
एजेन्सी । सामाजिक सञ्जालमा हेर्नुभयो भने तपाईंले साउना र चिसो पानीमा डुब्नु चमत्कारिक उपचार नै हो भन्ने आशयका पोस्टहरू बग्रेल्ती भेटिन्छन् ।
यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, बोसो पगाल्छ र जोर्नी दुखाइदेखि बिग्रेको मुड सपार्नेसम्म सबै कुरा ठीक गर्छ भनी लेखिएको पाइन्छ ।
तर, वास्तविकता अलि फरक र जटिल रहेको विज्ञहरू बताउँछन् ।
युनिभर्सिटी अफ पोर्ट्समाउथकी एक्सट्रिम इन्भायरोन्मेन्ट एन्ड फिजियोलोजीकी सहप्राध्यापक डा हेदर म्यासी भन्छिन्, ‘तातो र चिसोको सम्पर्कमा आउनु धेरै राम्रो हो भनेर दाबी गर्ने मानिसहरू धेरै छन् । तर, यो पूर्ण रूपमा तपाईंका लागि फाइदाजनक छ भनेर भन्नका लागि हामीसँग अझै पर्याप्त प्रमाण छैन ।’
हाम्रो शरीरसँग भित्री तापक्रम स्थिर राख्ने अद्भुत क्षमता रहेको उनी व्याख्या गर्छिन् । त्यो सामान्यतया ३६.५ देखि ३७ डिग्री सेल्सियसको बीचमा हुन्छ ।
दैनिक जीवनमा हामीमध्ये धेरैले हिटर वा एयर–कन्डिसन गरिएका ठाउँहरूमा लामो समय बिताउने हुनाले यो प्रणालीलाई विरलै चुनौती दिने गरेका छौं ।
शरीरलाई धेरै तताउनु वा चिस्याउनुले सानो तनाव उत्पन्न गर्छ जसले अनुकूलन वा सुरक्षात्मक प्रतिक्रियाहरू उत्पन्न गराउन सक्छ, उनी भन्छिन् ।
यही अवधारणाले साउनाको आकर्षणलाई बढाएको छ जुन आजकल जिम र स्पामा विरलै खाली भेटिन्छन् ।
कसैका लागि यो व्यायामपछिको इनाम हो भने अरूका लागि यो मुख्य आकर्षण हो र धेरै नियमित जानेहरू यसले फाइदा गर्नेमा विश्वस्त छन् । १५ मिनेटको तीव्र तापले उनीहरूको शरीर र दिमागमा ठूलो परिवर्तन ल्याउँछ भन्ने कुरामा उनीहरू ढुक्क छन् ।
र यसले राम्रो महसुस गराउँछ भन्ने कुरामा कुनै शंका छैन ।
‘तपाईं साउनामा बसेर पसिना बगाउनुहुन्छ भने तपाईंले आफ्नो शरीर अलि खुकुलो, स्वतन्त्र र अलि बढी चलायमान भएको महसुस गर्न सक्नुहुन्छ । तपाईंका दुखाइहरू अलि कम हुन सक्छन्,’ डा म्यासीले बीबीसीको व्हाट्स अप डक्स पोडकास्टमा भनिन्, ‘त्यसैले साउना प्रयोग गर्नुका निश्चित रूपमा केही फाइदाहरू छन् तर यो दीर्घकालीन स्वास्थ्य लाभ हो वा मनोवैज्ञानिक लाभ मात्र हो भन्ने प्रश्न छ ।’
हालैको एउटा अध्ययनले मानिसहरूलाई पटक–पटक तातो टबमा राखेको थियो र त्यसको नतिजाले इन्सुलिन र रक्तचापमा परिवर्तन आएको देखाएको डा. म्यासीले व्याख्या गरिन् ।
‘हामी शरीरलाई तताउनाले दीर्घकालीन रोगहरूसँग बाँचिरहेका मानिसलाई मद्दत पुर्याउन सक्छ कि सक्दैन भन्ने कुराको अन्वेषण गर्न थालेका छौं,’ उनले थपिन् ।
तैपनि, बलियो वैज्ञानिक प्रमाणहरू अझै सीमित संख्यामा भएकाले स्वास्थ्यसम्बन्धी ठूला दाबीहरू गर्दा सावधानी अपनाउन उनी आग्रह गर्छिन् ।
‘हामीले कहिल्यै पनि साउनाको उचित परीक्षण गरेका छैनौं,’ उनी भन्छिन्, ‘हामीले भविष्यमा यसका फाइदाहरू फेला पार्नेछौं तर हामी अझै त्यहाँ पुगेका छैनौं जस्तो मलाई लाग्छ ।’
अहिलेका लागि, यसले तपाईंलाई कस्तो महसुस गराउँछ त्यसैका लागि यस प्रक्रियाको आनन्द लिनु उचित हो । तर, यसलाई राम्रो स्वास्थ्यको लागि ग्यारेन्टी गरिएको छोटो बाटो भने नठान्नुहोस् ।
तपाईं साउना वा तातो टबहरू प्रयास गर्नुहुन्छ भने सावधानी अपनाउन, बिस्तारै बानी बसाल्न र तपाईंलाई कुनै स्वास्थ्य समस्या छ वा गर्भवती हुनुहुन्छ भने पहिले आफ्नो डाक्टरसँग सल्लाह लिन डा म्यासी सुझाव दिन्छिन् ।
केही मानिसहरू कुरालाई उल्टो दिशामा लैजान चाहन्छन् ।
चिसो पानीमा पौडी खेल्ने समूहहरूको लोकप्रियता बढ्दै गएको छ । बिहान सबेरै समुद्र तट, ताल र नदीहरूमा पौडी खेलिरहेका दृश्यहरू अब सामान्य भइसकेका छन् ।
इंग्लिश च्यानल पौडिएर पार गरेकी र विश्व आइस–स्विमिङ च्याम्पियनशिपमा प्रतिस्पर्धा गरेकी डा म्यासी हप्तामा एकपटक चिसो पानीमा पौडी खेल्न जान्छिन् तर पानीमा केही मिनेट मात्र बिताउँछिन् ।
उनलाई सुरुमा यो पीडादायी लाग्छ तर त्यो सुरुवाती झट्का नै मानिसहरूले खोजिरहेका हुन्छन् ।
‘तपाईं पहिलोपटक पानीमा डुब्दा तपाईंको श्वासप्रश्वास अनियन्त्रित र तीव्र हुन्छ,’ उनी व्याख्या गर्छिन् । मुटुको धड्कन र रक्तचाप बढ्छ र कोर्टिसोल र एड्रेनालिन जस्ता तनाव उत्पन्न गराउने हर्मोनहरू बढ्छन् ।
‘त्यो प्रतिक्रिया लगभग ३० सेकेन्डमा चरम बिन्दुमा पुग्छ र त्यसपछि धेरै छिटो घट्छ,’ उनी थप्छिन् ।
बारम्बारको सम्पर्कले झट्का लाग्ने प्रतिक्रियालाई कम गर्छ र धेरैपटकको छोटो पौडीपछि यसलाई लगभग ५० प्रतिशतले घटाउन सकिन्छ ।
साउनाको हकमा जस्तै यसको फाइदा तापक्रमबाट मात्र आएको हो कि यससँग जोडिएका अन्य कुराहरूबाट भन्ने ठूलो प्रश्न हो ।
चिसो पानीमा पौडी खेल्ने काम सामान्यतया बाहिर र अरूसँगै मिलेर गरिन्छ । ‘यो विविध संयन्त्रहरू भएको एउटा गतिविधि हो । प्रकृति, चाल र सामाजिक सम्बन्ध सबै एकअर्कासँग जोडिएका छन्,’ डा म्यासी भन्छिन् ।
ती कारकहरूलाई अलग गर्न गाह्रो रहेकोमा पोडकास्ट होस्ट डा. क्रिस भ्यान टुल्लेकेन सहमत छन् । ‘फाइदा चिसो पानीको कारणले हो वा रमाइलो मानिसहरूको समूहसँग हुनु र सँगै केही चुनौतीपूर्ण काम गर्नुको कारणले हो भन्ने हामीलाई थाहा छैन,’ उनी थप्छिन् ।
डा म्यासीका लागि भने सुरुवाती बिन्दु तापक्रम हुँदै होइन, बरु आनन्द हो ।
उनी भन्छिन्, ‘म हरेक हप्ता पार्कमा दौडिने मानिसहरूसँग कुरा गर्छु र उनीहरूले चिसो पानीमा पौडी खेल्ने मानिसहरूले पाउने जस्तै उत्साह र जोशको वर्णन गर्छन् । महत्त्वपूर्ण कुरा भनेको तपाईंलाई मन पर्ने, नियमित रूपमा गर्न सक्ने र आदर्श रूपमा अरूसँग साझा गर्न सक्ने केही कुरा खोज्नु हो किनकि कुनै गतिविधिलाई लिएर मित्रताको समूह बनाउनाले मनोवैज्ञानिक तनाव कम गर्न सक्छ ।’
त्यो बगैंचाको काम, चराचुरुंगी हेर्ने, गायन समूहमा सामेल हुने वा साथीहरूसँग हिँड्ने जस्ता कुनै पनि कुरा हुन सक्छ ।
त्यसैले साउना र चिसो पौडी राम्रो स्वास्थ्यको लागि अनिवार्य नभए पनि त्यसले केही सकारात्मक कुराहरू प्रदान गर्न सक्ने डा म्यासी बताउँछिन् ।










प्रतिक्रिया