उपभोग्य वस्तु आयात गर्न नै समस्या, सरोकारवाला निकायबीच समन्वयनको अभाव



काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको कारण आयात पूर्ण रुपले प्रभावित भएको छ ।

उपभोग्य वस्तुको आयात निर्वाद गर्ने भनेपनि आवश्यक समन्वयन नहुँदा सहज रुपमा आयात हुन सकेको छैन ।

नेपालमा सोमबारदेखि एकसाताको लागि लकडाउनको घोषणा भएको छ । भारतले बुधबारदेखि लागु हुने गरेर २१ दिनको लकडाउनको घोषणा छ । जसमा उपभोग्य वस्तुको आयात सहज रुपमा हुने भनेपनि आवश्यक समन्वयन हुन सकेको छैन ।

भन्सार विभागका प्रवक्ता शिशिर घिमिरे उपभोग्य वस्तुको आयातको लागि विभागले पहल गरेर सहज रुपमा आपूर्ति व्यवस्थापन भएको बताउँछन् ।

‘अहिले भन्सार ऐजेन्टले अनलाइन मार्फत नै काम गर्न सक्छन्,आवश्यक पर्ने वस्तुहरु आयात भइरहेको छ,’उनले भने ।
यद्यपी डरको कारणले भन्सार ऐजेन्ट तथा त्यहा आवश्यक पर्ने श्रमिकहरु भन्सार नाकामा पुग्न नसक्दा उपभोग्य वस्तुको सामान आयातमा कठिनाई भएको हो ।

सरकारले सुरक्षित यसरी आयत हुने वस्तुमा सुरक्षित उपाय अपनाउने ग्यारेन्टी नभएको कारणपनि एजेन्ट तथा श्रमिकहरु डराएका छन् ।
तर,भन्सार विभागका प्रवक्ता घिमिरे सुरक्षित उपाय अवलम्बन गरेर सामानहरु आयात गरिएको बताउँछन् ।

‘भन्सार कार्यालयले निर्मलिकरण गरेर आयात गर्ने काम गरेका छन्,आवश्यक सामाग्रीको अभाव हुने छैन,’घिमिरेले भने ।

भन्सार विभागले दैनिक उपभोग्य वस्तु आयातका लागि भारतीय पक्षसँग नियमितजसो छलफल गरेको जनाएको छ ।

यद्यपी आयातको लागि गर्नुपर्ने भन्सार ऐजेन्ट,कर्मचारी,बैंक र सरकारी निकायबीच समन्वयन हुन सकेको छैन । जसले गर्दा उपभोग्य वस्तुको अभाव हुने खतरा हुन्छ । त्यही कारण आयल निगमले नाकाबन्दीमा जस्तो आधा मात्र सिलिण्डर उपभोक्तालाई दिने निर्णय गरेको छ ।

नेपाल फ्रेर्ट फरवार्डस एशोसियनका अध्यक्ष प्रकाश कार्की आयातको लागि सम्बन्धित निकायबीच समन्वयनको अभाव रहेको बताउँछन् ।
‘यो जटिल विषय हो,डरको कारणले आयात गर्नको लागि काम गर्नुपर्ने व्यक्तिहरुले काम गर्न सकेका छैनन्,सरकारले समन्वयन गर्न नसक्दा आयातको प्रक्रियामा धेरै नै जटिलता उत्पन्न भएको छ,’कार्कीले क्लिकमाण्डूसँग भने ।

कार्कीले तेस्रो मुलुकका लागि आउने सामानको लागि कलकत्ता बन्दरगाह नै बन्द रहेको बताए । योभन्दा अगाडि पनि तेस्रो मुलुकबाट आएका सामानलाई कलकत्ता बन्दरगाहले दुईसातासम्ममा राख्ने गरेको थियो । कोरोना भाइरसलाई फैलन नदिनको लागि बन्दरगाहले गरेको निर्णयले नै सहज रुपमा आयत भएको थिएन ।

नेपालबाट निर्यात भने अहिले लगभग ठप्प जस्तै स्थिती छ । चीनबाट भने आयात हुन सकेको छैन । सरकारले चीनबाट आयात खुल्ला गर्ने निर्णय गरेको थियो ।


क्लिकमान्डु