बैंकिङ कसुरमा जनकपुरका सन्तोष साह पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका सन्तोष कुमार साह पक्राउ परेका छन् ।

झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइ फरार रहेका ३० वर्षीय साहलाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महानगरपालिकाको ४ चण्डोलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए।

उनी सुमित कुमार खेतानको जाहेरीले एसएन सप्लायर्सका प्रोप्राइटर सन्तोष कुमार साह भएको बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी भई फरार रहेका थिए ।

साह जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बैंकिङ कसुर मुद्दाको एक करोड बाउन्न लाख रुपैयाँको बिगोमा फरार रहेका थिए । त्यसैगरी, इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट बैंकिङ कसुर मुद्दाको बिस लाख रुपैयाँको बिगोमा फरार रहेका थिए ।

यसैगरी, उनी जिल्ला प्रहरी कार्यालय धनुषाबाट बैंकिङ कसुर मुद्दामा आठ लाख रुपैयाँको बिगोमा फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय झापाबाट बैंकिङ कसुर मुद्दामा तिस लाख रुपैयाँको बिगोमा फरार थिए ।