कोरोना भाइरसलाई जितेर घर फर्किएकी ६५ वर्षिया मनकुमारीको अन्तरकथा, भन्छिन्,- यसरी निको भएँ



काठमाडौं । ०७६ चैत १९ गते साँझ बागलुंगस्थित घरमा साइरन बजाउँदै एम्बुलेन्स पुग्यो । ९ दिनदेखि एकान्तबास (आइसोलेशन)मा बसेकी मनकुमारी पौडेललाई एम्बुलेन्समा राखियो । र उपचारका लागि धौलागिरी अञ्चल अस्पताल लगियो ।

आफूलाई लिन एम्बुलेन आउँदा काल लिन आएझैं भएको थियो उनलाई । र, एम्बुलेन्स चढेर अस्पताल जाँदा आफू आफ्नै लासको मलामी गइरहेको अनूभूति भयो उनलाई ।

आफू बाँच्छु भन्ने आशा उनको मनको कुनै कुनामा पनि थिएन । किनभने उनको उमेर ६५ वर्ष भइसकेको थियो । दम र प्रेसरको दीर्घरोगी थिइन् उनी ।

सबैले भन्थे ६० कटिसकेका र दीर्घ रोग भएकालाई कोरोना भाइरस लाग्यो भने बाँच्दैनन् । यही जोखिम देखेर नै भिसाको म्याद हुँदा हुँदै पनि बेल्जियमबाट छोरीले चैत पहिलो साता नेपाल पठाएकी थिइन् ।

अस्पतालमा आइसोलेशन बसेको १७ दिनपछि अर्थात् शनिबार दिउँसो डाक्टरले फोन गरेर भने ‘आमा तपाइको रिपोर्ट राम्रो आयो, तपाईं चाँडै घर जान पाउनुहुन्छ ।’

डाक्टरको यो बोली सुन्नेवित्तिकै उनको मन फुरुङ्ग भयो । पुनर्जन्म पाएझैं भयो । संसार जितेझैं भयो । बाहिर निस्केर गीत गाउँदै नाचौं गाऔं जस्तै भयो ।

तर, त्यो संभव थिएन । डाक्टरहरुले नुहाउनु, अस्पतालमा प्रयोग गरिएका कुनैपनि कुरा घर नलानु, नयाँ लुगा लगाएर घर जानु भने ।

उनी मनमनै गीत गाउँदै । खुसीले नाच्दै डाक्टरले भनेजस्तै गर्न थालिन् ।

साँझ उनका छोरा उनलाई लिन आए । अस्पतालको आँगनमा उभिएका मान्छेहरुले उनलाई आफ्नो अनुभव सुनाउन आग्रह गरे । सायद खुसीले होला उनी धेरै बोल्न सकिनन् ।

कोरोना संक्रमित ६५ वर्षे आमा भन्छिन्- एयरपोर्टमा जाँच भएन, नातीले अंगालो हाल्यो

अस्पतालले नै एम्बुलेन्समा हालेर घरसम्म पुर्याइदियो । संयोगवस् कोरोना लागेर अस्पताल ल्याउदा पनि साँझको साढे ८ बजेको थियो । र, अहिले निको भएर घर आउदाँ पनि त्यही समय ।

एम्बुलेन्सबाट उत्रिएपछि घर वरीपरी आँखा डुलाइन् उनले ।

‘त्यो एम्बुलेन्स चढ्दा यही आँगनमा फेरी टेक्छु भनेर सोचेकी थिइँन तर निको भएर त्यही आँगनमा पाइला राख्दा मेरो हृदय गड्गडायो अनि आँखाहरु वर्षाए,’ मनकुमारीले क्लिकमाडूसँग आफ्नो फिलिंग सेयर गरिन् ।

उनलाई निको भएर घर ल्याइँदैछ भन्ने खरबले गाउँ पिटेको रहेछ । उनलाई हेर्नेहरुको भीँड जम्मा भएको रहेछ । उपस्थित सबैजना खुसीले गदगद गिए ।

ठुलो नाती हँसिलो अनुहार लिएर जब उनको नजिक आयो । तर उनले अझै आमासँग केही टाढा बस्नुपर्छ भनेर सम्झाइन् । त्यसपछि नाती न्यास्रो मुख बनाएर अलि पर गयो । सानो नाती बुहारीसँग थियो । तोते बोलीमा आमा भन्दैथियो । उसलाई आफुसँग लिन धेरै मन थियो उनलाई । तर मनकुमारीले आफ्नो मनलाई सम्झाइन् । र, सम्हालिइन् ।

अस्पताल भर्ना हुनुअघि पनि मनकुमारी घरको माथिल्लो तलामा ९ दिन आइसोलेशनमा बसेकी थिइन् । अस्पतालबाट निको भएर गएपछि पनि घरको त्यही माथिल्लो तलामा बसिन् ।

बुहारीले चाहिनेजति सबै सामानहरु राखिदिएकी रहिछन्, घर आउने हतारमा मोबाइलको चार्जर, दाँत दुखेकोमा लगाउने ल्वाङ्गको तेल र अलिकति पैसा थियो लगाएको लुगामा । अस्पतालमै बिर्सिइछन् उनले ।

‘म ६५ वर्ष पुगिसकेको भएको कारणले पनि सायद सबैले मलाई कोरोना लागेर घर अस्पताल भर्ना हुदाँ फर्किदिन भनेर अनुमान लगाएका थिए होलान्,’ उनले भनिन्, पहिला म आफैंलाई पनि त्यस्तै लाग्थ्यो, त्यही माथि म दमको बिरामी यसरी कोरोनालाई जितेर घर फकिन्छु भनेर कहाँ सोचेको थिएँ र ?’

नेपाल सरकारले रोगी जनतालाई अहिले धेरै राम्रो सुविधा दिइरहेको उनको बुझाइ छ ।

अंशुको पीडाले सताइरहेको छ

आफू निको भएर घर फर्किए पनि कोरोना संक्रमित १९ वर्षिय किशोरी अंशु सापकोटाको पीरले उनलाई सताइरहेको छ ।
आफ्नो रिपोर्ट राम्रो आयो भन्ने सुन्ने बित्तिकै अंशु सापकोटाको चाँही के भयो होला ? भन्ने प्रश्नले उनको मन हुँडल्यो । र, डाक्टरलाई सोधिन् । अंशुको रिपोर्ट राम्रो आएन भन्ने जवाफ पाएपछि उनको मन खिन्न भयो ।

आफ्नो रिपोर्ट राम्रो आएको खुसीभन्दा पनि अंशुको रिपोर्ट नराम्रो आएको चिन्ताले सतायो ।

कोरोनाको संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन जरुरी छ: निको भएकी श्रेष्ठको अन्तर्वार्ता

अंशु र मनकुमारी चैत ४ गते बेल्जियमबाट कतार एयरवेयजको फ्लाईटबाट कतार ट्रान्जिट हुँदै नेपाल आएका थिए । उनीहरु बाग्लुङ्गसम्म सँगै गएका थिए । यात्रा अवधिभरका साथी उनीहरु कोरोना लागेर अस्पतालमा उपचार गराउँदा समेत साथी भए ।

पहिला अंशुलाई अस्पताल भर्ना गरियो । त्यसपछि मनकुमारीलाई ।

उनीहरु दुबैलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा उनीहरुको देखभेट एकपटक मात्रै भयो । र, २ पटक फोनमा कुराकानी । एउटै अस्पतालमा उपचार भएकाले सँगै भएजस्तो आभास हुन्थ्यो मनकुमारीलाई ।

निको भएर दुबैजना सँगै घर जान पाए हुन्थ्यो भन्ने लाग्या थ्यो, शनिबार अस्पतालबाट डिस्चार्ज भएर घर पुगेकी मनकुमारीले सुनाइन् ।

अंशुले मनकुमारीलाई हजुरआमा भन्थिन् । मायाँ गर्थिन् । त्यसैले पनि होला मनकुमारीलाई अंशुको यादले सताइरहेको छ ।

‘भर्खर १८/१९ वर्षकी केटाकेटी अस्पतालमा अब एक्लै कोरोनाको उपचार गराउदाँ आत्तिने होला भन्ने पीर छ,’ उनले सुनाइन् ।

जब कोरोना लागेको थाहा भयो…

‘पहिलो पटक कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आउदाँ अब मेरो मृत्युको कारण यही होला भन्ने लागेको थियो, त्यो समय आफ्नो भन्दा पनि घरपरिवार र नातीहरुको असाध्यै पीर लाग्याथ्यो,’ उनले भनिन् ।

पहिलो पटक रिपोर्ट पोजेटिभ आएपछि अस्पतालबाटै एम्बुलेन्स लिएर उनलाई घरमै लिन गएका थिए । कोरोना लागेका बुढाबुढी त मर्छन् भन्ने सुनेकी उनले उपचार गराएर निको हुनभन्दा पनि घर परिवारलाई यसको संक्रमणबाट बचाउन अस्पताल गएको बताउँछिन् ।

‘घरमा ११ वर्षको र १९ महिनाको तोते बोल्ने नातीहरु थिए । उनीहरुलाई मेरो कारणले केही दुख भएमा आफैलाई कहिल्यै माफ गर्दिन थिएँ होला,’ उनले भनिन् ।

बेल्जियमबाट छोरीले आमालाई कोरोना संक्रमण लाग्यो भने चाँडै निको हुँदैन भन्ने डरले भिसाको समय हुँदै नेपाल पठाएकी थिइन् । जसकारण आफू बाँच्छु कि बाँच्दिन भन्ने पीरको आँधीबेहरी चल्थ्यो मनमा ।

उनका श्रीमानको मृत्यू भएको पनि वर्ष भइसकेको थियो । आफू मरेपनि परिवारका सदस्यलाई केही नहोस् भनेर प्रार्थना गरिरहन्थिन् उनी ।

‘भगवानले मेरो प्रार्थना सुनिदिए र मेरो परिवारमा कसैलाई पनि कोरोना संक्रमण भएन,’ उनले भनिन् ।

उनकै शब्दमा

म धेरै बर्ष अघिदेखिको प्रेसर र दमको बिरामी थिएँ । सबैले यस्तो रोग लागेकोलाई त अझ कोरोनाले धेरै गाह्रो पार्छ भन्ने गर्दथ्ये । अस्पताल भर्ना हुँदा निको हुन्छु घर फकिन्छु भन्ने लागेको थिएन ।

पहिलो रात त नातीहरुको पिरले निदाउन पनि सकिन ।

मलाई अस्पताल भर्ना गरेपछि घरपरिवार सबैको खकार परिक्षण गरिएछ । २ दिनपछि सबैको रिपोर्ट राम्रो आयो भनेर छोराले फोन गर्यो । त्यसपछि आफैं रोगमुक्त भएको महशुस गर्न थाले । दमको कारणले सास फुल्ने र कहिले काँही प्रेसर तलमाथि हुनेदेखि केही भएको थिएन् ।

कुनै दिन पनि मेरो शरिरमा कोरोना भाइरसको संक्रमण छ भन्ने महशुस नै भएन ।

परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएपछि मलाई शरिरबाट भाइरस भगाउनु पर्छ, निको भएर घर जानुपर्छ भन्ने लाग्न थाल्यो । घरपरिवार साथीभाई, अस्पतालका डाक्टर र नर्सहरु सबैले निको हुन्छ नआत्तिनु भनेर हौसला दिन्थ्ये । यो भाइरसको औषधी नभएपनि आत्माबल दह्रो बनाएर रोगसँग लड्ने क्षमता बढायो भने चाँडै निको हुन्छ भनेर सबैले सम्झाउँथे ।

कोरोना भाइरस लागेर १७ दिन धौलागिरि अञ्चल अस्पतालमा बसे । त्यो बीचमा मैले पहिलेबाटै खाइरहेको दम र पेसरको औषधीदेखि बाहेक कुनै औषधी सेवन गरिँन । सबैले यो भाइरस तातोले मर्छ भनेको सुनेको थिए । मलाई पनि यो भाइरसलाई तातो पानीले नै मार्छु भन्ने लाग्यो । अस्पतालमा डाक्टर नर्सहरुले गरेको सेवा र यहाँको सरसफाइको कारणले गर्दा पनि मलाई निको हुन्छु भन्ने लाग्न थालिसकेको थियो ।

डाक्टर र नर्सहरुले चिसो खानेकुरा केही पनि नखानु, तातो पानी खानु भनेर सल्लाह दिन्थे । आफैं तातो पानी तताउँथे । दिनको ५ लिटरसम्म तातोपानी खाए । तातोपानीले छाती सेक्ने, उसिनेर मात्र फलफुल खाने, शरिरलाई फाइदा नगर्ने, डाक्टरले नगर्नु, नखानु भनेको सबै कुरा मानेँ ।

मैले कोरोनाको उपचार तातो पानीले नै गरेँ ।

अस्पताल भर्ना भएको ४/५ दिनपछि दोस्रो पटक खकार परिक्षण गरेका थिए । त्यो पटक रिपोर्ट राम्रो आएन । रिपोर्ट नराम्रो आए पनि मनोबल भने मेरो उच्च नै थियो । धेरै पत्रकारहरुले फोन गरेर मेरो हालखबर सोध्नुहुन्थ्यो । त्यसकारणले गर्दा पनि बाहिरको मान्छे भेटघाट गर्न नपाए पनि बिहान उज्यालो भएदेखि राति अबेरसम्म मिडियाका भाइबहिनीहरुसँग गफ गरेर बस्थे । दिन कटाउन, कोरोना भाइरससँग लड्न मलाई धेरै सजिलो भयो ।

त्यो बेला कोरोना लागेकाहरु मध्ये सबैभन्दा धेरै उमेरको तपाई नै हो तर सबैभन्दा उच्च मनोबल भएकाले निको हुन्छ भनेर हौसला दिए सबैले ।

दिनभरी तातो पानी खाने, आफन्त साथीभाई र पत्रकारहरुसँग बोलेर बस्ने भएर होला अनावश्यक कुराहरु मनमा कहिल्यै खेलेन ।

डाक्टर नर्सहरुले पनि बिहान बेलुका स्वास्थ्य जाँच गर्न आउने दिनमा २/३ पटक फोन गरेर सोधपुछ गर्नुहुन्थ्यो । मेरो हौसला देखेर डाक्टरहरु पनि छक्क पर्नुहुन्थ्यो । आफुलाई पनि म बिरामी हुँ भन्ने भान भनेको अस्पतालमा भएर मात्र हुन्थ्यो ।

कोरोना लाग्यो भन्दैमा आत्तिएर अब म मर्ने भएँ भनेर सोच्न थाल्यो भने यसै पनि रोगले जित्छ । उखानै छ नि ‘वनको बाघले नखाए पनि मनको बाघले खान्छ ।’

मानिसलाई वनको बाघले खानबाट त बचाउन सकिन्छ । तर बाघ उसको मनमा नै छ भने जस्तो सुकै अमुल्य औषधीले पनि बचाउन सकिँदैन । कोरोना भाइरस पनि त्यस्तै हो । खान आयो भनेर डराएर बस्यो भने साँच्चै खान्छ । तर यो भन्दा बलवान म छु भनेर लड्न थालियो भने जितिन्छ ।

तेस्रो पटकको रिपोर्ट राम्रो आएपछि मलाई संसारले जित्न नसकेको लडाईं मैले जितेँ भन्ने लागेको थियो । मसँगै बिरामी भएकी अंशुले तातोपानी धेरै खाइनन् होला । उनी सानै छिन्, आफ्नो स्वास्थ्यको ख्याल आफै गर्न अलिक ढङ्ग पुर्याउन नसकेर होला कि ४ पटक परिक्षण गर्दा पनि रिपोर्ट राम्रो आएन छ ।

बुढ्यौली लाग्दै गएपछि धेरै रोगले च्याप्छ । मलाई त पहिलेदेखि नै दम र प्रेसर थियो । तर मलाई अस्पताल हुदाँ दमले कहिल्यै च्यापेन । कहिलेकाँही प्रेसर लतमाथि हुने र किराले खाएको दाँत दुख्ने गर्थ्यो । दाँत दुख्दा ल्वाङ्गको तेल लगाउँथे ।

सबैले कोरोना भाइसर लाग्दा के के हुन्छ भन्दै सोध्छन् । तर मलाई त कोरोना लागेर अस्पताल भर्ना भएपछि झनै पुराना रोगहरु पनि निको भएजस्तो लाग्यो । घरमा हुँदा अलिकति धेरै बोल्दा, हिँड्दा पनि दमले गाह्रो हुने मलाई अस्पतालमा दिनभरी फोनमा बोल्दा, कोठामा वरपर हिँडिरहँदा केही भएन ।

दुबईमा कोरोनासँग लडिरहेका अरबिन्दको कहरः निको भएर नेपाल फर्किन्छु, तागतिलो खान पाए निको हुन्थेँ

तेस्रो रिपोर्ट राम्रो आएपछि घर जान पाउँछु भन्ने लागेको थियो । तर अझै अर्को एक पटक खकार परिक्षण गरेर रिपोर्ट राम्रो आएपछि मात्र घर जान पाउनुहुन्छ भनेर डाक्टरले भने । उनीहरुले त्यही दिन नै मेरो खकारको परिक्षणको लिएर गए ।
रिपोर्ट राम्रो अचाएपछि झलझली नातीहरुको याद आइरहेको थियो । कहिले उनीहरुलाई भेट्नु, आफ्नो छातीमा टाँसेर माया गरुँ भएको थियो । छोराबुहारी, छोरीज्वाईं, नातीनातिना र अरु सबै आफन्त साथीभाई म निको भए भनेर सारै खुसी थिए ।

अस्पताल बसाईको अन्तिम रात मलाई अझै सय बर्ष बाँच्छु जस्तो लागेको थियो । त्यो रात बितेर कतिखेर अर्को दिन आउला । र, घर जान पाउँदा भन्ने खुसीले रातभर राम्रोसँग निदाउन पनि सकिँन । भोलिपल्ट साँझतिर मेरो चौथो रिपोर्ट पनि राम्रो आएछ । डाक्टरले फोनबाटै सुनाए ।

अब भने म पुर्णरुपमा कोरोना भाइरसको कब्जाबाट बाहिर निस्किएकी थिएँ । तुरुन्तै छोराको पनि फोन आयो हामी लिन आउछौँ, तयार भएर बस्नु भनेर ।

मलाई त त्यहीबेला बाहिर निस्किएर गीत गाउँदै नाँचौ जस्तो भयो । भौतिकरुपमा बाहिर निस्किएर नाच्न त पाइँन । तर मेरो मन भने खुशीले नाचिरह्यो ।

डाक्टरले नुहाएर धोएको सफा लुगा लगाएर मात्र जानु भने । साँझ परेको भए पनि म हतारहतार नुहाउन गएँ । नुहाएर बाहिर निस्किएँ । कोरोना भाइसर लुगामा र अन्य सामानहरुमा पनि हुन्छ रे । त्यही भएर मैले अस्पतालमा प्रयोग गरेको कुनै पनि सामानहरु घर लैजान डाक्टरहरुले दिएनन् । ती सामानहरु सबै जलाउछन् रे । आफुले प्रयोग गरेको सामानको धेरै माया लाग्यो । सामानको मायाभन्दा धेरै रोग निको भएर घर जान पाउँदाको खुशी धेरै थियो ।

म बाहिर निस्किनुभन्दा अगाडी नै छोरा लिन आइसकेको रहेछ । बाहिर निस्किएपछि बाहिर जम्मा भएका अस्पतालका मान्छेहरुले निको भएर घर जाँदै हुनुन्छ कस्तो महशुस गरिरहनु भएको छ ? आफ्नो अनुभव बताइदिनुस् भन्दै थिए । तर साँझमा नुहाएर होला धेरै बोल्न सकिँन ।

अस्पतालबाट घर जानेबेलामा डाक्टरले २ हप्तासम्म घरमै आइसोलेशनमा बस्नु होला भन्नुभयो । त्यसपछि भने केही नराम्रो लाग्यो । हैन मलाई अझै रोग निको भएको छैन कि क्या हो भनेर सोचेँ । अनि डाक्टरलाई सोधेँ । डाक्टरले अझैपनि संक्रमणको जोखिम हुनसक्छ भन्ने जवाफ दिए ।

म अस्पताल भर्ना हुन्नुभन्दा अगाडि बेल्जियमबाट आफुसँगै आएकी अंशुलाई कोरोना भयो भनेपछि ९ दिनसम्म घरमै छुट्टै बसेकी थिएँ । कोरोना भएपछि अस्पतालमा १७ दिन एक्लै बसेँ । अब घरमा १४ दिन एक्लै बस्नु त्यति गाह्रो नहोला । घरमा एक्लै बस्दा केही स्वास्थ्य समस्या भएमा खबर गर्नु भनेका छन् ।

अस्पतालले नै एम्बुलेन्समा हालेर घरसम्म ल्याइदिए । संयोगवस् कोरोना लागेर अस्पताल ल्याउदा पनि साँझको साढे ८ बजेको थियो होला । अहिले निको भएर घर आउदाँ पनि त्यही समय थियो ।

हाम्रो सरकारले रोगी जनतालाई अहिले धेरै राम्रो सुविधा दिइरहेको छ ।

एम्बुलेन्सबाट उक्रिएपछि घर वरीपरी आँखा डुलाएँ । त्यो एम्बुलेन्स चढ्दा यही आँगनमा फेरी टेक्छु भनेर सोचेकी थिइँन । तर, निको भएर त्यही आँगनमा पाइला राख्दा मेरो हृदय गड्गडायो । र, आँखाहरु वर्षाए ।

वरपरका केही छिमेकी र आफन्तह आएका रहेछन् । सबै धेरै खुसी थिए । ठुलो नाती हँसिलो अनुहार लिएर नजिक आयो । तर मैले अझै आमासँग केही टाढा बस्नुपर्छ है भनेर सम्झाए । न्यास्रो मुख बनाएर अलि पर गयो । सानो नाती बुहारीसँग थियो । तोते बोलीमा आमा भन्दैथियो । उसलाई आफुसँग लिन धेरै मन थियो । तर मनलाई सम्झाए ।

घरमा पहिले पनि ९ दिन एक्लै बसेको माथिल्लो तलमा गएर बसेँ । बुहारीले चाहिनेजति सबै सामानहरु राखिदिएकी रहिछन् । घर आउने हतारमा मोबाइलको चार्जर, दाँत दुखेकोमा लगाउने ल्वाङ्गको तेल र अलिकति पैसा थियो लगाएको लुगामा । अस्पतालमै बिर्सिएछु ।

म ६५ वर्ष पुगिसकेको भएको कारणले पनि सायद सबैले मलाई कोरोना लागेर घर अस्पताल भर्ना हुदाँ फर्किदिन भनेर अनुमान लगाएका थिए होलान् । पहिला म आफैंलाई पनि त्यस्तै लाग्थ्यो । त्यही माथि म दमको बिरामी यसरी कोरोनालाई जितेर घर फकिन्छु भनेर कहाँ सोचेको थिए र ?

कोरोना लागेको निको होस् भनेर प्रार्थना पाएको सबैभन्दा धेरै मैले नै होला । कोरोना लाग्दैमा लुकेर बस्नुपर्ने, अरुलाई रोगको बारेमा लुकाउने गर्नु हुँदैन ।

मैले यो रोगलाई जितेर आएकी हुँदा मेरो अनुभवमा सबैभन्दा धेरै आत्माबल दह्रो बनाएर व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनुपर्छ । सक्दो धेरै तातोपानी खाने, तातोपानीले नै नुहाउने, हातखुट्टा मुख धुने गर्नुपर्छ ।

कोरोना लागेको बिरामी एक्लै बस्नुपर्ने हुँदा कोहीसँग नबोल्ने गर्दा मनमा अनेक कुराहरु खेल्ने हुन्छ । त्यसैले सक्दो फोनमा नै भएपनि सबैसँग बोल्ने, हाँस्ने रमाउने, खुसी हुने बाटो खोज्ने, तागतिलो खानेकुरा खानुपर्छ ।

कसरी हुन्छ शरिरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्नु पर्छ । डाक्टरको औषधीले भन्दा आफ्नो स्वास्थ्यको ख्याल राम्रोसँग आफैं गरे यो रोगलाई सजिलै जित्न सकिन्छ ।

आजसम्म कोरोना लागेर अहिले पनि मानिसहरु मेरका छन् । मलाई लाग्छ उनीहरुमा आधाभन्दा बढी कमजोर मनबालको कारण मृत्यु भएका हुन् ।

आत्माबल कमजोर भएपछि सानो सानो रोगले पनि ठुलो रुप लिन्छ । र, त्यसैको कारणले ज्यान जान्छ । कोरोना लागेपछि अरु रोग लाग्न दिनु हुँदैन । यसको औषधी आफैसँग हुन्छ त्यसको उपचार गर्ने तरिका जान्छु आवश्यक हुन्छ ।


पुष्प दुलाल