आइएमएफले भन्यो- यो वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ ।

लाउरा जस्माइलोको नेतृत्वमा ५ सदस्यीय टोली नेपालको अर्थतन्त्रको अवस्थाका बारेमा अध्ययन गर्न आएको आइएमएफको आर्टिकल मिशन फोरले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

आइएमएफले यसअघि ६.३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

राजनीतिक स्थायित्व, विद्युतको सहज आपूर्ति र भूकम्पपछिको पुनर्निर्माणमा काम भइरहेको भएपनि सरकारले विकास खर्च गर्न नसकेको लगायतका कारणले प्रक्षेपण गरेअनुसार अर्थिक वृद्धि नहुने मिशनको निश्कर्ष छ ।

टोलीले पुस २० गते अर्थमन्त्री खतिवडा र गभर्नर नेपालसँग छुट्टाछुट्टै भेट गरेको छ । त्यसैथरी, निजी क्षेत्र र अन्य सरोकारवाला निकायसँग छलफल गरी टोलीले प्रक्षेपण गरेअनुसार अर्थिक वृद्धि नहुने निश्कर्ष निकालेको हो ।

सरकारले भने साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । यद्ययि यो लक्ष्य संशोधन गर्ने सरकारको तयारी छ ।

तर, अर्थमन्त्री खतिवडाले भने आइएमएफले भनेको भन्दा बढी आर्थिक वृद्धिदर हुने बताएका छन् । मिशन फोरको टोलीसँगको ओपनिक छलफलमा खचिवडाले भनेका थिए, ‘तपाईंहरुले पोहोर साल पनि निकै कम मात्रै आर्थिक वृद्धिदर हुन्छ भन्ने प्रक्षेपण गर्नुभयो, हामीले तपाईंहरुको प्रक्षेपणभन्दा धेरै गर्यौं, यो वर्ष पनि तपाईंहरुको प्रक्षेपणभन्दा धेरै निकै धेरै आर्थिक वृद्धिदर हुन्छ ।’

प्रत्येक वर्ष आइएमफको टोलीले स्थलगत अध्ययन गरी आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । टोलीले तयार पारेको रिपोर्ट आइएमएफको सञ्चालक समितिले पारित गरेपछि मात्रै सार्वजनिक हुन्छ ।

रिपोर्टमा समस्या र कमी कमजोरीहरु औँल्याउँदै सुधारका लागि सुझाब पनि दिइएको हुन्छ । र, ती सुझाब कार्यान्वयन गर्न दबाब पनि दिने गर्छ ।


पुष्प दुलाल