राष्ट्रियसभामा आफूले निरन्तरता पाउने अर्थमन्त्रीको विश्वास, भने- ‘२१ गते सपथमा भेटौंला’
काठमाडौं । राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडा वा वामदेव गौतममध्ये कसलाई नियुक्ती गर्ने भन्ने विषयले नेकपाभित्र विवाद सिर्जना भइरहेका बेलामा अर्थमन्त्री खतिवडाले फागुन २१ गते मात्रै यसबारेमा थाहा हुने भन्दै पन्छिएका छन् ।
बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलन सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै उनले तत्काल टिप्पणी गर्न अस्वीकार गर्दै फागुन २१ गते सपथ भएको र त्यतिबेला मात्रै थाहा हुने जानकारी दिए ।
‘अहिले केही नभनौं, २१ गते सपथ तोकिएको छ, भेट भइहाल्छ, त्यहीबेला कुरा गरौंला,’ उनले भने ।
नेकपामा एक खेमा खतिवडाको साटो वामदेव गौतमलाई नियुक्ती गर्ने चलखेलमा लागेका समाचार आइसकेका छन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने खतिवडालाई नै निरन्तरता दिन चाहेका छन् ।