बीमा कम्पनीलाई गाडी किन्न कडाइ गरेको बीमा समितिले एकैपटक ६ वटा गाडी किन्यो



काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले एकैपटक ६ वटा गाडी किनेको छ । बीमा कम्पनीहरुलाई गाडी किन्न कडाइ गरेको समिति आफूले भने एकैपटक ६ वटा गाडी किनेको हो । समितिले टाटा कम्पनीको टियागो, महिन्द्रा कम्पनीको स्काप्रियो र हुन्डाइ कम्पनीकोसहित ६ वटा नयाँ गाडी किनेको हो ।

बीमा कम्पनीहरुले गाडी दिएर कर्मचारी तान्ने काम गरेको भन्दै गत वर्ष समितिको स्वीकृति लिएर मात्रै आवश्यकता र औचित्यका आधारमा गाडी किन्न निर्देशन दिएको थियो ।

त्यो बेला समितिले एउटै कम्पनीलाई १०/१५ वटा गाडी किन चाहियो ? भन्ने प्रश्न समेत गरेको थियो । समितिले बीमा कम्पनीसँग के कति गाडी छन्, क-कसले गाडी चढ्छन्, ऋणमा हो कि कम्पनीले दिएको हो ? भनेर बीमा कम्पनीसँग विवरण समेत मागेको थियो ।

बीमा कम्पनीका सीइओलाई करोडका गाडी, कुन सीइओ कति पर्ने गाडी चढ्छन् ? (विवरणसहित)

यतिबेला बीमा समितिमा कार्यालयले उपलब्ध गराएको गाडी चढ्ने मान्छे भने ६ जनामात्रै छन् । अध्यक्ष, कार्यकारी निर्देशक र ४ जना निर्देशकलाई समितिले गाडी उपलब्ध गराउँदै आएको छ ।

यसअघि नै समितिसँग ५ वटा गाडी थिए । नयाँ ६ वटा किनेपछि ११ वटा पुगेका छन् । सामान्यतया सञ्चालकलाई गाडी दिने चलन छैन । तर, सञ्चालकलाई समितिको कुनै काममा जानुपरे मात्रै गाडी उपलब्ध गराइन्छ । तर, बीमा समितिले भने विज्ञ सञ्चालकका रुपमा रहेका कपिलदेव ओलीलाई फोक्सवागनको पोलो गाडी दिएको छ ।

ओलीलाई नियमबिपरित गाडी सुविधा उपलब्ध गराएको भन्दै समितिका कर्मचारीहरु नेतृत्वसँग रुष्ट छन् ।

समितिले गाडी किन्दा टेन्डर आवहान गरेर किन्नु पर्ने व्यवस्था रहेको छ । समितिले सबै प्रकृया अघि बढाए पनि गाडी भने एकै कम्पनीको किनेको छ । समितिले किनेको गाडिमध्ये महेन्द्रा कम्पनीको स्कार्पिओ गाडी उपत्यका बाहिर जाँदा प्रयोग गरिने छ ।

समितिका अनुसार अहिले भएका गाडी पुरानो भएकोले ३ वटा गाडी लिलामीमा जाने बताइएको छ ।

समितिले ४ वटा गाडीमध्ये प्रतिगाडी झण्डै २५ लाखको दरले १ करोड हाराहारी, एउटा ३३ लाख हाराहारीको रहेको छ भने स्कार्पियो ७० लाख हाराहारीको रहेको छ ।
पुराना गाडी मर्मत गर्दा हैरान भएको भन्दै ती गाडी लिलामी गर्ने तयारीमा रहेको जनाएको छ ।

बीमा समिति ४० वटा बीमा कम्पनीहरुको नियामक निकाय हो । बीमा समितिले २० वटा निर्जीबन बीमा कम्पनी, १९ वटा जीवन बीम कम्पनी र १ पुर्नबीमा कम्पनीसहित ४० वटा कम्पनीलाई नियमन गर्ने गरेको छ ।

समितिको निर्देशनले नै बीमा कम्पनीबाट हुने जाने र वा नजानेर गरेको कमजोरीलाई रोक्ने गर्दछ । बीमा समितिले बीमा कम्पनीहरुलाई नियमनमात्रै गर्दैन उनीहरुको आन्तरिक कृया कलापलाई पनि नियमन, नियन्त्रण गर्ने गर्दछ ।


पुष्प दुलाल