कोरोनाको डरले ग्यासमा कृतिम अभाव, उद्योगमन्त्री भन्छन्- हटलाइनमा फोन गर्नुहोस्, तुरुन्तै पाइन्छ



काठमाडौं । कोरोनाको डरले बजारमा खाना पकाउन प्रयोग हुने एलपी ग्यास कृतिम अभाव सिर्जना भएको छ ।

केही दिनअघिसम्म नियमित रुपमा आपूर्ती भइरहेको ग्यास अहिले बजारमा अभाव शुरु हुन थालेको छ । शुक्रबार मात्रै साल्ट ट्रेडिङ कर्पोरेशनमा ग्यास लिन उपभोक्ताहरु लामबद्ध भएका थिए ।

उपभोक्ताले ग्यास अभाव हुने अनुमानकै आधारमा मात्रै घरमा अतिरिक्त ग्यास राख्न थाल्दा बजारमा ग्यासको अभाव सिर्जना भएको हो । तर उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले भने बजारमा ग्यासको अभाव नभएको र पर्याप्त मात्रामा ग्यास पाइने दाबी समेत गरेको छ ।

मन्त्रालयले ग्यास अभाव सहजीकरणका लागि हट लाइनको व्यवस्था गर्ने र उपभोक्ताले खबर गर्ना साथ तत्काल उपलब्ध गराउने बताएको छ । यसका लागि मन्त्रालयका तल्लो तहदेखि मन्त्रिसम्म सक्रिय हुने मन्त्री लेखराज भट्टले बताए ।

यसका लागि शनिबारदेखि हटलाइन नम्बर व्यवस्था गर्ने समेत मन्त्री भट्टको भनाइ छ ।

हाल काठमाडौं उपत्यकाका लागि दैनिक ३० हजार ग्यास उत्पादन भइरहेकोमा बजारमा अभाव हुन नदिन दैनिक ४४ हजार ग्यास सिलिन्डर उत्पादन शुरु गर्ने मन्त्री भट्टको भनाइ छ ।

उनले कोरोनाका कारण बजारमा सिर्जित अभावलाई नियन्त्रण गर्न र नियमन गर्न सरकार प्रभावकारी रुपमा लागिपरेको दाबी गरे । बजारमा औषधि, मास्क र सेनिटाइजरको अभाव हुन नदिने अनुगमनलाई प्रभावकारी बनाइने समेत मन्त्री भट्टको भनाइ छ ।


क्लिकमान्डु