घर जग्गामा लगानी गर्न संचय कोषले १ अर्बको कम्पनी खोल्यो, सस्तोमा घर र जग्गा बेच्ने



काठमाडौं । कर्मचारी संचय कोषले घरजग्गा बिक्री वितरण गर्ने भएको छ । त्यसका लागि कोषले कम्पनी नै खोलेको छ ।

यही पुस ७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा संचयकोष घरजग्गा व्यवस्थापन कम्पनीको नाममा कम्पनी दर्ता भएको छ ।

कोष ऐनमा घरजग्गाको काम गर्न सक्ने व्यवस्था भए अनुसार कम्पनी खोलेको कोषले जनाएको छ ।

संचय कोषको शतप्रतिशत लगानी रहेको कम्पनीको अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ ।

कम्पनी मार्फत संचय कोषले जग्गा खरिद गरेर प्लटिङ तथा घरजग्गा निर्माण गरेर बेच्ने योजना रहेको कोषका भवन विभाग प्रमुख भरतराज वस्तीले बताए ।

‘प्रारम्भिक चरणमा संचय कोषका व्यवसायिक भवनको व्यवस्थापनको काम कम्पनीले गर्ने छ, त्यसपछि जग्गा प्लटिङ र घर निर्माण गरेर संचयकर्तालाई हामीले बिक्री गर्ने योजना छ,’ वस्तीले क्लिकमाण्डूसँग भने ।

संचय कोषले २०५४ सालमा पोखरामा ११२ वटा घर निर्माण गरेर बिक्री गरेको थियो । त्यो बेलाको व्यवस्थित घर निर्माण गरेको २२ वर्षपछि संस्थागत रुपमा घरजग्गाको काम गर्न संचयक कोषले कम्पनी खोलेको हो ।

पोखराको व्यक्तिगत घरनिर्माणपछि भने कोषले व्यवसायिक प्रयोजनका लागि मात्र घर निर्माण गर्यो । व्यक्तिगततर्फको घर निर्माणमा कुनै चासो नै दिएन ।

‘घरजग्गामा लगानी गर्ने प्रावधान भएपछि हामीले ठूलो लगानी यो क्षेत्रमा गर्न सकेनौं, संस्थागतरुपमा नै सो क्षेत्रमा लगानी गर्नको लागि कम्पनी खोलिएको हो,’ वस्तीले भने ।

संचय कोष ऐन अन्तर्गत १९ वटा क्षेत्रमा लगानी गर्ने प्रावधान राखिएको छ । जसमा घरजग्गा पनि पर्छ ।

अहिले संचय कोषले निर्माण गरेको भवनहरुको व्यवस्थापन भवन व्यवस्थापन विभागले गरेको छ । विभागमा आउने कर्मचारी सरुवा हुने जसले गर्दा भवन व्यवस्थापनमा समस्या भएपछि स्थायी रुपमा काम गर्नको लागि कोषले कम्पनी खोलेको जनाएको छ ।

‘संचय कोषमा जागिर खाएको २२ वर्षमा मा आफु भवन विभागमा आए, अहिले २५ जना कर्मचारी छन्, भवनहरुलाई थप व्यवसायिक ढंगले संचालन गर्न र घरजग्गामा लगानी गर्नको लागि कम्पनीको आवश्यक्ता देखियो,’ वस्तीले थपे ।

संचय कोषले व्यवस्थित ढंगले घरजग्गामा लगानी गर्न बजारमा घरजग्गाको अनियन्त्रित मूल्यलाई केही भएपनि नियन्त्रणमा लिन सकिने विश्वास कोषको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएपछि कम्पनीको ३ सदस्य सदस्य संचालक समिति गठन भएको छ । जसको अध्यक्षमा कोषका प्रमुख प्रशासक तुलसी गौतम छन् ।

तत्कालको लागि भवन विभागलाई सम्पर्क कार्यालय तोकिएको छ भने कम्पनी सीइओको जिम्मा पनि विभागका प्रमुख वस्तीलाई तोकिएको छ ।

कम्पनीको पछि छुट्टै कार्यालय हुने र संचय कोष अन्तर्गत रहेका व्यवसायिक भवनको समेत स्वामित्व हस्तान्तरण कम्पनीमा गर्न सकिने वस्तीले बताए ।

‘संचय कोष संस्थागत रुपमा भवनहरु भाडामा लगाउदा हुने विवादमा पर्न चाहेको छैन, सबै काम कम्पनीबाट गरेपछि कोषले अन्य दीर्घकालिन योजनाहरु सोच्न सक्छ,’ वस्तीले भने ।

कोषले अल्पकालिन नीति अन्गर्तत सम्पत्ति व्यवस्थापनको काम गर्ने छ । जसमा कोष अन्तर्गतका भाडामा बसेका भवनहरुको व्यवस्थापन हुन्छ । त्यसपछि कोषले जग्गा प्लटिङमा हात हाल्ने छ । २ वर्षभित्रमा जग्गा प्लटिङ गरेर बेच्ने योजना कोषले बनाएको छ ।

‘हामीले जग्गा खरिद गरेर अपार्टमेन्ट तथा घरहरु बनाएर संचयकर्तालाई बेच्ने योजना बनाएका छौ, काठमाडौं बाहेक प्रदेश राजधानीमा जग्गा प्लटिङ र घर बनाउने विषय हाम्रो प्राथमिकता हुन्छ,’ वस्तीले कम्पनीको योजना सुनाउँदै भने ।

कोषको नाममा चितवनमा रहेको ४ बिगाहा १६ कट्ठा जग्गालाई हाउजिङ गर्ने विषयमा प्रारम्भिक चरणमा छलफलको क्रममा योजना बनाएको छ । यद्यपी विस्तृत अध्ययन भने भएको छैन ।

कम्पनीले निर्माण तथा प्लटिङ गर्ने घर तथा जग्गामा न्यूनतम नाफा राखेर बिक्री गर्ने छ । पोखरामा कोषले घर निर्माण गर्दा लिन चाहने संचयकर्तालाई चिट्ठा तानेर जसलाई पर्छ उसैलाई बिक्री गरेको थियो । संचयकर्ताले लिन नचाहेपछि मात्र घर तथा जग्गा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिने छ ।

के–के गर्छ कम्पनीले ?

-संचय कोषले कम्पनीमार्फत घरजग्गा खरिद बिक्री/वितरण, मुख्य शहरमा ठूला व्यापारिक कम्प्लेक्स बनाई भाडामा लगाउने ।

-कम्पनी मार्फत हरेक प्रदेशमा जग्गा लिने र प्लटिङ गरी बिक्री/वितरण ।

-प्लटिङ गरेको जग्गा र बनाएका घर बचतकर्तालाई कूल खर्चमा १० प्रतिशत नाफा जोडेर बेच्ने ।

शुरुमा संचय कोषले आफ्नो नाममा रहेको ठमेलमा रहेको १० रोपनी जग्गामा कम्प्लेक्स बनाउने र १९ रोपनी रहेको टेकुको जग्गामा भवन बनाउने तयारी छ । त्यस्तै, थापाथली इटहरी लगायतका क्षेत्रका जग्गामा भवन निर्माण गर्ने बताइएको छ ।


पुष्प दुलाल