अमेरिकी सांसदलाई अर्थमन्त्रीले भने-एमसिसि संसदबाट अनुमोदन हुन्छ



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिगं र अमी बेराले भेटवार्ता गरेका छन् । भेटका क्रममा अर्थमन्त्री खतिवडाले एमसिसि अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गरे । ‘सो सहायता सम्झौता संसदबाट अनुमोदन हुनेछ’ उनले भने ।

भेटमा मन्त्री खतिवडाले अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोग प्रति खुसी व्यक्त गरे ।

भेटमा मन्त्रीले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराए । उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने बताए । विश्वका धेरै जनसंख्या भएका मुलुकहरु छिमेकी देश भएकोले विश्व बजारको केन्द्रविन्दुमा नेपाल भएको बताए ।

माननीय अर्थमन्त्रीले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भैरहेको बताए ।

अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्रीसँग नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा बताए ।


क्लिकमान्डु