राजनसिंह भण्डारी सिटिजन्स बैंकको अध्यक्षमा निर्वाचित



काठमाडौं । बैंकर राजनसिंह भण्डारी सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले भण्डारीलाई सञ्चालकमा निर्वाचित गरेको थियो । नवनिर्वाचित सञ्चालक समितिको ३१४ औं बैठकले भण्डारीलाई शुक्रबार नै अध्यक्ष निर्वाचित गरेको छ ।

बैंकका अध्यक्ष शंकर शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाले पूर्वसीइओ राजनसिंह भण्डारी, व्यवसायी प्रवलजंग पाण्डे, सजन शमा र सीता कार्कीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको थियो ।

सिटिजन्स बैंकमा प्रखर बैंकर राजनसिंह भण्डारीको ‘रि-इन्ट्री’, अब सीइओ होइन अध्यक्ष

सभाले २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, आव. २०७५/७६ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

राजनसिंह भण्डारीः गरिब हुने डरले सीए पढे, डेपुटी गभर्नर नहुँदा बैंकको सीइओ भए

त्यसै गरी साधारणसभाले गत आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशतले हुने रकम बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकका अध्यक्ष शर्माले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउँदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराए ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधिभित्र १ अर्ब ४६ करोड खुद नाफा आर्जन गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु