबार माइन्यूट हेरेपछि मात्रै थाहा हुन्छ,’ एक सदस्यले भने ।

पूर्वअध्यक्ष ढकालले निर्वाचनको मिति तोक्ने विषयमा महासंघ अध्यक्ष भवानी राणाले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि सार्वजनिकरुपमै हैसियत नभएको भन्दै गालीगलौज गरेका थिए ।

गत जेठ तेस्रो साता बसेको पदाधिकारी बैठकमा जिल्लानगरतर्फका उपाध्यक्ष किशोर प्रधानले खेद प्रस्ताव दर्ता गराएका थिए । उक्त खेद प्रस्तावलाई निवर्तमान अध्यक्ष पशुपति मुरारका र बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समर्थन गरेका थिए । र, पदाधिकारी बैठकले खेद प्रस्ताव पारित गरेको थियो ।

पूर्वअध्यक्ष चण्डीराज ढकाल भने जुम मिटिङमा भएको खेद प्रस्तावको कुरा अबैधानिक भएको दाबी गर्दै आएका छन् ।

महासंघको चुनाव नजिकिँदै गएपछि गालीगलौज र आरोप प्रत्यारोप बढेको हो । महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान छ ।

एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल र जिल्लानगरतर्फका उपाध्यक्ष किशोर प्रधान बरिष्ठ उपाध्यक्षका लागि उम्मेद्धारी घोषणा गरिसकेका छन् ।

चन्द्र ढकाललाई चण्डीराज ढकालको साथ छ भने किशोर प्रधानलाई पशुपति मुरारका, शेखर गोल्छा लगायतको साथ छ ।

यसअघि चण्डीराज र चन्द्र ढकालको पक्षमा रहेकी अध्यक्ष राणाले खेद प्रस्ताव प्रकरणसँगै किशोर प्रधानलाई समर्थन गर्ने विश्लेषण गरिएको छ । लामो समयसम्म चण्डीराज गुटमा रहेकी राणाले यो पटक गुट फेर्ने भएकी हुन् ।


पुष्प दुलाल