इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेलाई सेयरधनीको प्रश्नः तपाईंको तलब किन नघटाउने ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति पाण्डेको तलब/भत्ता घटाउन माग गरेका छन् ।

बैंकको नाफा घटाउने र सेयरधनीको लाभांश घटाउने तर सीइओको तलब/भत्ता बढाउने भन्दै सेयरधनीले आक्रोश व्यक्त गरे ।

सोमबार बैंकको ३३औं साधारणसभामा बोल्दै सेयरधी चन्द्रमान सिंह बानियाँले ३३ वर्ष पुरानो बैंक भएपनि नयाँ बैंकभन्दा पनि कमजोर देखिएको तर्क गरे । अघिल्ला वर्षमा ४० प्रतिशत लाभांश दिएको बैंक १९ प्रतिशतमा झर्नु भनेको नयाँ बैंकभन्दा पनि कमजोर रहेको उनले बताए ।

‘लगानीकर्ताको लाभांश घटाउने बैंकको सीइओको तलब पनि आधा नै घटाउनु पर्छ, लाभांश र तलब उस्तै हुनुपरयो नि,’ बानियाँले भने ।

लगानीकर्तालाई दिने लाभांश ५० प्रतिशत भन्दा बढी घट्दा लगानीकर्ताको मनोबल निकै कमजोर बन्दै गएको उनको भनाइ थियो ।

बैंकका सीइओमा सबैभन्दा बढी तलब नेपाल इन्भेष्टमेन्टका ज्योति पाण्डेको, वर्षकै ३ करोड

गत आर्थिक वर्षमासीइओ पाण्डेका लागि बैंकले तलबभत्ता तथा सेवा सुविधा गरी ३ करोड ६ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ । एक वर्षको अवधिमा पाण्डेको तलबभत्ता ४१ लाख रुपैयाँले बढेको थियो । ज्योति पाण्डे बैंकिङ क्षेत्रकै महंगो सीइओ हुन् ।

तर, बैंकले सेयरधनीलाई भने भने १० वर्षयताकै कम लाभांश दिएको छ । पाण्डेले दिएको झन्डै ४ अर्ब रुपैयाँ ऋण डुबेपछि बैंकको अवस्था धारासायी बनेको हो ।

सेयरधनी सत्रुधन श्रेष्ठले लगानीकर्तालाई कम प्रतिफल दिँदै सीइओ पाण्डेले लगानीकर्ताको पैसामा मोजमस्ती गरेको बताए ।

अर्का लगानीकर्ता कुवेर श्रेष्ठले कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको तर बैंकका सीइओ, कर्मचारी मालामल बढी रहेको बताए । उनले बैंकमा दिनानुदिन खर्च बढी रहेको र खर्च बढ्नुलाई बैंकको शाखा बढाउँदा खर्च भयो भनेर टार्न नमिल्ने तर्क गरे ।

स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट बैंकका सीइओको निर्देशन- एग्रेसिभ हुनुहोस्

उनले बैंकका सीइओलाई लगानीकर्ताको हितमा काम गर्न थोरै तलब खान आग्रह गरे । ३३ वर्षमा पुगेको बैंकले १९ प्रतिशतमा मात्रै टारेको भन्दै आगामी वर्ष ४० प्रतिशत पुर्याउन आग्रह गरे ।

अर्का लगानीकर्ता नरसिंह लालले बैंकले सेयरधनीको प्रतिफल बढाउनेतर्फ ध्यान दिन आग्रह गरे । उनले बैंकले कृषि र जलविद्युत क्षेत्रमा लगानी गर्दा विषेश ध्यान दिन समेत आग्रह गरे । उनले आगामी दिनमा बैंकको साधारणसभामा दशैंको हाराहारीमा हुनुपर्ने बताए ।

अर्का लगानीकर्ता चन्दन नारायण श्रेष्ठले ३३ वर्षको बैंकले ३३ प्रतिशत लाभांश देला कि भन्ने लागे पनि सबैलगानीकर्तालाई निरास बनाएको धारणा राखे ।


पुष्प दुलाल