एक्जिएटाले बंगलादेशको रोबीको आईपीओ जारी गर्दै, एनसेलको कहिले ?



एक्जियटाको लगानी रहेको बंगलादेशको दोस्रो ठूलो मोबाइल अपरेटर कम्पनी रोबीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको पुँजी सवा ५ अर्ब टाँकाको पुर्याउनका लागि आईपीओमा जाने भएको हो ।

मलेसियन कम्पनी एक्जियटाले शुक्रबार मलेसियाको स्टक एक्सचेञ्जमा दिएको जानकारी गराएको हो । जसमा ५ अर्ब २३ करोड ८० लाख टाँका(७ अर्ब नेपाली रुपैयाँ) मूल्य बराबरको आईपीओ ल्याउने जानकारी दिइएको हो ।

एक्जियटाको नेपालमा पनि एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम प्रदायक कम्पनी एनसेलको आईपीओ कहिले आउँछ त ? यो प्रश्न अझै अनुत्तरित छ । कम्पनी ऐनमा टेलिकम कम्पनीहरु आईपीओमा जाने व्यवस्था भए पनि नेपाल टेलिकम बाहेक अन्य कम्पनीको आइपीओ आएको छैन ।

रोबीलाई बंगलादेश बजार विस्तार गरी सबैभन्दा ठूलो कम्पनी बनाउने लक्ष्यसहित आईपीओ जारी गर्न लागिएको हो । यसले बंगलादेशमा विदेशी लगानी ल्याउन समेत सहयोगी हुने अपेक्षा गरिएको छ । कम्पनीले आईडीएलसी इनभेस्टमेन्ट लिमिटेड कम्पनीलाई आईपीओका लागि म्यानेजर समेत नियुक्त गरिसकेको छ ।

कम्पनीले सन् २०२० को चौथो क्वाटरसम्ममा आईपीओ ल्याउने तयारी गरेको छ ।

रोबीमा एक्जियटाको ६८.७ प्रतिशत सेयर छ भने भारतको एयरटेलको २५ प्रतिशत र जापानको एनटीटी डोकोमोको ६.३ प्रतिशत सेयर समेत छ ।


क्लिकमान्डु