राजनसिंह भण्डारीः गरिब हुने डरले सीए पढे, डेपुटी गभर्नर नहुँदा बैंकको सीइओ भए



महोत्तरीको जमिन्दार परिवारमा जन्मेमा राजनसिंह भण्डारी स्थापनाकालदेखि कार्यरत रहेको सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिँदैछन् । उनको भूमिका अब बैंकको संचालक समितिको प्रमुख सल्लाहकारको रुपमा हुने छ ।

एक कार्यकाल काम गर्न मिल्ने भएपनि राष्ट्र बैंकको स्पिरिट बुझ्न राजिनामा दिएको भण्डारी बताउँछन् ।

‘मैले स्थापना कालदेखि अहिलेसम्म ३ कार्यकाल सिइओको रुपमा बैंकमा काम गरे, बैंकले एउटा उचाई लियो, त्यसैले सक्रिय भूमिकाबाट बाहिरिने निर्णय गरेको हुँ,’ भण्डारीले क्लिकमाण्डूसँग भने ।

‘आफ्नो जिन्दगी बिताए अब अरुको लागि केही गर्ने हो, कसलाई कति कमाउने इच्छा छ त्यो पुरा गर्ने काम अब मैले गर्ने हो’

जमिन्दार परिवारबाट आएका भण्डारीको परिवारको इच्छा डाक्टर पढाउने थियो । तर, शैसवकालदेखि नै उनलाई डाक्टर बन्न मन परेको थिएन । किनभने डाक्टर बनियो भने गरिब भइन्छ भन्ने कुराले उनको मनमस्तिष्कमा कब्जा जमाएको थियो ।

एसएलसीपछि डाक्टर पढ्नको लागि एकवर्ष उनले विज्ञान विषय लिएर कलेज पनि भर्ना भए । काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्की भण्डारीकी दिदी हुन् ।

‘सधै रुन्चे बिरामीको अनुहार हेर्नुपर्ने भएको हुँदा मलाई डाक्टर बन्ने इच्छा थिएन, नेपालीहरु गरीब छन्, म भाबुक मान्छेले गरीबसँग पैसा लिन सक्दिन, त्यो हुँदा डाक्टर पढेको भए म आफै गरीब हुन्छु भन्ने बुझाई थियो,’ भण्डारीले पुराना दिन स्मरण गरे ।

उनलाई पैसाको हिसाबकिताब गर्ने हुटहुटी थियो । त्यसैले साइन्स छाडेर चाटर्ड एकाउन्टेन्ट बन्ने उदेश्यले कमर्शमा भर्ना भए ।

भण्डारीले बैकिङ क्षेत्रमा करिअर भने राष्ट्र बैंकबाट सुरु गरेका हुन् । सीए पढेकै कारण आफूले राष्ट्र बैंकमा जागिर खान पाएको उनको बुझाइ छ ।

‘२०३५/३६ सालतिर बानेश्वरमा बस्दा एकजना अंकल (केशव बास्कोटा)ले राष्ट्र बैंकमा जागिर खुलेको फर्म भर्न भन्नु भयो, मैले उहाँलाई जवाफ दिए –के म जागिर खाने जस्तो छु,उहाँले राष्ट्र बैंकले सिए पढाउने गर्छ त्यो हुँदा फर्म भर भन्नुभयो,’ भण्डारीले राष्ट्र बैंक प्रवेशको प्रसंग सुनाए ।

‘डेपुटी गभर्नरको नियुक्ती मन्त्रीपरिषद्ले गर्ने हो, म आफु पनि बरिष्ठ थिएँ, नियुक्त हुन्छु जस्तो लागेको थियो, आफुभन्दा जुनियरलाई सिफारिस र नियुक्ती भएपछि राष्ट्र बैंकको जागिर छाडेँ’

राष्ट्र बैंकले आवेदन फर्म पनि बास्कोटा अंकलले ल्याइदिएको र आफुले त्यसमा हस्ताक्षर मात्र गरेसँगै भण्डारीले राष्ट्र बैंकमा सहायक पदमा नाम निकालेको बताउँछन् उनी । त्यो भनेको खरिदार सरहको पद हो । राष्ट्र बैंकले उनलाई सिए पढ्नको लागि भारत पठायो । उनी सिए पनि पास गरे ।

राष्ट्र बैंकमा उनी कार्यकारी निर्देशकसम्म पुगे । राष्ट्र बैंकको शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुख भण्डारी थिए ।

तर, भण्डारीले डेपुटी गभर्नर नबनेपछि राष्ट्र बैंक छाड्ने निर्णय गरे ।

राष्ट्र बैंकले आफुलाई धेरै कुरा दिएको भन्दै भण्डारीले त्यहाँबाट हुने बिशिष्टसम्मको पद पाएको बताउँछन् ।

‘डेपुटी गभर्नरको नियुक्ती मन्त्रीपरिषद्ले गर्ने हो, म आफु पनि बरिष्ठ थिएँ, नियुक्त हुन्छु जस्तो लागेको थियो, आफुभन्दा जुनियरलाई सिफारिस र नियुक्ती भएपछि राष्ट्र बैंकको जागिर छाडेँ,’ उनले भने ।

‘अरुलाई त्यस्तो आरोप लागेको भए डिप्रेशनमा जाने थियो होला, मैले विश्व बैंकको अध्यक्षलाई पत्र लेखे, विश्व बैंकले म संलग्न नभएको चिठी पनि दियो, जसरी आरोप लागेर समाचार आएको थियो त्यसरी नै त्यही स्थानमा खण्डन सहित समाचार नि आयो,’

भण्डारीले अहिलेसम्म मन भाँचिएको अनुभव डेपुटी गभर्नर नबनेपछि गरेको बताउँछन् । जागिर खादा फुर्तिलो बनाएर जानुपर्छ तर, मनै फुर्तिलो बनेन भने राज्यले नपत्याएपछि जागिर छाडे ।

यसरी जन्मियो सिटिजन्स बैंक

भण्डारीलाई लाग्ने गरेको आरोप राष्ट्र बैंकमा नियमन विभागको प्रमुख हुँदा सिटिजन्स बैंकलाई लाइसेन्स दिने काम सकेर राजिनामा गरे भन्ने हो । कतिपयले यसलाई भण्डारीले इथिक्स विपरित काम गरेको समेत बताउने गर्छन् ।

तर, भण्डारी यो सत्य नभएको दाबी गर्छन् ।

‘राष्ट्र बैैंकबाट राजिनामा दिएपछि एमफिल गर्नको लागि काठमाडौं विश्वविद्यालयमा भर्ना भएको थिए, त्यहाँ निजी क्षेत्रका साथीभाई आउनुभयो हामी पैसा लगानी गर्छौै बैंक खोल्छौं) चलाउनुहोस्,’ उनले भने ।

‘१२ वर्षमा हामीले १४४ प्रतिशत लाभांश दिएका छौ, कहिले कम भयो होला तर, मुद्दती निक्षेपको औसत दरभन्दा हामीले दिएको लाभांश बढी छ,’

धेरैले राजनसिंहले जागिर खाने मेसो मिलाएर राष्ट्र बैंक छाड्यो भन्छन् । तर, राष्ट्र बैंक छाडेपछि मात्र सिटिजन्सको यात्रा सुरु भएको हो । उनले लगानीकर्ताले राष्ट्र बैंक छाडेपछि आफ्नो लागी बैंक खोल्देको जस्तो भएको बताउँछन् ।

२०६४ साल बैशाख ७ गते ७७ जना संस्थापकको लगानीबाट सिटिजन्स बैंक सुरु भएको हो । ५६ करोड चुक्ता पुँजीबाट सुरु भएको सिटिजन्स बैंकको अहिले चुक्ता पुँजी ८ अर्ब ७ करोड छ भने सम्पत्ति ८१ अर्बको छ । बैंकको अहिले आफ्नो कर्पोरेट कार्यालय पनि छ ।

‘अरु बैंकमा कुनै व्यवसायिक घरानाको बढी नियन्त्रण होला, सिटिजन्समा छैन, यसमा चारवटा लगानीकर्ताको समुह छ, कोही व्यवसायी छन्, कोही अवकासप्राप्त कर्मचारी,’ भण्डारीले भने ।

बैंकले पछिल्लो तीन आर्थिक वर्षदेखि एक अर्बभन्दा बढी नाफा गरेको छ । तर, यो पटकको लाभांशबाट सेयरधनी सन्तुष्ट छैनन् । भण्डारीले भने बैंकले १२ वर्षमा औसतमा हरेक वर्ष १२ प्रतिशतको दरले लाभांश दिएको बताउँछन् ।

‘१२ वर्षमा हामीले १४४ प्रतिशत लाभांश दिएका छौ, कहिले कम भयो होला तर, मुद्दती निक्षेपको औसत दरभन्दा हामीले दिएको लाभांश बढी छ,’ भण्डारीले भने ।

भण्डारी बोल्नमा हकी बैंकरको रुपमा चिनिन्छन् । १२ वर्षको सिइओबाट अवकास हुन लागेका उनी राष्ट्र बैैंकमा बस्दा र निजी बैंकमा काम गर्दा बोल्ने विषयमा फरक हुने अनुभव सुनाउँछन् ।

‘राष्ट्र बैंकमा जागिर खादा जे मन लाग्छ त्यो बोल्दा हुन्छ तर, निजी बैंकमा जागिर खाएपछि त्यो बोल्न पाइदैन,’ उनले भने –‘अझ नाफा र घाटको व्यापार गर्ने भएपछि बोल्न मिल्दैन ।’

भण्डारीको बुझाईमा वित्तीय क्षेत्रलाई फुटबल म्याच मान्ने हो भने राष्ट्र बैंक भूमिका रेफ्रीको र बैंकरको भूमिका खेलाडीको हुन्छ । र, बैंकरले जसरी पनि गोल हान्नुपर्ने हुन्छ, नहानेमा पछाडि परिन्छ ।

कतिको गोल हान्न सक्नुभयो त ? भन्ने प्रश्नमा भण्डारी भन्छन्, ‘चाहिएको बेला गोल हानेको छु र सन्तुष्ट पनि छु ।’

बैंक तथा वित्तीय संस्थाको संख्या बढी हुनुमा केही गु्ण दोषको भार आफुलाई हुने भन्दै भण्डारी बैंक तथा वित्तीय सबैजसो राम्रोसँग नै चलेको बताउँछन् ।

‘जिन्दगीमा दुःखी नहुने र सधै म सुखी छु तर, आक्रमण गर्नेलाई बाँकी राख्दिन,’ भण्डारीले आफ्नो स्वभाव ओकले ।

भण्डारीलाई वित्तीय क्षेत्र सुधार कार्यक्रमको भष्ट्रचारको आरोप लागेको समाचार प्रमुख दैनिकमा प्रकाशित भयो ।

‘अरुलाई त्यस्तो आरोप लागेको भए डिप्रेशनमा जाने थियो होला, मैले विश्व बैंकको अध्यक्षलाई पत्र लेखे, विश्व बैंकले म संलग्न नभएको चिठी पनि दियो, जसरी आरोप लागेर समाचार आएको थियो त्यसरी नै त्यही स्थानमा खण्डन सहित समाचार नि आयो,’ भण्डारीले भने ।

राष्ट्र बैंक र सिटिजन्स बैंकसहित गर्दा जागिर खाएको ४० वर्ष पुग्यो । अब जागिर इच्छा भण्डारीलाई छैन । उनी अब काम गरेर खाने मान्छेलाई कमाउने बनाउने तर्फ लाग्ने योजना सुनाउँछन् ।

‘आफ्नो जिन्दगी बिताए अब अरुको लागि केही गर्ने हो, कसलाई कति कमाउने इच्छा छ त्यो पुरा गर्ने काम अब मैले गर्ने हो,’ उनले योजना सुनाए ।

राष्ट्र बैंकमा रहँदा निजी बैंकमा आएर सिइओको जागिर खाने सोच थिएन । उनी भाग्यमा के लेखेको त्यो हुने भन्दै भाग्यले लेखेको कुरा आफुले पाउने बताउँछन् ।

कुनैबेला राष्ट्र बैंकको गभर्नरको रुपमा समेत प्रत्यासी रहने भण्डारी अब गभर्नर बन्ने इच्छा भने नरहेको बताए ।

‘गभर्नर बन्ने मेरो इच्छा छैन, बनाउन लाग्ने हो,’ उनले भने ।


पुष्प दुलाल