राष्ट्र बैंकको नयाँ भवन बनेको डेढ वर्षपछि बल्ल आन्तरिक सजावटकाे खरिद प्रक्रिया सुरू


काठमाडौं । २०७२ सालको भुकम्पपछि क्षतिग्रस्त नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन पुननिर्माण भएको डेढ वर्ष हुँदा पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । नयाँ भवन प्रयोगमा आउन नसक्नुको कारण हो, भवनको आन्तरिक पुर्वाधार तयार नहुनु ।

तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले भौतिक संरचना निर्माण सकिएपछि ‘इन्टेरियर फर्निसिङ र फिनिसिङ’ को खरिद प्रक्रिया अगाडि बढाउन नसक्दा भवन पुनर्निर्माण भएको डेढ वर्षसम्म पनि राष्ट्र बैंकले नयाँ भवनबाट काम सुरु गर्न सकेको थिएन । केही विभागहरुले अस्थायी रुपमा टेबल र कुर्सि राखेर नयाँ भवनबाट काम सुरु गरेपनि गभर्नर, डेपुटी गभर्नर लगायका कार्यालयहरु नयाँ भवनमा अझै सर्न सकेको छैन ।

सहरी विभाग तथा भवन निमार्ण विभागले २०८१ असार २८ गते नवनिर्मित भवन राष्ट्र बैंकलाई हस्तान्तरण गरेको थियो । गभर्नर र डेपुटी गभनर्भरको कार्यालय बाहेकका अन्य विभागहरु भने पुराना समान सारेर नयाँ भवनमा सरिसकेका छन् । तर, भगर्नर कार्यालल र डेपुटी गभर्नरहरुको कार्यालयको भने ‘इन्टेरियर फर्निसिङ र फिनिसिङ’ का कुनै पनि काम भएको छैन ।

अब भने पुरानै बिल्डिङबाट राष्ट्र बैंक चलाउनुपर्ने छैन । केन्द्रीय बैंकले बुधबार ‘इन्टेरियर फर्निसिङ र फिनिसिङ’ को लागि खरिद प्रक्रिया सुरु गरेको छ । नयाँ भवनको सम्पूर्ण ‘इन्टेरियर फर्निसिङ र फिनिसिङ’को लागि राष्ट्र बैंकले बुधबार खरिद प्रस्ताव आह्वान गरेको हो ।

बालुवाटारस्थित नयाँ भवनको आन्तरिक सजावटका लागि बुधबार बोलपत्र आह्वान गर्दै १९ माघसम्म बोलपत्र प्रस्ताव पेश गर्न सूचना निकालेको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले बुधबार (२०८२ पुस १६ गते) एक सूचना जारी गर्दै योग्य नेपाली बोलपत्रदाताहरूबाट आवेदन माग गरेको हो । राष्ट्र बैंकका अनुसार यो कार्य राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत ‘एक चरण दुई खाम’ विधिबाट सम्पन्न गरिनेछ ।

बोलपत्रमा सहभागी हुन निर्माण व्यवसायीको पछिल्लो १० वर्षमध्ये उत्कृष्ट ३ वर्षको औसत वार्षिक निर्माण कारोबार न्यूनतम २७ करोड १० लाख रुपैयाँ हुनुपर्नेछ । साथै, पछिल्लो १० वर्षभित्र कम्तीमा एउटा समान प्रकृतिको कार्य न्यूनतम १० करोड ८३ लाख रुपैयाँ बराबरको सम्पन्न गरेको हुनुपर्ने सर्त केन्द्रीय बैंकले बोलपत्रमा राखेको छ ।

उक्त बोलपत्रको लागि प्रिबिड मिटिङ २०८२ माघ ९ गते बिहान ११ः३० बजे राष्ट्र बैंकको बालुवाटारस्थित सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा हुनेछ । यस्तै बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२ माघ १९ गते दिउँसो १२ः०० बजेसम्म रहेको छ ।
सोही दिन दिउँसो १ बजेट बोलपत्र खोलिने राष्ट्र बैंकको सूचनामा उलेख छ ।

इच्छुक बोलपत्रदाताले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटबाट बोलपत्र डाउनलोड गरी विद्युतीय माध्यमबाट पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । बोलपत्र दस्तुर वापत १०,००० रुपैयाँ नेपाल राष्ट्र बैंकको खाता नम्बर ११०००००–०३०–०१२–५२४ मा जम्मा गर्नुपर्नेछ ।

बोलपत्र जमानत वापत कम्तीमा ४० लाख रुपैयाँ राख्नुपर्ने छ । जसको अवधि बोलपत्र खोलेको मितिबाट १२० दिन अर्थात् २०८३ असार १९ सम्म मान्य हुनेछ। केन्द्रीय बैंकले कुनै पनि कारण वा बिना कारण बोलपत्र स्वीकृत गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार आफूमा सुरक्षित राखेको जनाएको छ ।

Skip This