कोरोना संक्रमित ६५ वर्षे आमा भन्छिन्- एयरपोर्टमा जाँच भएन, नातीले अंगालो हाल्यो

मनमायाँ पौडेल २०७६ चैत २३ गते २१:०४ मा प्रकाशित


म ६५ वर्षकी भएँ । मेरो घर बाग्लुङ-४ गौराकोट हो । मेरा २ छोरा २ छोरी छन् । जेठी छोरी र छोराहरु बाग्लुङमै बस्छन् भने कान्छी छोरीज्वाईं भने बेल्जियममा बस्छन् । ससुरा पनि हुनुहुन्छ । श्रीमान बित्नुभएको २ वर्षभयो ।

फागुन १३ गते काठमाडौं आएकी थिए । त्यसको भोलिपल्ट १४ गते काठमाडौंबाट बेल्जियम गएकी हुँ । छोरीले १ महिनाको भिसा लगाएर घुम्न बोलाएकी थिइन् ।

म धेरै वर्षदेखि दमको बिरामी छु । औषधी पनि खाइरहेको छु । छोरीसँग बेल्जियममा पनि धेरै बाहिर घुमफिर गरिन ।

इटलीमा धेरै जनालाई संक्रमण भए पनि छोरीले दमको बिरामीलाई छिट्टै आक्रमण गर्छ भनेर भिसा छँदै मलाई पठाइकी हुन् ।

छोरीले अनलाइनबाटै नेपाल आउनका लागि टिकट बुझिन् । र, चैत ३ गते कतार ट्रान्जिटहुँदै नेपाल जाने टिकट नातिनीले मिलाएकी रहेछिन् ।

दुबईमा कोरोनासँग लडिरहेका अरबिन्दको कहरः निको भएर नेपाल फर्किन्छु, तागतिलो खान पाए निको हुन्थेँ

त्यो भन्दाअघि चैत २ गतेको टिकट टर्की हुँदै नेपाल आउने थियो । तर त्यो दिन टर्कीसम्म मात्र जान पाइयो त्यहाँ बन्द भइसकेको हुँदा हामी फेरि बेल्जियम नै फर्किएर भोलिपल्ट कतार एयरलाइन्सबाट काठमाडौं आएकी हुँ ।

बेल्जियममा हुँदा मलाई नेपालमा हुने केही स्वास्थ्य समस्याहरु समेत आफैं निको हुँदै गएको थियो । त्यहाँ हुँदा हामी बस्ने ठाँउमा पनि भाइरसको संक्रमण देखिएको थियो । मलाई भने भाइरसको कुनै पनि लक्षण देखिएको थिएन् । छोरीले धेरै उमेर भएको र दमको पनि रोगी भएको कारणले १५ दिनअघि नेपाल पठाएकी हुन् ।

काठमाडौं पुग्दासम्म पनि संक्रमण भयो र केही लक्षण देखियो भने आफ्नै जेठाजुकहाँ बस्न भनेकी थिइन् । तर काठमाडौंमा आइपुग्दासम्म मलाई केही लक्षण देखिएको थिएन ।

विमानस्थलमा सामान्य ज्वरो नाप्नेदेखि बाहेक केही भएन । विदेशबाट आउनु भएको छ १४ दिन क्वारेन्टाइनमा बस्नु पनि भनेनन् । सोझै घर आउन दिए ।

बेल्जियमबाट चैत ३ गते दिउँसो ३ बजे हिँडेको कतार ट्रान्जिटहुँदै काठमाडौं चैत ४ गते बिहान १० बजे आइपुगेकी थिएँ ।
बेल्जियमबाट नै बाग्लुङकै मेरी छोरीको नै दाजुभाई नाता पर्नेको छोरी एकजना नानीसँगै आएकी हुँ ।

उनको मम्मी र बाबा धेरै वर्षअघिदेखि नै बेल्जियममा नै बस्दै आउनु भएको छ । उनको बाबा भने २/३ महिना अगाडि नेपाल आउनु भएको थियो । ती नानी पनि महिना अघि बेल्जियम गएकी रहेछिन् । अहिले भने १२ कक्षाको परीक्षा दिनको लागि आएको भन्दै थिइन् ।

ती नानीसँगै यात्रा गरेको भएपनि हामीले त्यो समयमा खानेकुरा आपसमा साटासाट गरेर खाएनौं । मलाई विमानमा खान पनि मन पर्दैन । औषधी खानुका लागि भएपनि तातोपानी र १/२ वटा ब्रेड र कफी खाएको थिए ।

उनले भने समय समयमा खानेकुरा खाइरहेकी थिइन् । उनलाई पनि त्यो समय रुघाखोकी ज्वरो केही थिएन । हामीलाई लिनका लागि ठूलो ज्वाँई काठमाडौं एयरपोर्टमा नै आउनु भएको थियो ।

चैत ४ गते बिहान १०ः३० तिर काठमाडौँबाट पोखरासम्म हामी अर्को विमानमै आयौं । विमान खाली भएको कारणले काठमाडौंबाट पोखरासम्म छुट्टाछुट्टै बसेका थियौं ।

पोखराबाट बाग्लुङसम्म हामी भ्यान रिजर्भ गरेर गएका हौं । भ्यानमा ड्राइभरको छेउमा ज्वाँई हुनुहुथ्यो ।

म र ती नानी पछाडि पट्टीको सिटमा सँगै बसेका थियौँ । त्यो दिन ४/५ बजेतिर बाग्लुङ बजारमा ठूली छोरीको घर पुग्यौं । भ्यानबाट म उत्रिए पनि ज्वाँई भने ती नानीलाई घरसम्म नै छोड्न जानु भयो ।

छोरीको घरमा पुगेर म टाढै बने । विदेशबाट आएको के होला ? भनेर छुट्टै कोठामा बसेकी थिएँ । तर ज्वाँईले आमा एक्लै नबस्नु भन्नु भएर सबैसँगै बस्यौ खाना खाएर त्यो दिन म त्यहाँ नै बसे ।

त्यो बिहानी ३ बजे तिर भने मेरो पिसाब रोकिएछ । एक्दमै असहज महशुस भएर सुत्नै सकिन । म छट्पटिएको छोरीले थाहा पाइछ । मैले उनीहरुलाई पिसाब रोकिएछ औषधि ल्याइदेउ गाह्रो भयो भने ।

विमानमा हुँदा पनि थोरै खाना खाएकाले पिसाब रोकिएको हुनुपर्छ । पोहोर पनि मलाई त्यस्तै भएको थियो । औषधि खाएपछि ठीक भएको थियो । त्यसकारण मैले नातीलाई औषधि ल्याउन भने ।

त्यो समय कुनै पनि मेडिकलहरु खुला रहेनछन् । नाती खाली हात फर्कियो । बिहान ५ बजे तिर पुनः नाती गएर औषधि ल्याइदियो । र, खाएपछि निको भयो ।

मलाई त्यो समय पनि कुनै प्रकारको रुघाखोकी ज्वरो या कोरोना रोगको कुनै प्रकारको लक्षणहरु देखिएको थिएन । मसँगै आउने अंशुलाई भने बेल्जियममा नै हुँदा ३/४ दिन ज्वरो आएर निको भएकी थिइन् ।

छोरीको घर बाग्लुङ बजारबाट म बिहान ८ बजे कान्छो छोराको घर गैडाकोट पुगे । घरमा छोरा-बुहारी र दुई नातीहरु मलाई नै पर्खिरहेका रहेछन् । जेठो नाती ११ वर्षको छ भने सानो नाती १९ महिनाको छ । ठूलो छोराको परिवार छुट्टै बस्छन् । छोरा बुहारी र १ छोरा १ छोरी छन् । उनीहरु हुर्किसकेका छन् ।

कान्छो छोरासँगै बस्ने भएकाले म सिधै कान्छो छोरा कहाँ नै गए । उनीहरुलाई १५ दिनपछि आमा नदेख्दा न्यास्रो लागेको रहेछ । सानो नाती ‘आमा..’ भन्दै मसँग झ्याम्मिन आयो । त्यो बेला कसैले पनि मलाई कोरोना संक्रमण होला भनेर आँकलन नै गरेनन् ।

घरमा छोरा बुहारी र सानो नाती एउटा कोठामा र म र ठूलो नाती अर्को कोठामा सुत्छौँ । ठूलो नाती सानैबाट मसँग नै सुत्ने बानी गरेको थियो । म बेल्जियममा हुँदा पनि ठूलो नाती एक्लै सुत्थ्यो । उसलाई मसँग नसुत भन्दा पनि मानेन ।

बेल्जियमबाट आएको केही दिन पछि अंशुलाई कोरोना देखिएको भनेर ठूलो नातीले भन्यो । उसले ‘आमा कुडुँलेको नानीलाई पनि कोरोना देखियो रे, अब हजुर पनि माथि छुट्टै बस्नुहोस्’ भन्यो । यति भनेपछि म आफ्नो सामान लिएर सबैभन्दा माथिल्लो तलामा गएर बस्न थाले ।

अंशुलाई कोरोना देखिएको ६ दिनपछि चैत १७ गते साँझमा अस्पतालबाट केही टोली आएर मेरो खकार (थे्रड स्वाप) लिएर गए । चैत १६ गते मेरो श्रीमानको श्राद्ध थियो । श्राद्ध पनि छोरा बुहारीले मात्र गरे । मैले नुहाएर शुद्ध हुने काम मात्र गरे ।

अस्पतालबाट कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आयो भन्दै बुहारीले चैत १९ गते आमा तपाई तल आउनुस् भनिन् । छोरालाई सोध्दा उसले आज ढाँट्ने दिन हो आमा बुहारीले ढाँटेकी हो भन्यो ।

त्यसको भोलिपल्ट चैत २० गते साँझमा मेरो रिपोर्ट पोजेटिभ आयो भनेर छोराले भन्यो । मलाई आफूसँगै आएकी नानीलाई कोरोनाले भेटेको भन्ने बित्तिकै मलाई पनि सर्यो होला भनेर शंका लागेको थियो । तर लक्षण भने केही पनि थिएन ।

आफूलाई कोरोना सरेको भनेर थाहा पाएपछि साना नातीहरुलाई पनि सर्यो होला भनेर मन पोल्न थाल्यो । छोराले मेरो ‘आमा सबै कुरामा ढुक्क हुनु केही हुँदैन, अस्पतालबाट एम्बुलेन्स लिएर मान्छे आउँदैछन्, तपाई ठीक पर्नु होला’ भन्यो । छोराले त्यति भनेपछि मैले लुगा कपडा, औषधि झोलामा राखे ।

साँझ परिसकेको थियो । म घरमा नै अस्पताल जान तयार भएर बसिरहेको थिएँ । अस्पतालबाट मलाई लिन आउने एम्बुलेन्सको ड्राइभर भाग्यो रे भनेर मलाई सुनाए । साह्रै नराम्रो लाग्यो । बिचरालाई रोग सर्छ भनेर डर लागेर, मेरो कराणले गर्दा भाग्नु नै परेछ भनेर मनमा धेरै कुरा खेलिरहेको थियो ।

पुलिस, अस्पतालका मान्छेहरु र छोराहरु मिलेर फेरि अर्को ड्राइभर जुटाएछन् । त्यसपछि रातको त्यस्तै ८ बजेतिर मलाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरेका हुन् ।

अस्पतालमा डाक्टरहरुले मलाई एक्लै राखेका छन् । कोहीसँग भेट्न र सीधै बोल्न दिएका छैनन् । म अस्पताल भर्ना भएको आज ३ दिन भयो । आफूलाई कोरोना भाइरस संक्रमण छ भनेर थाहा भएपछि मलाई आफ्नोभन्दा धेरै छोरा बुहारी, ज्वाँई छोरी र नाती नातीनाहरुको धेरै चिन्ता लागेको छ । हिजोसम्म त एकैछिन पनि सुत्न सकेको थिइन ।

मलाई अस्पताल भर्ना गरेपछि मेरो नजिकमा आएका सबैको खकार परीक्षण गरेको रहेछन् । केही गर्न खान नै मन लाग्दैन थियो । उनीहरुको रिपोर्ट नआउञ्जेलसम्म म अस्पतालमा छट्पटाएर नै बसेकी थिए । मनमा अनेक थरिका कुरा खेल्ने गथ्र्यो ।

२ दिनसम्म निदाउन पनि सकिँन । मेरो प्रेसर पनि बढेछ । औषधी खाएपछि ठीक भयो ।

हिँजो सबै जनाको रिपोर्ट नेगेटिभ आयो भनेर सुनाए । त्यसपछि भने मन ढुक्क भएको । दम र प्रेसर पनि त्यही बेला नै हराएको महशुस गरेँ । आफ्नोभन्दा धेरै चिन्ता आफ्नाको लाग्ने ।

खाना पनि अघाउन्जेल खान्छु । चिसो कुराहरु अहिलेसम्म केही खाएको छैन । फलफुलमा सुन्तला उसिनेर खान्छु ।

अहिले त मलाई कोरोना भाइरस लागेको छ जस्तो पनि लाग्दैन । अस्पतालमा अरु नै केही बिरामी भएर आएकी हुँ जस्तो लाग्छ । यहाँका डाक्टर नर्सहरु बिहान दिउँसो र साझँमा एकपटक मलाई चेक गर्न आउनुहुन्छ ।

रुममा नआउँदा पनि फोन गरेर कस्तो छ भन्दै सोध्ने गरिरहनु हुन्छ । आफन्त साथीभाई सबैले फोन गर्छन् यहाँ आएर अर्कौ प्रकारको ढुक्कपन र खुसी मनमा छ ।

औषधि भनेर मलाई प्रेसर बढ्दा प्रेसरको, दम बढ्दा दमको जे हुन्छ त्यसैको दिइरहनु भएको छ । यो रोग लागेको बिरामीलाई यहाँको डाक्टर नर्सहरुले गरेको सेवा देख्दा धेरै अचम्म लाग्छ ।

यस्तो त कुनै हस्पिटलमा देखेकी थिइन् । सफा, स्वच्छ तथा डाक्टरहरुले पनि सम्झाइरहनुहुन्छ । रोगको लक्षण अनुसार समयमा नै गरिने औषधि उपचारले जस्ता सुकै बिरामी पनि निको हुन्छन् ।

मेरो खकारको फेरि परीक्षण भने गरिएको छैन । डाक्टरहरुले भोलिपर्सीतिर खकारको नमूना काठमाडौं पठाउने कुरा गरिरहेका थिए । यहाँबाट घर फर्किदाँ कोरोना मात्र होइन मेरो अरु पुराना रोगहरु पनि निको हुन्छन् जस्तो लागेको छ ।

प्रस्तुतिः दिलु कार्की

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स