आधा सिलिन्डर ग्यास बिक्री गर्ने सरकारको तयारी, बिक्रीका लागि निश्चित स्थान तोकिने



काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्तीलाई सहज बनाउनका लागि आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने भएको छ ।

नेपाल आयल निगमले आपूर्ती असहज हुने अवस्था सिर्जना हुने अवस्थालाई मध्यनजर गर्दै आधा मात्रै सिलिन्डर बिक्री गर्ने निर्णय गरेको हो ।

‘सरकारले यसबारेमा छलफल गर्न बिहीबार दिउँसो आपूर्ती मन्त्रालयमा बोलाएको छ, त्यसपछि मात्रै के गर्ने निर्णय हुन्छ,’ नेपाल एलपी ग्यास ग्यास उद्योगी संघका अध्यक्ष गोकुल भण्डारीले भने ।

उनका अनुसार भारतमा पनि लक डाउन भएको र त्यसले आपूर्तीमा समस्या सिर्जना भएसँगै सरकारले उक्त निर्णय गरेको हुन सक्छ । उनले यसबारेमा मन्त्रालयमा छलफल गरेर कार्यान्वयन गर्ने जानकारी दिए ।

सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमलाई रोकथाम तथा न्यूनिकरणका लागि सोमबारदेखि लकडाउन गरेसँगै अहिले ग्यासको बिक्री बन्द गरिएको छ । साथै भारतबाट आउने ग्यास पनि नियमित रुपमा सबै नआएकाले ग्यासको अभाव हुने कुरालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो ।

भण्डारीका अनुसार उक्त निर्णयसँगै ग्यास बिक्रीका लागि पनि उपत्यकामा निश्चित स्थान तोकिनेछ ।

‘अहिले उपत्यकाभर ५ हजारभन्दा बढी डिलर छन्, सबैबाट बिक्री गर्न सम्भव हुँदैन त्यसैले यसका लागि निश्चित स्थानबाट बिक्रीका लागि व्यवस्था गरिनेछ,’ उनले भने ।

उनका अनुसार सरकारले केही दिन अघि तोकेको १७ वटा स्थानबाट समेत ग्यास बिक्री अहिले रोकिएको छ ।

सरकारले आधा सिलिन्डर मात्रै भए पनि प्रत्येक परिवारलाई प्ुर्याउने उद्देश्यले यस्तो निर्णय लिएको हुन सक्ने भण्डारीको तर्क छ ।


क्लिकमान्डु