
सल्यान । सेवाग्राहीका लागि विद्युत मिटर लिन पुगेका एक वडाअध्यक्षले रातभर धर्ना बसेपछि मात्र मिटर उपलब्ध गराइएको घटना सार्वजनिक भएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि नेपाल विद्युत प्राधिकरणको सल्यान वितरण केन्द्र पुगेका थिए । आवश्यक प्रक्रिया पूरा गरे पनि कर्मचारीले तत्काल मिटर उपलब्ध गराउन नसकिने बताएपछि उनले विरोधस्वरुप कार्यालय परिसरमै धर्ना बस्ने निर्णय गरेका थिए ।
साँझ करिब ५ बजेदेखि सुरु भएको उनको धर्ना राति अबेरसम्म जारी रह्यो। अन्ततः करिब साढे १० बजेतिर वितरण केन्द्रले मिटर उपलब्ध गराएपछि उनले धर्ना अन्त्य गरेका थिए ।
ग्रामीण भेगबाट सदरमुकामसम्म पुग्न लाग्ने समय, खर्च र कठिनाइका कारण ‘आज होइन, भोलि’ भन्ने जवाफ स्वीकार्य नभएको वडाअध्यक्ष खड्काको भनाइ छ । उनले सेवाग्राहीलाई तत्काल सेवा दिलाउन आफू बाध्य भएर यस्तो कदम चाल्नुपरेको बताएका छन्।
यस घटनाले सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र बेवास्तालाई उजागर गरेको छ। जनप्रतिनिधि नै धर्ना बस्नुपर्ने अवस्था आउनुले सर्वसाधारण नागरिकले भोग्नुपर्ने सास्तीको अवस्थालाई थप प्रष्ट बनाएको सरोकारवालाहरूको भनाइ छ।

यसैबीच सल्यानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश मल्लले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत सेवा प्रवाहमा प्रक्रियाको नाममा भइरहेको ढिलासुस्ती र बेवास्ताले गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन् ।
सांसद मल्लले जनप्रतिनिधिसँग यस्तो व्यवहार हुने हो भने सर्वसाधारण नागरिकको अवस्था झन् कस्तो होला भन्ने प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।








प्रतिक्रिया