
एजेन्सी । भारतका सेयर बजारहरूले सन् २०२५ लाई एक असजिलो विश्वव्यापी भिन्नताका साथ अन्त्य गर्दैछन् । डलरको हिसाबमा सेन्सेक्स र निफ्टी ५० ले मात्र ४–५ प्रतिशत प्रतिफल दिएका छन् । त्यसले गर्दा विश्वका अन्य बजारहरूमा तीव्र वृद्धि भइरहँदा पनि भारत यस वर्ष विश्वको सबैभन्दा खराब प्रदर्शन गर्ने प्रमुख सेयर बजार बनेको छ ।
भारतीय रुपैयाँको हिसाबमा सेन्सेक्स र निफ्टी ८–९ प्रतिशतले बढे पनि, मुद्राको मूल्यमा आएको तीव्र गिरावटले विदेशी लगानीकर्ताहरूको प्रतिफल घटायो । यसको परिणामस्वरूप १८ अर्ब डलरको कीर्तिमानी वैदेशिक पोर्टफोलियो लगानी (एफपीआई) बाहिरियो जुन दलाल स्ट्रिटबाट एक क्यालेन्डर वर्षमा बाहिरिएको अहिलेसम्मकै उच्च रकम हो ।
यसको विपरीत विश्वव्यापी सेयर बजारहरूमा उछाल आयो । दक्षिण कोरियाको कोस्पी झण्डै ८१ प्रतिशतले बढ्यो, ब्राजिलको बोवेस्पा करिब ४८ प्रतिशतले उक्लियो, जर्मनीको ड्याक्स ३८ प्रतिशतले बढ्यो र स्टक्स युरोप ६०० चाहिँ ३२ प्रतिशतले उक्लियो । विकसित बजारहरू जस्तै एसएन्डपी ५०० र नास्डाकले पनि क्रमशः १७.४ र २१.६ प्रतिशतको वृद्धि हासिल गरे । एक समय उदीयमान बजारहरूमा उत्कृष्ट मानिएको भारत अहिले यस सूचीको पुछारमा पुगेको छ ।
यस भिन्नताले विश्वव्यापी र आन्तरिक दुवै चुनौतीहरूलाई प्रतिबिम्बित गर्दछ । विशेषगरी, सेमिकन्डक्टर र सफ्टवेयरका स्टकहरू समावेश भएका चिनियाँ र दक्षिण कोरियाली सेयर बजारहरू कृत्रिम बुद्धिमत्ता (एआई) प्रतिको आशावाद र न्यून मूल्यांकनको आधारबाट भएको सुधारका कारण तीव्र गतिमा बढे जुन विषयहरू भारतमा मुख्यतया अनुपस्थित थिए ।
एसबीआई सेक्युरिटीजका सनी अग्रवालका अनुसार, आम्दानीको गतिमा आएको सुस्तता, तुलनात्मक रूपमा महँगो मूल्यांकन, शुद्ध एआई स्टकहरूको अभाव, सेयर निष्काशनको निरन्तर आपूर्ति र भूराजनीतिक तथा व्यापारयुद्धको अनिश्चितताका कारण निफ्टी ५० र सेन्सेक्स सन् २०२५ मा सबैभन्दा खराब प्रदर्शन गर्ने सूचकांकहरूमध्ये एक बनेका छन् ।
मूल्यांकन र वृद्धिबीचको असन्तुलन विदेशी लगानीकर्ताहरूका लागि विशेषगरी घाटाको विषय बनेको छ । एलारा सेक्युरिटीजकी गरिमा कपुरका अनुसार, भारतमा आउने वैदेशिक पोर्टफोलियो प्रवाह नोमिनल जीडीपी वृद्धिसँग नजिकबाट जोडिएको हुन्छ जुन सन् २०२४ को मध्यदेखि उल्लेख्य रूपमा सुस्त भएको छ ।
कपुरले भनिन्, ‘सन् २०२४ को अगस्टदेखि बढ्दो विश्वव्यापी अनिश्चितताका बीच आन्तरिक वृद्धिमा आएको सुस्ततासँगै एफपीआई नकारात्मक हुन थाल्यो । पछिल्लो १५ वर्षमा भारतले एमएससीआई उदीयमान बजारहरूको १.६ गुणाभन्दा बढीको भ्यालुएसन प्रिमियममा अर्थपूर्ण एफपीआई प्रवाह एकपटक मात्र आकर्षित गरेको छ । नाममात्रको जीडीपी वृद्धि यसको २५ वर्षको औसत १२ प्रतिशतभन्दा तल झरेकाले त्यस प्रिमियमलाई उचित ठहर्याउन गाह्रो भएको छ ।
व्यापार नीतिसम्बन्धी झट्काहरूले दबाबलाई थप बढाए । एलाराको अनुमान अनुसार, अमेरिकी पारस्परिक र धारा २३२ अन्तर्गतको भन्सार शुल्कले भारतको प्रभावकारी भन्सार दरलाई करिब ३३ प्रतिशत पुर्यायो जुन अन्य प्रतिस्पर्धी देशहरूको तुलनामा धेरै उच्च हो । यसले भारतीय सम्पत्तिहरूप्रतिको धारणालाई बिगारेको छ ।
यस कठिन वर्षका बावजुद बजार रणनीतिकारहरूले सन् २०२६ मा पुनरुत्थानका लागि अवस्थाहरू अनुकूल हुँदै गएको देखेका छन् ।
कपुरले सहयोगी नीतिगत उपायहरूको सहयोगमा आन्तरिक वृद्धिको गतिमा परिवर्तन आउने अपेक्षा गरेकी छन् । आर्थिक वर्ष २०२७ मा नोमिनल जीडीपी वृद्धि आर्थिक वर्ष २०२६ को करिब ८ प्रतिशतबाट सुध्रिएर १० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ जबकि मूल्यांकनहरू कम चुनौतीपूर्ण भएका छन् र अमेरिकी डलरको दृष्टिकोण अनुकूल रहेको छ ।
भारतको नीतिगत मिश्रण निर्णायक रूपमा वृद्धिका लागि सहयोगी भएको उनले उल्लेख गरिन् । आयकरमा कटौती, जीएसटीमा कमी र सार्वजनिक पुँजीगत खर्चमा भइरहेको वृद्धिले उपभोगमा सकारात्मक प्रभाव पार्न थालेको छ जसले जीडीपीको करिब ५५–६० प्रतिशत हिस्सा ओगट्छ । मौसमी रूपमा बलियो रहने तेस्रो त्रैमासिकका प्रारम्भिक संकेतहरूले घरायसी खर्च पुनः बढ्न थालेको देखाउँछन् ।
व्यापार जोखिमहरू पनि कम हुन सक्छन् । एलाराले भारत–अमेरिका व्यापार सम्झौतामा प्रगति हुने अपेक्षा गरेको छ जसले हालैका पारस्परिक र रुससँग सम्बन्धित भन्सार शुल्कहरू फिर्ता लिएमा भारतको प्रभावकारी भन्सार दरलाई तीव्र रूपमा घटाउन सक्छ ।
विश्वव्यापी मौद्रिक अवस्थाहरू अर्को सकारात्मक पक्ष हुन् । अमेरिकी फेडरल रिजर्भले ब्याजदर कटौतीको चक्र पुनः सुरु गरेको छ जसले ऋणपत्रको प्रतिफल (बोन्ड यिल्ड) घटाएको छ र डलरलाई एक निश्चित दायरामा राखेको छ । यसले अनुकूल आन्तरिक मुद्रास्फीतिसँग मिलेर भारतीय रिजर्भ बैंकलाई आर्थिक वर्ष २०२६ का आगामी दुई नीतिगत बैठकहरूमा ब्याजदर ५० आधार विन्दु (बेसिस पोइन्ट) सम्म कटौती गर्ने ठाउँ बनाएको छ ।
आम्दानी सन् २०२५ मा मुख्य कमीका रूपमा रहेको थियो । त्यसले पनि पुनरुत्थानको संकेत देखाइरहेको छ । एलाराले यस त्रैमासिकमा वार्षिक १२.५ प्रतिशत नाफा वृद्धिको अपेक्षा गरेको छ जुन पछिल्लो ६ त्रैमासिकमा पहिलोपटक दोहोरो अंकको वृद्धि हुनेछ ।
यसको कभरेजमा रहेका १७९ कम्पनीहरूमध्ये हालसम्म नतिजा सार्वजनिक गरेका कम्पनीहरूको नाफा वार्षिक १६ प्रतिशतले बढेको छ जसमा धेरैजसो कम्पनीहरूको नतिजा अनुमानभन्दा राम्रो देखिएको छ ।
मूल्यांकनहरू पनि अहिले थप सहयोगी भएका छन् । नोमुराका सायन मुखर्जीले फरवार्ड अर्निङको २१ गुणाको आधारमा सन् २०२६ को अन्त्यसम्ममा निफ्टी २९ हजार ३०० पुग्ने अपेक्षा गरेका छन् जसले १२ प्रतिशत प्रतिफलको संकेत गर्दछ । वैदेशिक प्रवाहमा ठूलो उछाल आउने सम्भावना कम भए पनि मुखर्जीले विश्वव्यापी एआई–प्रेरित वृद्धि सुस्त भयो र भारतको भ्यालुएसन प्रिमियम दीर्घकालीन औसतसँग मिल्दोजुल्दो रह्यो भने प्रवाहमा केही सुधार हुन सक्ने मुखर्जीले बताए ।
सम्पत्ति व्यवस्थापकहरूले पनि सोही सतर्क आशावाद व्यक्त गरेका छन् । फ्य्रांकलिन टेम्पलटनले वित्तीय र मौद्रिक सहजता र कम हुँदै गएको भन्सार जोखिमका कारण सन् २०२६ मा भारतको आम्दानी वृद्धि १५ प्रतिशतको हाराहारीमा पुग्ने अपेक्षा गरेको छ । सन् २०२५ को अन्त्यदेखि आम्दानीको परिमार्जन स्थिर भएको छ र सेप्टेम्बरदेखि एक वर्षपछिको अनुमानमा सुधार आइरहेको छ ।
आन्तरिक लगानीकर्ताहरू रचनात्मक तर संयमित रहेका छन् । कोटक महिन्द्रा एएमसीका प्रबन्ध निर्देशक निलेश शाहले आर्थिक वर्ष २०२६ मा सेयर बजारको प्रतिफल आम्दानी वृद्धिमै आधारित हुने र आर्थिक वर्ष २०२७ मा भारतीय कम्पनीहरूले दोहोरो अंकको वृद्धि दिने अपेक्षा गरिएको बताए । यसले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न मद्दत गर्ने उनले बताए । तर, अपेक्षाहरूलाई भने सन्तुलित राख्न आवश्यक छ ।
विश्वव्यापी विनियोजनको परिप्रेक्ष्यमा भारतले समग्र उदीयमान बजारहरूलाई उछिन्न सक्ने अपेक्षा बीओएफए सेक्युरिटीजका अमिश शाहले गरेका छैनन् । तर, अमेरिकाको तुलनामा भारत मजबुत हुने उनी देख्छन् । वाल स्ट्रिटले डलरको हिसाबमा करिब ४ प्रतिशत प्रतिफल दिने अपेक्षा गरिएको र भारतले रुपैयाँको हिसाबमा करिब १२ प्रतिशत दिने देखिएकाले सन् २०२६ मा रुपैयाँको मूल्यमा हुने कुनै पनि वृद्धिले सन्तुलन निर्णायक रूपमा भारतको पक्षमा ढल्काउन सक्छ ।
भारतको उदीयमान बजारको चमक हराएको एक वर्षपछि सन् २०२६ मा प्रवेश गर्दा अबको बहस तीव्र पुनरुत्थानको बारेमा केन्द्रित छ । आवश्यक तत्त्वहरू अन्ततः मिल्दै गइरहेका हुन सक्छन् । ती तत्त्वहरूले दिगो प्रदर्शनमा कत्तिको मद्दत पुर्याउँछन् भन्ने कुराले नै सन् २०२५ एउटा अपवाद मात्र थियो वा भारतीय सेयर बजारका लागि लामो समयसम्म रहने रिसेटको सुरुवात थियो भन्ने कुराको निर्धारण गर्नेछ ।








प्रतिक्रिया