काठमाडौं-पोखराको रुटमा बसभन्दा हवाई टिकट सस्तो



काठमाडौं । पर्यटकीय नगरी पोखरामा स्वदेशी मात्रै होइन विदेशी पर्यटकको पनि उत्तिकै आकर्षणको गन्तव्य हो । पोखराको सुन्दरता नियाल्न हरेक दिन पर्यटकको घुँइचो लाग्ने पोखरा यतिबेला सुनसान छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण १४५ भन्दा बढी देशमा फैलिएपछि त्यसको असर अहिले पोखरामा देखिएको छ । जसले गर्दा काठमाडौं– पोखरा रुटमा उडान हुने विमान कम्पनीले हवाई भाडा सस्तो बनाएका छन् ।

यतिसम्म कि काठमाडौं–पोखरा रुटमा चल्ने लक्जरी बसभन्दा हवाई भाडा सस्तो भएको छ । यो रुटमा चल्ने लक्जरीले २ हजार रुपैयाँसम्म टिकट वापत पैसा लिन्छन् । तर विमान कम्पनीहरुले १७ सयदेखि नै टिकट बिक्री गर्न थालेका छन् ।

कोरोना भाइरसका कारण यात्रुको संख्यामा उल्लेख्य कमी आएपछि विमान कम्पनीहरुले सस्ता दरमा टिकट बिक्री गरिरहेका हुन् । चैत २ गतेको मात्रै टिकट हेर्ने हो भने पोखराका लागि १७२० रुपैयाँदेखि २ हजार रुपैयाँमा सस्तो दरका टिकट उपलब्ध भइरहेका छन् ।

बसमा यात्रा गर्दा एकातिर दिनभरी समय लाग्ने तर हवाई यात्रामा २५ मिनेटको दूरीमा तय गर्न सकिने यो रुटमा यात्रुको संख्यामा कमी आउँदा पोखरामा पर्यटक व्यवसायमा नराम्रो असर परेको छ ।

पोखराको आकर्षण मानिने प्याराग्लाइडिङ व्यवसाय यतिबेला संकटमा पर्न थालेको छ । प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतका अनुसार अहिले पर्यटकको संख्यामा कमी आउँदा घर भाडा, बैंकको ब्याज र कर्मचारीको तलब दिन समेत गाह्रो अवस्था आइसकेको छ ।

त्यस्तै, पोखराका होटलको अकुपेन्सी पनि निकै तल झरेको छ भने पसल, रेष्टुराँको व्यवसाय पनि ठप्प जस्तै भएको छ ।


क्लिकमान्डु