सेयर बजार बढेन भनेर अर्थमन्त्री र बालुवाटारलाई गाली गर्नु पर्दैन: अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले दीर्घकालिन लगानी गर्दा सेयर बजारबाट फाइदा हुने भन्दै बालुवाटारलाई गाली गर्नु नपर्ने बताएका छन् ।

अर्थमन्त्री रुपमा खतिवडा आएपछि सेयर बजार घटेको छ । बजारमा सक्रिय रहेका लगानीकर्ताले सेयर बजार परिसूचक नबढ्नुको कारण अर्थमन्त्री खतिवडा समेत भएको बताउने गरेका छन् । सेयर बजार बढाउनको लागि लगानीकर्ताका संघ संस्थाहरु प्रधानमन्त्री निवास बालुवटार समेत पुगेको विषयमा घुमाएर असन्तुष्टी जनाउँदै अर्थमन्त्री खतिवडाले राम्रो कम्पनी छानेर दीर्घकालिन रुपमा लगानी गर्दा सेयर बजारबाट दालभात खान पुग्ने आम्दानी हुने बताए ।

नेपाल स्टक एक्सचेन्जको २७ औं वार्षिकउत्सवमा अर्थमन्त्री खतिवडाले सेयर बजारमा पछिल्लो समय संरचनात्मक परिवर्तन भएको बताए ।

‘पहिला महिनौंसम्म सेयर बाँडफाँड नहुँने अवस्था थियो,सेयरको भरेको कागज घरमा मुसाले काट्ने अवस्थाबाट अहिले सेयर भर्न लाइन बस्नु पर्दैन,बाँडफाँड समेत छिटो हुन्छ,’अर्थमन्त्री खतिवडाले भने । अर्थमन्त्री खतिवडाले दोहोरो करको विषय आगामी बजेटदेखि सम्बोधन हुने बताए ।

उनले नेप्से युवानै भएको भन्दै यसको बिकल्प अहिले नखोजिने बताए । सेयर लगानीकर्ता तथा कतिपय अवस्थामा नियामक निकायले पनि अर्को स्टक एक्सचेन्ज माग गरेको विषयमा खतिवडाले नयाँ स्टक एक्सचेन्ज नआउने आस्वस्त पारेका छन् ।

राष्ट्र बैंकले आफ्नो सेयर स्वामित्व घटाएर १० प्रतिशतमा झार्ने समेत उनले बताए ।

उनले लगानीकर्तालाई कारोबार गर्दा होस नगुमाउन आगूह गर्दै लगानीकर्तालाई साक्षर बनाउने काम धितोपत्र बोर्ड,नेप्से तथा ब्रोकरको भएको बताए । ऋणपत्र जारी गर्ने बैंकलाई धन्यवाद दिदै अर्थमन्त्री खतिवडाले यसले दीर्घकालिन प्रभाव पार्ने बताए ।

‘सेयर बजार भनेको अर्थतन्त्रको मापक सूचक हो,हामीले १०३ भन्दा माथि गएर पानी पट्टी लगाउन पनि चाहेका छैनौ, ९८ भन्दा तल आएर तापक्रम बढाउन समेत चाहेका छैनौ,बजार आफ्नो स्वभाभिक गतिमा चल्नु्पर्नेमा विश्वास गर्छौ,’उनले भने ।

उनले नेप्सेलाई अहिलेको कारोबार बढाउन समेत सुझाव दिए ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले ऋणपत्र कारोबार सुरु भएको र सरकारी ऋणपत्रको कारोबार सूचिकृत गर्न समेत आग्रह गरे । १ खर्ब ६ अर्ब रुपैयाँको अनलाइन कारोबार भएको भन्दै नेप्सेले लगानीकर्ता सचेतना कार्यक्रम बढाउने प्रतिबद्धता व्यक्त गरे ।

सेयर ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले नीतिगत सुधार आवश्य रहेको भन्दै अनलाइन मार्फत सेयर बजारको कर तिर्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले आफुहरु अन्तराष्ट्रिय स्तरको ब्रोकर बन्न तयार रहेको बताए ।


क्लिकमान्डु