७ प्रदेशमा सबैभन्दा बढी आर्थिक बृद्धि सुदुरपश्चिमको,सबैभन्दा कम बागमतीको



काठमाडौं । चालु आर्थिक वर्षमा प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी आर्थिक बृद्धिदर सुदरपश्चिम प्रदेशमा हुने देखिएको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सुदुरपश्चिम प्रदेशमा यो वर्ष ४.०८ प्रतिशत हुने छ । सबैभन्दा कम बागमती प्रदेशमा १.१३ प्रतिशत प्रतिशत हुने छ ।

कोरोनाको कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.२८ प्रतिशतमात्र हुने आफ्नो प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । कोरोनाको असर बढ्दै गएमा तथ्यांक विभागले भनेको आर्थिक बृद्धिदर गर्न समेत मुस्किल पर्ने छ । अन्तराष्ट्रिय मुद्रा कोषले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर १ प्रतिशतमा हुने प्रक्षेपण गरेको थियो । कोरोनाको महामारी भएको अवस्थामा पनि २.२८ प्रतिशत आर्थिक बृद्धिदर हुन सक्नुलाई सन्तोषजक मान्नुपर्ने विश्लेषण केन्द्रीय तथ्यांक विभागको छ ।

तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल ग्राहस्थ उत्पादन(जीडीपी)मा सबैभन्दा बढी हिस्सा ओगट्ने बागमती प्रदेशलाई कोरोनाले गर्दा सबैभन्दा बढी असर परेको देखिएको छ ।

बाममती प्रदेशको जीडीपीमा हिस्सा ३५.८४ प्रतिशत रहेको छ । बागमती प्रदेशमा कृषि क्षेत्रको योगदान कम भएको र थोक तथा खुद्रा ब्यापारको हिस्सा बढी भएको हुँदा आर्थिक बृद्धिदर सबैभन्दा कम भएको हो ।

प्रदेश अनुसार हेर्दा सुदुरपश्चिमपछि दोस्रो बढी आर्थिक बृद्धिदर गर्ने प्रदेशमा यो वर्ष कर्णाली प्रदेश हुने छ । कर्णालीले यो वर्ष ३.५६ प्रतिशत आर्थिक बृद्धिदर गर्ने छ । यस्तै प्रदेश नम्बर १ ले ३.४१ प्रतिशत,गण्डकीको २.६८ प्रतिशत,२ नम्बरको २.२८ प्रतिशत र ५ नम्बर प्रदेशले २ प्रतिशत आर्थिक बृद्धिदर यो वर्ष गर्नेछन् ।

अघिल्लो वर्ष सबैभन्दा बढी आर्थिक बृद्धिदर प्रदेश अनुसार हेर्दा ८.१२ प्रतिशत २ नम्बर प्रदेशले गरेको थियो । यस्तै ८.१ प्रतिशत बृद्धिदर कर्णाली प्रदेशको थियो । अघिल्लो वर्षपनि सबैभन्दा कम बृद्धिदर ६.४ प्रतिशत बागमती प्रदेशको थियो ।

यस्तो छ प्रदेश अनुसार अर्थिक अवस्था

१ नम्बर

यो आर्थिक वर्षमा १ नम्बर प्रदेशको कुल गाहस्थ्य उत्पादन उपभोक्ताको मूल्मा ५ खर्ब ९६ अर्ब रुपैयाँ हुने अनुमान छ। अघिल्लो वर्ष ५ अर्ब ४४ अर्ब रहेको संसोधित अनुमान छ । गत वर्ष राष्ट्रिय तहमा १ नम्बर प्रदेशले १५.७३ प्रतिशत हिस्सा ओगटेकोमा यो वर्ष १५.८२ प्रतिशत हिस्सा रहेको छ । १ नम्बर प्रदेशमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ३७.१४ प्रतिशत रहेको छ । सबैभन्दा कम योगदान खानी क्षेत्रको ०.४७ प्रतिशत रहेको छ ।

२ नम्बर प्रदेश

चालु आर्थिक वर्षमा जीडीपीको उपभोक्ता मूल्यमा हेर्दा ५ खर्ब १९ अर्ब रुपैयाँ हुने देखिएको छ । अघिल्लो आर्थिक र्वामा ४ खर्ब ७१ अर्ब रुपैयाँ रहेको संसोधित अनुमान विभाग छ ।
गत आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्रमा १३.६२ प्रतिशत रहेको योगदान यो वर्ष १३.७८ प्रतिशतमा पुगेको छ । जीडीपीमा यो प्रदेशमा ४० प्रतिशत हिस्सा कृषि क्षेत्रको छ भने सबैभन्दा कम खानी तथा उत्खनन् क्षेत्रको ०.५७ प्रतिशत रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशले जीडीपीको उत्पादन उपभोक्ता मूल्यमा १३ खर्ब ५० हुने छ । अघिल्लो वर्ष यस्तो रकम १२ खर्ब ५७ अर्ब रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्रमा ३६.३५ प्रतिशत योगदान गरेको बागमती प्रदेशले यो वर्ष ३५.८४ प्रतिशत योगदान गरेको छ । अघिल्लो वर्षको भन्दा यो वर्ष बागमतीको योगदान केही घटेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी योगदान थोक तथा खुद्रा ब्यापारको २१.९३ प्रतिशत छ । सबैभन्दा कम खानाी क्षेत्रको ०.५१ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको जीडीपीको उपभोक्ता मूल्यमा हेर्दा ३ खर्ब ३५ अर्ब रुपैयाँ यो वर्ष हुने छ । अघिल्लो र्वा ३ खर्ब ८ अर्ब रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्रमा ८.९३ प्रतिशत योगदान गरेको गण्डकी प्रदेशले यो र्वा ८.९० प्रतिशत योगदान गर्ने छ । जीडीपीमा गण्डकी प्रदेशमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको २९.९ प्रतिशत भने सबभन्दा कम खानी क्षेत्रको ०.७५ प्रतिशत रहेको छ ।

प्रदेश नम्बर ५

प्रदेश नम्बर ५ को जीडीपीको उत्पादन मूल्यमा ५ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४ खर्ब ९१ अर्ब रुपैयाँ रहेको संसोधित अनुमान छ । गत आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्रमा १४.१८ प्रतिशत हिस्सा ओगटेको यो प्रदेशले यो वर्ष १४.१८ प्रतिशत योगदान ओगटेको छ । जीडीपीमा कृषि क्षेत्रको योगदान ३३.८६ प्रतिशत छ भने सबैभन्दा कम ०.६२ प्रतिशत खानी क्षेत्रको रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको जीडीपी उपभोक्ता मूल्यमा १ खर्ब ६१ अर्ब रुपैयाँ यो वर्ष हुने देखिएको छ । अघिल्लो वर्ष १ खर्ब ४४ अर्ब रुपैयाँ थियो । गत वर्ष राष्ट्रिय अर्थतन्त्रमा ४.१६ प्रतिशत योगदान रहेको कर्णाली प्रदेशको योगदान यो वर्ष ४.२७ प्रतिशतमा रहेको छ । कर्णालीमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ३४.१९ प्रतिशत छ भने खानी क्षेत्रको योगदान सबैभन्दा कम ०.५० प्रतिशत रहेको छ ।

सुदुरपश्चिम प्रदेश

यो प्रदेशको जीडीपीको उत्पादन मूल्यमा २ खर्ब ७२ अर्ब रुपैयाँ यो वर्ष हुने अनुमान छ । अघिल्लो वर्ष यस्तो रकम २ खर्ब ४३ अर्ब रुपैयाँ रहेको थियो । राष्ट्रिय अर्थतन्त्रमा ७.०२ प्रतिशत हिस्सा अघिल्लो वर्ष रहेकोमा यो वर्ष ७.२१ प्रतिशत पुगेको छ ।
सुदुरपश्चिम प्रदेशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ३६.८२ प्रतिशत छ भने सबैभन्दा कम योगदान खानीको ०.५१ प्रतिशत रहेको छ ।


क्लिकमान्डु