भारतमा ३ साताका लागि लकडाउन, मोदीले भने- यो लक्ष्मण रेखा हो पालना गर्नुहोस



कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै भारतमा पनि लकडाउन लागू हुने भएको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी ३ साताका लागि देशभर लकडाउन गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दैै जानकारी दिए ।

नेपालमा मंगलबारदेखि लकडाउन लागू भएसँगै भारतमा पनि लकडाउन लागू गरिएको हो । भारतमा यसअघि जनता कफ्र्यू लागू गरिएको थियो । यस अवधिमा घरबाट बाहिर निस्कनका लागि प्रतिबन्ध लगाइएको छ ।

‘यो एक तरिकाले कफ्र्य नै हो, यो जनता कफ्युभन्दा अझ कडा छ, कोरोना भाइरसका विरुद्ध लड्नका लागि यो जरुरी छ, त्यसैले लकडाउन गरिएको हो,’ सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने ।

उनले प्रत्येक नागरिक, उनीहरुको परिवारका लागि बचाउनका लागि लकडाउन गरिएको बताए ।

‘म हात जोडेर प्रार्थना गर्दछु, जहाँ हुनुहुन्छ त्यही बस्नुहोस् र यो २१ दिन अर्थात ३ साताका हुनेछ,’ उनले भने ।

उनले आगामी २१ दिन हरेक परिवारका लागि निकै महत्वपूर्ण भएको बताए । उनले कम्तीमा २१ दिनका लागि घरबाट बाहिर ननिस्कन नहुने बताए । यदी २१ दिन सम्हाल्न सकिएन भने देश २१ वर्ष पछाडि जानेछ भने कैयन परिवार समाप्त हुने समेत उनले चेतावनी दिए ।


क्लिकमान्डु